सिड्नीमा नेपाली तेक्वान्दो गुरुहरूद्वारा सञ्चालित वारियर्स तेक्वान्दो क्लबले आफ्नो दोस्रो फिटनेस च्याम्पियनसिप सम्पन्न गरेको छ।
वारियर तेक्वान्दो र युनाइटेड तेक्वान्दो फेडरेसन (युटिएफ) द्वारा संयुक्त रूपमा आयोजित प्रतियोगितामा ७० जना खेलाडीहरूको सहभागिता थियो।
न्यू साउथ वेल्सका खेलाडीहरूको सहभागिता रहेको सो प्रतियोगिताका विजेता खेलाडीहरूलाई पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो। फिटनेसतर्फ सेवस्टेइन स्कालिसी र जासोन गुरुङ उत्कृष्ट खेलाडी घोषित भएका थिए।
वारियर तेक्वान्दोका प्रशिक्षक प्रकाश क्षेत्रीका अनुसार अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यका साथ गत वर्षदेखि प्रतियोगिताको सुरूआत गरिएको हो।
प्रतियोगिताको समापन समारोहमा कम्युनिटी अवार्डसहित सामाजिक व्यक्तित्वहरूलाई मानार्थ ब्ल्याकबेल्ट प्रदान गरिएको थियो।
‘नेपालीहरू प्रवासमा बसेर खेलकुदमा अब्बल हुने चाहना राखेका हुन्छन्,त्यसैले सिड्नीमा बसोबास गर्ने नेपाली समुदायलाई पनि तेक्वान्दो खेलप्रति आकर्षित गर्न सकिन्छ कि भन्ने उद्देश्य बोकेर सबैलाई आकर्षित गर्न चाहेका छौं,’ प्रशिक्षक प्रकाश क्षेत्रीले भने।
उक्त कार्यक्रममा खेलप्रेमी युवा उत्प्रेरक विनोद पौडेललाई खेलकुद विकासमा उनको योगदान तथा पुरानो खेलाडीको नाताले मानार्थ ब्ल्याकबेल्टबाट सामान गरिएको थियो।
पौडेललाई ग्रान्ड मास्टर विलाल इलमोई तथा मास्टर प्रकाश क्षेत्रीले प्रमाणपत्र तथा तेक्वान्दो युनिफर्मसहित ब्ल्याकबेल्ट प्रदान गरेर सम्मान गरेका थिए।
सरकारले तोकेका पर्याप्त सुरक्षा मापदण्ड प्रयोग गरी पेन्र्ससको वर्ल्डस् पार्कमा गरिएको कार्यक्रममा एनआरएनए अस्ट्रेलिया उपाध्यक्ष तथा न्यू साउथ वेल्स संयोजक देव गुरुङ, वारियर तेक्वान्दो बोर्ड सदस्य विलाल इलमोई एनआरएन खेलकुद विभागका संयोजक भीम बस्नेत लगायतको उपस्थिति थियो।