अस्ट्रेलियाको नेपाली समुदायभित्र एउटा राजनीतिक पटाक्षेपका केन्द्रबिन्दु मानिने भवानी ओली पेशाले माइग्रेशन एजेन्ट र कानुनी परामर्शदाता हुन्।
यहाँका हरेक राजनीतिक होस् वा सामाजिक घटनाक्रममा कही न कहि जोडिने भवानी ओली बोलीका पक्का मानिन्छन्।
‘ओली एन्ड एशोसियट्स’ नामक शैक्षिक परामर्श केन्द्र सञ्चालनमा ल्याएका ओलीले थुप्रै नेपाली युवालाई अस्ट्रेलियासँग जोड्ने काम गरे। काम गरेअनुसार दाम र समाजमा नाम पनि राम्रै कमाए।
कुनै जमाना थियो, अस्ट्रेलियामा ओलीको ब्यापारले अपार सफलता पाउदा कमाईसँगै सामाजिक दायित्वमा जोडिएको नामको आज पनि यदाकदा सिड्नीमा चर्चा हुन्छ।
उमेरले पाँच दशकको यात्रा तय गरेका उनमा जोश र जाँगर घटेको छैन। उनले सबैलाई समान ब्यवहार गर्छन्। मनमा लागेका कुरा कसैलाई पनि भन्न बाँकी राख्दैनन्। अस्ट्रेलियाको नेपाली समाजमा आफूलाई अगुवाका रुपमा चिनाउँदै गर्दा पुरानालाई सम्मान गर्ने मामलामा पनि पछाडि छैनन्। सिड्नीको ब्यस्त शहरको कोलाहल भित्र पनि खरो बोलीका धनि भवानी ओली चिनिन्छन्।
एनआरएनको अभियानदेखि अन्तर्राष्ट्रिय झापाली समाजसम्म कही न कही जोडिएकै छन् ओली। उनी गैर आवासीय नेपाली संघमा पनि एक पटक उमेद्वार भएका थिए। तर चुनावको जोड घटाउमा लाग्न नजानेका ओलीको बोली नबिकेपछि त्यसपछि मास्तीर लागेनन्।
साना कद भए पनि भवानी ओलीको हाउभाउ र कटाक्ष उचो मानिन्छ। स्पष्ट बोल्ने, खाएपछि मनका कुरा खोल्ने यीनको भावनाको सबैले कदर गर्ने गर्छन्। पछिल्ला केही वर्षदेखि व्यवशायीक हितमा ध्यान दिँदै पुरानो चमकलाई ब्यूँताउने महकमा दत्तचित्त देखिन्छन् ओली।
‘कुनै जमाना थियो, पद र पैसाभन्दा पनि समाज र राष्ट्रियता प्यारो हुन्थ्यो प्रवासमा। अहिले अब त्यस्तो रहेन, बिस्तारै समुदाय बढ्दै गयो, विदेश पनि पानी पधेंराझै भए’, ओली पुराना अतितलाई सम्झदै भन्छन्।
सन् ९० को दशकमा अस्ट्रेलिया झरेका ओली त्यतिबेला एउटा नेपालीले अर्को नेपाली भेट्दा घन्टौं बसेर गफीने र भाइचारा साट्ने गरेको सम्झन्छन्। ‘हामी त्यतिबेला कुनै अर्को गाउँ ठाउँमा नेपाली छन् भन्ने थाहा पाएपछि भेट्न जान्थौं। दशै तिहारमा टाढा टाढावाट साथीभाइ आउनु हुन्थ्यो।’
उच्च शिक्षाको सिलसिलामा अस्ट्रेलिया आएका ओलीले पढाइ पुरा गरेर स-परिवार यतै बस्दै गर्दा ब्यवशायीक पाटो सम्हालेका थिए। कम्युनिष्ट राजनीतिवाट प्रभावित ओलीले आफ्नो प्रवास बसाइमा राजनीतिक झोली भर्ने काम गरेनन्। झापाका ओली प्रेमिल स्वभावमा पनि पारगंत देखिन्छन्।
श्रीमती अन्जना पन्त र दुई छोरी, एक छोरासहित उनी सिड्नीमा बस्दै आएका छन्। समुदायमा सधैं जोडिने भवानी ओली र अन्जना पन्तको जोडी जतासुकै जमघटमा जमेकै देखिन्छ। श्रीमती अन्जनाको साथ र ओलीको गाथले पनि अहिलेसम्म उनिहरुको ब्यवशाय ओली एन्ड एशोसीयट्स जमेकै छ।
विद्यार्थीका समस्या र अस्ट्रेलियाको पढाइका बारेमा ओलीको स्पष्ट धारणा छ, ‘यहाँ उच्चस्तरीय शिक्षादेखि काम चलाउ कक्षासम्म छन्। शिक्षा हाम्रा लागि आवश्यक र महत्वपूर्ण अंगका रुपमा रहे पनि यीनका लागि ब्यापार हो, कस्तो डलर खर्चने शिक्षा पनि त्यस्तै स्तरको पाइन्छ।’ उनले भने, ‘हाम्रो काम भनेको अवस्था र चुनौतीका बारे स्पष्ट बताइदिने हो। जान्नेलाई श्रीखन्ड र नजान्नेलाई खुर्पाको बिड भनेझै प्रगतिका लागि यहाँ प्रसस्त वाटा पनि छन् बिग्रनेका लागि कयैन बाटा र पाटापनि। त्यसैले हाम्रो पेशामा इमानदारीका साथ काम गर्ने हो भने यी सबै कुरा खुलस्त पारिदिनसक्नुपर्छ।’
व्यवशायीक मर्यादामा बस्न नसक्दा पेशामा औला ठडिन लागेको भन्दै ओलीले भने ‘सयमा केही खराब पनि हुन्छन्, बोरामा एक दुई वटा आलु बिग्रँदा अरूलाई पनि असर पर्छ भएको यहीँ हो।’
झापाली भएकोमा गर्व गर्ने भवानीकै अग्रसरतामा अन्तर्राष्ट्रिय झापाली समाज पनि खडा भएको पक्कै हो। ‘हामी बिदेशमा नेपालीका रुपमा चिनिँदै गर्दा जन्मेको ठाउँ र हुर्केको गाउँलाई केही गर्न सके जन्मभूमिप्रतिको कर्तब्य पुरा हुने थियो भन्ने सोचका साथ हामीले अन्तर्राष्ट्रिय झापाली समाज गठन भएको हो’, उनले भने, ‘यसले उद्देस्य अनुरुपको काम पनि गरिरहेको छ।’
गीत संगीत र लोकलयलाई पनि नजिकबाट माया गर्ने ओली गाउन र नाच्न भनेपछि रौसीन्छन्। उनको यो रसीकपनले उनमा लुकेको कला संस्कृतिप्रतिको मोह झल्कीन्छ।
जीवनका उकाली आरोलीमा उतार चढाब आइरहन्छन्। तर समुदायप्रतीको चासो र ओलीको उन्मुक्त हाँसो कायमै रहोस् शुभकामना।