नेपालीको विदेशमा बसाइ सराइ इतिहास त्यति लामो छैन। अध्ययन र छात्रवृत्तिमा विदेशिएकाबाहेक बसाइ सराइ तीन दशकको इतिहासमा धेरै नेपालीले मुलुकको शान र आफ्नो मान बढाउने काम गरेका छन्।
चिकित्साशात्र अध्ययन र अध्यापनको सिलसिलामै डेड हर्ट ट्रान्सप्लान्ट गरेर ख्याति कमाएका डाक्टर कुमुद धिताल हुन् या छोटो समयमै सफलता चुमेका धनपति शेष घले नै किन नहुन् सबैले प्रवासी नेपालीको मान र शान बढाएकै छन्।
यतिखेर पहिलो पुस्तामा कुदिएको सफलतालाई उजिल्याउने काम दोस्रो पुस्ताले निरन्तरता दिएका छन्। सीड्नीका युवा प्रमेज श्रेष्ठ सत्तारूढ दल लिबरल पार्टीबाट केन्द्रीय सांसदको चुनाव लडे। थोरै भोटले हारे पनि यसले अस्ट्रेलियन राजनीतिमा नेपाली प्रवेशको ढोका खोलेको छ।
यस्तै शैक्षिक यात्राको फलामे ढोकाका रूपमा चिनिने हाइएर स्कुल सर्टिफीकेट (एचएससी) १२ कक्षाको परिणाममा केही नेपाली विद्यार्थीले ल्याएको परिणामले अस्ट्रेलियाभर चर्चा पाएको छ। सीड्नीको पश्चिमी क्षेत्रको गिरावीन हाइस्कुलबाट एचएससी दिएकी बिसीका घिमिरेले ९९.७५ प्रतिशत अंक ल्याएर सबैलाई आश्चर्यचकित पारिदिइन्। उनी मात्र होइन, यस वर्षको एचएससी परीक्षामा थुप्रै नेपालीमुलका युवायुवतीले उत्कृष्ट परिणाम ल्याएर दोस्रो पुस्ताको बलियो उपस्थिति देखाइसकेका छन्।
‘यो हाम्रो नेपाली समाजको लागि पनि गौरवको विषय हो, मेरी छोरीले यो परिणाम ल्याउनुमा उनको मिहिनेत अनि सबैको सहयोग र सद्भाव मिसिएको छ’, बिसीकाका बुबा सिताराम घिमिरेले सेतोपाटीसँग भने।
सीताराम र बिमला चुडालकी जेठी छोरी बिसीका तिन कक्षादेखि अस्ट्रेलियामा पढ्दै आएकी हुन्। दुई कक्षासम्म नेपालमै पढेकी बिसीकाको अबको लक्ष्य डाक्टर बन्नु हो।
‘उनको सानैदेखि डाक्टर हुने रहर थियो। यो परिणामले उनको सपना साकार हुने देखिएको छ’, सितारामले भने।
यो परिणामपछि बिसिकाले मिनिस्टर अवार्ड फर एक्सीलेन्ससमेत प्राप्त गरेकी छन्। जुन अष्ट्रेलियामा विद्यार्थीका लागि निकै महत्वपूर्ण मानिन्छ।
दोस्रो पुस्ताका अर्की प्रतिभा आर्या अधिकारीले पनि सोही स्कुलबाट एचएससीमा ९९.६५ प्रतिशत अंक ल्याएर उत्तिर्ण भइन्। यो पनि उत्साहजनक परिणाम हो। यो सफलताका लागि चानचुने मेहनेत र परिश्रमले पुग्दैन।
आर्याका बुबा कमल अधिकारी छोरीको पढाईबाट सन्तुष्ट छन्। ‘हामी उनलाई मेडीसीन पढाउने सोचमा थियौं तर उनी बिजनेस पढ्न चाहन्छिन्। उनको चाहनामा हामी रोकटोक गर्दैनौं,’ उनले सेतोपाटीसँग भने।
यस्तै अर्की नेपाली चेली शीला भट्टराईले पनि एचएससीमा ९६.७५ प्रतिशत अंक ल्याएर सफलता हात पारिन्। यो परिणामपछि शीलाले न्युसाउथवेल्स विश्वविद्यालयको कानुनी संकायमा अनुबन्धनसमेत पाएकी छन्।
नयाँ पीडिले पनि यहाँको शैक्षिक क्षेत्रमा प्रभुत्व कायम गर्नु आफैंमा महत्वपूर्ण रहेको शीलाका बुबा बालचन्द्र भट्टराईले बताए। बालचन्द्र र सीता भट्टराईकी जेठी छोरी शीला आफू वकालत पेशामा जान चाहेको बताउँछिन्।
नयाँ पुस्ताका नेपालीहरु कानुनी पेशामा आउनु नेपाली समुदायका लागि हितकर हुने शीलाकी आमा सीता भट्टराईले बताइन्।
यता अर्का नेपाली युवा गौरव थापाले कक्षा ११ मा पढ्दै गर्दा १२ कक्षाको एक विषयमा राज्यस्तरकै टप गरेका छन्। जसका कारण गौरवले अनर रोल २०२० अर्वाडसमेत हात पारेका छन्।
यस्तै अर्की नेपाली चेली अनुभूति हीराचनले पनि ९७.१ प्रतिशत अंक ल्याएर आफूलाई अब्बल साबित गरेकी छन्। अशोक हिराचन् र भूमीका हिराचनकी छोरी अनुभूति सीड्नीकाे ग्रानभीलमा बसाेबास गर्दै आएकी छिन्।
एक्काइसौं शताब्दीको जमानामा संसारको जुनसुकै कुनामा बसेर पनि आफ्नो जन्मभूमि र कर्मभूमिबीचको पुलको काम गर्न सक्ने यी विद्यार्थीको सफलताबाट आगामी दिनमा थप नेपाली युवाले हौसला पाउनेछन्।
पछिल्लो शैक्षिक सत्रमा नेपाली चेलीले पाएको सफलता हाम्रो लागि गौरवको विषय भएको एनआरएन अस्ट्रेलियाका महासचिव डा. ज्ञानेन्द्र रेग्मीले बताए।
‘नयाँ पुस्ताको सफलताले समग्र नेपाली समुदायलाई नै गौरवान्वीत बनाएको छ’, रेग्मीले भने।