मानिसको लगाव भन्ने चिज गजवको हुन्छ। विषम परिस्थितिका वाबजुद समय र सन्दर्भसँगै यसले पिछा छोड्दैन, अनि जोडिन मन लागिहाल्छ।
एक दशकको अष्ट्रेलिया बसाइमा दिपेश श्रेष्ठले हिट्स एफएमका धुनहरू र दर्शक श्रोताका मनहरू भुल्न सकेका थिएनन्।
नेपालमा एफएम रोडियोको लोकप्रियता बढदै गर्दा दिपेश हिट्स एफएममा कार्यक्रम प्रस्तोता थिए। सन् १९९६ देखि रेडियोमार्फत आफ्नो पत्रकारिता जीवन सुरू गरेका दिपेशले त्यसलाई सन् २००७ सम्म निरन्तरता दिए।
त्यसबेला अचानक उनी अस्ट्रेलिया जाने निर्णयमा पुगेसँगै उनको सन्चारकर्म रोकियो।
‘अस्ट्रेलिया आएपछि धेरै पटक आफ्नो प्यासनलाई प्रो फेसन पनि बनाउन चाहेँ। तर त्यसले सोचे अनुरुपको सफलता प्राप्त गर्न सकेन’, दिपेसले सेतोपाटीसँग कुरा गर्दै भने।
अस्ट्रेलिया पुगे पनि उनले पुरानो कर्म चटक्कै छाडेनन्, त्यहाँ उनले फिल्म लेखनको औपचारिक अध्ययन गरे। केही म्युजिक भिडियो पनि बनाए र फोटोग्राफी पनि सिके। तर दर्शक र श्रोतासँग पुग्ने र आफना विचार पोख्ने कुराको तलतल भने अझै मेटिएको थिएन।
लगाव भनेको गजबै हुँदोरहेछ अन्ततः कोरोना कहरले संसार गाँजेको बेला सीड्नीमा बसोबास गर्दै आएका दिपेशलाई पनि एउटा राम्रो मौका मिल्यो, ‘फुर्सदको समय सदुपयोग गर्ने।’
कोरोना संक्रमणको महामारी र फुर्सदले दिपेशलाई पुन: एउटा रेडियोकर्मी बनेर चिनिने सपना जन्मायो। त्यसपछि उनले फेसबुकमा ‘दिपेश शो’ भनेर कार्यक्रम सुरू
गरे र संसारमा छरिएर रहेका नेपाली कलाकार, व्यवसायी तथा चिरपरिचित अनुहारसँग भलाकुसारी गर्न सुरू गरे।
विशेषतः गीत संगीत क्षेत्रमा नाम कमाएका कलाकारसँगको कुराकानी निकै रूचाइयो । यतिखेर उनको पेज लाइक गर्नेको संख्या पनि एक लाख कटिसकेको छ। अनुभव अनि अन्तरंग संवाद र संघर्षका कथालाई रमाइलो पारामा मुखारित गर्न माहिर दिपेशको ‘द दिपेश शो’ यतिखेर युट्यूब र ट्वीटरमा समेत हेर्न र सुन्न सकिन्छ।
यो कार्यक्रम यतिखेर सांगीतिक क्षेत्रमा नयाँ ब्रान्ड बन्ने तरखरमा छ।
यसका साथै यो कार्यक्रम पोडकास्टको रूपमा पनि सुन्न सकिन्छ, हाम्रोपात्रो एप, एप्पल पोस्टकाष्ट, गूगल पोडकाष्ट तथा स्टोपीफाइमा समेत यो कार्यक्रम प्रत्यक्ष सुन्न सकिन्छ।
हरेक हप्ताको आइतबार, मंगलबार तथा बिहिबार नेपाली समय अनुसार दिउँसो २ बजेदेखि करिव दुई तीन घण्टासम्म प्रत्यक्ष प्रसारण हुने उक्त कार्यक्रमलाई प्रत्यक्ष सुन्ने र प्रतिक्रिया जनाउनेहरुको संख्या दिन प्रतिदिन बढ्दो छ ।
अष्ट्रेलिया र नेपालमात्र होइन विश्वका अधिकांश देशमा बसोबास गर्ने नेपालीमाझ लोकप्रिय भइरहेको यो कार्यक्रमवाट निकै सन्तुष्ट देखिन्छन् सञ्चालक दिपेश श्रेष्ठ।
गायक सञ्जिव सिंहसँगको कुराकानीबाट प्रारम्भ भएको कार्यक्रममा शृंखला खतिवडादेखि हरिवंश आचार्य अनि स्वप्न सुमनदेखि भवन भट्ट र हरि खड्कासम्म लोकप्रीय ब्यक्तीत्वहरु उपस्थित भइसकेका छन्।
पछिल्लो पुनरागमनका बारेमा दिपेश भन्छन्,‘कोरोना संक्रमण फैलिन नदिन गत चैत ११ गतेदेखि नेपालमा देशभर लकडाउन सुरू भयो। त्यसको दुई सातासम्म मैले सामाजिक सञ्जाल खुब नियालेँ। मानिसहरुको घरमै थुनिनु परेको पीडा र छटपटीलाई मैले अनुभव गरेँ र त्यसपछि मेरो दिमागमा लाइभ कुराकानीको योजना फुर्यो।
‘द दीपेश शो’ मा हालसम्म १ सय ७० जना भन्दा धेरै व्यक्तित्वको अन्तर्वार्ता प्रसारण भइसकेको छ। यो कार्यक्रमका लागि दीपेशलाई उनकी पत्नी मीना गौचनले प्रत्यक्ष सहयोग गरिरहेकी छिन्।