सीड्नीमा कोरोना संक्रमण बढेसँगै कडा प्रतिवबन्ध लगाइएको छ।
पछिल्लो २४ घण्टामा १७ हजार मानिसमा गरिएको कोरोना परीक्षणमा न्यू साउथ वेल्स (सीड्नी) वरपर १८ जनामा संक्रमण भेटिएको थियो।
नयाँ वर्षको पूर्वसन्ध्यामा बढिरहेको कोरोना संक्रमणका कारण राज्य सरकारले केही कडा प्रतिवन्ध लगाएको छ। जसअनुसार नयाँ वर्षको घरायसी जमघट ५ जनामा सीमित हुने भएको छ। घर बाहिर भेला हुन पाउने मानिसको संख्या ५० बाट घटेर ३० जनामा सिमित पारिएको छ।
नयाँ संक्रमित मध्ये ९ जना पुरानो उत्तरी क्षेत्र एभलोन क्षेत्रका र ६ जना पश्चिमी क्षेत्र एसफील्ड नजिकैको क्रोयडनका हुन्।
क्रिसमसमा केही अस्थायी भिसाधारीले सरकारको प्रतिवन्ध वेवास्ता गर्दै समुन्द्री किनारमा खुलेआम पार्टी गरेपछि सरकारले त्यसको छानबिन गरि कारबाही अगाडि बढाउने भएको छ ।
सरकारले कोभिड १९ का प्रतिवन्ध तोडेमा अस्थायी भिसाधारीको भिसा रद्द गर्ने र स्वदेश फर्काइदिनेसम्मको कठोर निर्णय गरेको छ।
सीड्नीको उत्तरी क्षेत्रमा शुरू भएको कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रण गर्न न्यूसाउथवेल्स सरकारले विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ।
पछिल्ला घटनाक्रमका बारेमा बोल्दै सरकारका अध्यागमन मन्त्री एलेक्स हकले समेत सरकारी स्वास्थ्य आदेशको अवहेलना गरेको खण्डमा तोकिएको जरीवाना साथै, उनीहरूको भिसा पनि रद्द गरिने बताएका छन्।
‘अध्यागमन ऐन अन्तर्गत, सरकारले कुनै पनि बेला अस्ट्रेलियामा रहेका विदेशी नागरिकको भिसा रद्द गर्ने अधिकार राख्छ’, ती मन्त्रीले भने।
पछिल्लो समयमा कोभिड-१९का सङ्क्रमितको सङ्ख्या बढेसँगै नर्दन बीचेसमा कडा प्रतिबन्ध लगाइएका छन्।
नर्दन बीचेसको उत्तरी क्षेत्रका बासिन्दालाई जनवरी ९ तारिखसम्म घर भित्रै बस्न कडा आदेश दिइएको छ। तर नयाँ वर्षमा भने आफ्नो घरमा बालबच्चासहित पाँच जनासम्म भेला गर्न पाउने छुट पाएका छन्।
भेला हुने सबै जना एकै क्षेत्रका बासिन्दा हुनुपर्छ। नर्दन बीचेसको दक्षिणी क्षेत्रका मानिसहरूले पनि बालबच्चा सहित सोही क्षेत्रमा बस्ने पाँच जनालाई भेला गर्न पाउने छन्, तर ग्रेटर सिड्नीका बासिन्दाहरूलाई भने बोलाउन पाउने छैनन्।
उत्तरी र दक्षिणी, दुवै क्षेत्रका बार, रेस्टुरेन्ट र सम्बन्धित स्थलहरू टेकअवेका लागि मात्र खुल्नेछन्।
यसैबीच, सीड्नीको नर्दन बीचेसमा फैलिएको कोभिड-१९ संक्रमणबाट अहिलेसम्म १ सय २९ जना संक्रिमत भइसकेको यहाँको राज्य सरकारले बताएको छ।