कोरोना भाईरसको संक्रमण समुदायस्तरमा देखिन थालेपछि न्यूसाउथवेल्स राज्य (सीड्नी) मा शनिबार मध्यरातदेखि केही नयाँ प्रतिबन्ध लगाइएको छ।
सिड्नी वरपर ब्लु माउन्टेन, ओलगोंग र सेन्ट्रल कोष्टसम्म मास्क अनिवार्य गरिएको छ। यदि मास्क लाउन अटेर गर्ने र नलगाउनेलाई स्थानीय सरकारले २ सय डलरसम्म जरीवाना तिराउने भएको छ।
१२ वर्ष मुनिका बालबालिकालाई मास्क अनिवार्य गरिएको छैन। यस्तै स्वास्थ्य अवस्थाका कारण मास्क लगाउन नमिल्नेले पनि छुट पाउने छन्।
नयाँ प्रतिबन्धको नियम अनुसार जिम हलमा ३० जनासम्मले सहभागिता जनाउन सक्नेछन्। धार्मिक स्थलमा १ सय जनासम्मको उपस्थिति स्वीकार गरिने भएको छ।
न्यूसाउथवेल्सकी प्रिमियर ग्लेडिस बेरेजिक्लिनले ब्यापारीक केन्द्र, सार्वजनिक सवारीका साधन, सिनेमा हल, ईन्डोर हल, रेष्टुरेन्ट, क्याफेलगायतका स्थानमा मास्क अनिवार्य रहने बताएकी छन्।
एक जनालाई चार स्क्वायर मिटरको नियम लगाइएको छ। नाईट क्लब सबै बन्द गराइएको छ। यसैबीच, नर्दन बिचको दक्षिणी क्षेत्रमा लगाइएको फरक खाले व्यवस्था अब हट्ने भएको छ। तर, नर्दन बिच क्षेत्रको उत्तरी भागमा भने यसअघिका कडा प्रतिबन्ध यथावत छन्। त्यहाँका स्थानीयले घर बाहिर निस्किन पाउने छैनन्।
न्यु साउथवेल्स राज्यमा पछिल्लो २४ घन्टामा सात वटा नयाँ संक्रमण फेला परेका छन्। केही दिनदेखि उत्तरी क्षेत्रमा फैलिएको कोरोना संक्रमण समुदायमा फैलिएको आंशकामा राज्यले निकै कडा प्रतिवन्ध लगाएको हो।
न्यूसाउथवेल्स राज्यका बासिन्दा अन्य राज्य जान प्रतिवन्ध छ। अति आवश्यक परेमा दुई हप्ता होटल क्वारेन्टाइन बस्नुपर्ने अनिवार्य शर्तसहित अनुमति दिइने भएको छ।
करिब ६३ हजार नेपाली विद्यार्थी अध्यनरत अस्ट्रेलिया र त्यसमाथि सबैभन्दा बाक्लो बस्ती रहेको सीड्नी क्षेत्रमा यस्ता प्रतिवन्ध अनिवार्य हुनेछन्। पछिल्लो हप्ता कोरोनाको सरकारी प्रतिवन्ध तोडेमा भिसासमेत रद्द गरिने चेतावनी दिइएको थियो।