अष्ट्रेलियाको सिड्नीको उत्तरी क्षेत्रमा एकाएक कोरोनाको प्रभाव देखिएपछि सबै राज्यले सीमा बन्द गर्नुका साथ कडाइ अपनाएका छन्।
डेढ महिनाअघि भिक्टोरियाको मेलवर्न क्षेत्रमा एकाएक समुदायमा कोरोना फैलिएका कारण तीन हप्ता कर्फ्यु लगाएर स्थिति शून्यमा झारिएको थियो। त्यसबेला सबैतिरबाट भिक्टोरियाबासीलाई यात्रा गर्न प्रतिबन्ध समेत लगाइएको थियो।
यस पटक पनि न्यू साउथवेल्स राज्यको सिड्नीको उत्तरी क्षेत्रमा तीन दिन ९० जना कोरोना संक्रमित भेटिएपछि सीमा बन्द गरिएङ्को हो।
स्रोत पत्ता नलागेको सो कोरोना प्रभाव तेस्रो दिन आउँदा १५ जनामा घटे पनि यसको जोखिमबाट बच्न भिक्टोरिया, क्विन्सल्यान्ड, साउथ अष्ट्रेलिया, वेस्ट अष्ट्रेलिया, एसिटी, नर्दन टरोटेरी र तास्मानियाले सिड्नीबासीलाई यात्रामा प्रतिबन्ध वा १४ दिने होटल क्वारेन्टाइनको प्रावधान राखेका छन्।
यसका कारण वर्षकै ठूलो चाडका रुपमा रहेको क्रिसमस र नया वर्षमा पारिवारिक भेटघाट नहुने भएको छ। सयौं नेपाली परिवारको होलिडेसमेत प्रतिबन्धका कारण खल्लो हुने भएको छ। विशेषगरी क्रिसमसमा सबै सरकारी तथा निजी व्यवसाय बन्द हुने कारण लामो बिदा हुने गर्दछ र सबैले त्यसको फाइदा उठाएर सपरिवार घुम्न जाने चलन छ।
क्वीन्सल्यान्ड (ब्रिजबेन)
क्वीन्सल्याण्ड राज्यले सिड्नीका बासिन्दाहरूका आफ्नो सीमा बन्द गरेको छ। पछिल्ला दुई हप्ता सिड्नी वरपर गएका व्यक्तिहरू कुनै विशेष छुटबिना क्वीन्सल्याण्ड भित्रन पाउने छैनन्।
विशेष कारण प्रवेश अनुमति प्राप्त भएमा उनीहरू अनिवार्य १४ दिने होटेल क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ। न्यू साउथ वेल्स राज्यमा रहेका क्वीनसल्याण्डबासीहरू मंगलबार बिहान १ बजेसम्म आफ्नो राज्यमा फर्किसक्नु पर्नेछ। आफ्नो राज्य प्रवेशसँगै उनीहरूलाई कोभिड परिक्षण गरी घरमै सेल्फ आइसोलेसनमा राखिने छ।
भिक्टोरिया (मेलवर्न)
ग्रेटर सिड्नीलगायत वरपरका क्षेत्रका बासिन्दाहरूलाई भिक्टोरिया प्रवेश गर्नबाट पूर्णतया निषेध गरिएको छ। प्रिमियर डानियल एन्ड्रुले यी सम्पूर्ण क्षेत्रहरूलाई ‘रेड जोन’ अर्थात् खतरा भएका स्थानहरूको रूपमा घोषित गरेका छन्।
न्यू साउथ वेल्स रहेका भिक्टोरियालीहरू सोमबार मध्यरातसम्म भिक्टोरिया फर्किसक्नु पर्नेछ, र पुगेपछि १४ दिन अनिवार्य घर सेल्फ आइसोलेसनमा बस्नु पर्ने छ। त्यसपछि पुग्नेहरूलाई अनिवार्य होटन क्वारेन्टिनमा राखिने छ।
अस्ट्रेलियन क्यापिटल टेरीटरी (क्यानबेरा)
सिड्नी, सेन्ट्रल कोस्ट, इलावारा, सोलहेभन र ब्लु माउन्टेन क्षेत्रबाट क्यानेबरा (एसीटी) जाने व्यक्तिहरू अनिवार्य १४ दिने क्वारेन्टिनमा बस्नुपर्ने छ।
तपाईं एसिटीको बासिन्दा हुनु हुन्न भने र यी क्षेत्रहरूमा यात्रा गर्नु भएको खण्डमा ठूलो जोखिम मोल्नुपर्ने हुन्छ।
ती यात्रुहरूसँग एउटै घरमा बस्ने सबै व्यक्तिहरू पनि क्वारेन्टिनमा बस्नुपर्ने एसिटीले जनाएको छ।
एसिटीको बासिन्दा नरहेका मानिसहरूलाई अत्यावश्यक अवस्थाबाहेक अरू समय यात्राका लागि विशेष छुट नदिइने एसिटीका स्वास्थ्य पदाधिकारीले बताएका छन्।
वेस्टर्न अस्ट्रेलिया (पर्थ)
२० डिसेम्बर पछि न्यू साउथ वेल्स राज्य (सिड्नी)बाट केवल विशेष यात्रा अनुमति भएका व्यक्तिहरू मात्र वेस्टर्न अस्ट्रेलिया जान पाउने छन्। उनीहरूलाई पनि कोरोना परीक्षण र क्वारेन्टाइनको व्यवस्था गरिने छ।
नदर्न टेरीटरी ( डार्बिन)
नर्दन टेरिटोरीले सिड्नीका यात्रुहरूका लागि आफ्नो सीमा बन्द गरेको छ। यदि जरुरी परेर नर्दन टेरोटेरी जानुपरेमा उनीहरूले अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ। यो सिड्नी, सेन्ट्रल कोस्ट, इलावारा(शोलहेभन र ब्लु माउन्टेन्सका व्यक्तिहरूमा लागू हुने छ।
साउथ अष्ट्रेलिया(एडिलेड)
साउथ अष्ट्रेलिया सरकारले २० डिसेम्बर आइतबारको मध्यरातदेखि ग्रेटर सिड्नीको लागि आफ्नो सीमा बन्द गर्ने घोषणा गरेको छ।
न्यू साउथ वेल्सका सडकका सीमाहरूमा चेक पोइन्टहरू राखिने छन् भने सिड्नीबाट साउथ अष्ट्रेलिया प्रवेश गर्ने सबै व्यक्तिहरू अनिवार्य १४ दिने क्वारेन्टिनमा बस्नुपर्ने छ।
तास्मेनिया
तास्मेनियाले सीडनीको पश्चिम क्षेत्रलाई जोखिमयुक्त क्षेत्र घोषणा गरी अत्यावश्यक भएको खण्डमा बाहेक अन्य हकमा तास्मेनिया प्रवेशमा रोक लगाएको छ। तास्मेनिया सरकारले सिड्नीलाई पश्चिम क्षेत्रबाहेक अन्यको हकमा ‘मध्यम जोखिम’ भएको भन्दै त्यहाँबाट तास्मेनिया प्रवेश गर्ने यात्रुहरू अनिवार्य १४ दिने क्वारेन्टिनमा राखिने जनाएको छ।
‘एक्कासि यो प्रतिबन्धले हाम्रो होलिडे अब घरमै सीमित हुने भएको छ,’ माइग्रेशन एजेन्ट निरज श्रेष्ठले भने, ‘हामीले होटल बुकिङदेखि सबै गरिसकेका छौं। अब हेरौं के हुन्छ।’