नेपालीको बाक्लो बस्ती रहेको पर्थमा आयोजित दुई महिना लामो फुटबल लिगका विजेतालाई पुरस्कृत गरिएको छ।
पर्थमा आयोजित स्पोर्टस गाला डिनर कार्यक्रममा प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा विजेता टोलीलाई स्थानीय एनआरएनका पदाधिकारी तथा समाजिक अभियन्ताले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए।
जसमा प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा बिर जंग भए भने उत्कृष्ट रक्षकमा सविन्द्र श्रेष्ठ तथा उत्कृष्ट मिडफील्डर,फरर्वाडमा भागवत भट्टराई भए।
राइजिङ स्टारमा सुदिप खनाल घोषित हुँदा प्रतियोगिताको उच्च गोलकर्तामा सन्तोष मगर र खेलकुद ब्यक्तित्वको ट्रफी सुवास गुरूङ तथा कमल थापाले संयुक्त रुपमा हात पारे।
पर्थमा लामो समयपछि खेलकुदमार्फत जोडिएको नेपाली समाजका अगुवा दावा शेर्पा, आयोजक सुवास श्रेष्ठ, डेल श्रेष्ठ, मनि पनेरू तथा एनआरएनका उपाध्यक्ष कृष्णमान श्रेष्ठ, प्रायोजकका तर्फबाट दिपेन्द्र चौधरी, सृजना चौधरी, दिपक बस्नेत,आसिफ अली, राज थपलीया, भैरव ढकाललगायतले विजेता खेलाडीलाई ट्रफी तथा पमाणपत्र वितरण गरेका थिए।
वेष्टर्न अस्ट्रेलियन नेप्लीज फुटबल एशोसियसनद्धारा आयोजित फुटबल लिगमा दोस्रो संस्करणको विजेता नेप्लीज युनाइटेड फुटबल क्लबलाई ट्रफीको रिप्लीका समेत प्रदान गरिएको थियो।
प्रतियोगिताको विजेतालाई २५ सय डलर तथा उप विजेतालाई १५ सय डलर पुरस्कार प्रदान गरिएको थियो।
प्रवासमा फुटबलको माध्यमबाट नेपाली मनलाई जोड्ने र प्रतिभाहरुको पहिचान गर्ने उद्देस्यका साथ एक वर्ष अगाडिदेखि दुई महिना लामो लिग फुटबलको आरम्भ गरिएको आयोजक वेष्टर्न अस्ट्रेलियन फुटबल लिगका आयोजक सुवास श्रेष्ठले बताए।