प्रवासी मनहरूलाई मुलुकसँग जोड्ने महत्वपूर्ण माध्यम भनेको भाषा नै हो। पहिलो पुस्तालाई यसको समस्या पर्दैन, उतैबाट सबै बोकेर आएका हुन्छन् ,भाषा, भेषभूषा।
वैदेशिक बसाइ सरेको इतिहास पल्टाउने हो भने नेपालीहरूको त्यति लामो पृष्ठभूमि पाइँदैन।
अझसम्म पहिलो पुस्ताले नै प्रवासी नेपालीको मन र तनलाई मुलुकसँग जोड्ने काम गरेको देखिन्छ। तर अब बिस्तारै दोस्रो पुस्तामा भने नेपाली भेष र भाषामा भने विस्तारै साइनो टुट्न लागेको देखिन्छ।
‘यतै जन्मेका दोस्रो पुस्तामा नेपालप्रति खासै आकर्षण नदेखिनुको कारण आफ्नोपनको अभाव र भाषाको समस्या पनि प्रमुख हो’, अस्ट्रेलियाको सिड्नीमा पछिल्लो चार वर्षदेखि नेपाली बालबालिकालाई नेपाली नृत्य सिकाउँदै आएका प्रशिक्षक सन्जिव कुमार बस्नेतले भने।
हरेक हप्ताको शनिबार चार घन्टा नेपाली बालबालिकालाई नृत्य सिकाउँदै आएका सन्जिव बस्नेत कक्षामा नेपाली गीत र नृत्य सिकाउन पाउँदा आफूलाई निकै भाग्यमानी भएको बताउँछन्।
‘कम्तिमा विदेशमा आएर पनि नेपाली बालबालिकालाई हाम्रो कला, संस्कृतिबारे केही सिकाउन पाइएको छ, यो नै महत्वपूर्ण हो जस्तो लाग्छ’, उनले भने।
नेपालमा राष्ट्रिय नाचघरबाट एक वर्षे नृत्य तालिम लिएका बस्नेतले ६ देखि १० वर्ष सम्मका दुई दर्जन बालबालिकाहरूलाई नेपाली कल्चरल नृत्य सिकाउँदै गर्दा उनीहरूमा नेपाली भाषाको पनि विकास हुने बताउँछन्।
स्कुलमा अंग्रेजी बोले पनि कम्तिमा घरमा यस्ता कक्षाहरूमा एक आपसमा नेपाली भाषामा बोलचाल गर्दा उनीहरूमा भाषाप्रतिको मोह बढ्दै जाने देखिन्छ।
‘त्यसमाथि पनि नेपाली गीत संगीतमा उनीहरू अभ्यस्त हुँदा यसले थप टेवा पुग्छ’,प्रशिक्षक बस्नेतले भने।
नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानका कल्चरल उपाध्यक्ष रहेका भक्तपुर दुवाकोटका सन्जिव हप्ताको एकै दिन भए पनि स-साना नेपाली बालबालिकासँग रम्न पाउँदा आफूलाई खुसी लाग्ने बताउँछन्।
विदेशमा जन्मेका नयाँ पुस्तामा नेपाली भाषाको समस्या बल्झिँदै जाँदा यसले मुलुकसँगको सम्बन्धमै असर पर्ने हो कि भन्ने लागेको नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाकी अध्यक्ष सुजाता बस्नेत बताउँछिन्।
‘किनभने विदेशमा बसेका नेपालीहरूलाई देशसँग जोड्ने पहिलो माध्यम भनेकै नेपाली भाषा हो’, उनले भनिन्,‘हामीले दोस्रो पुस्तालाई सर्वप्रथम नेपाली भाषा हस्तान्तरण गर्न सकेनौं भने कालान्तरमा हाम्रो सन्ततीहरू उही नामका मात्र नेपाली रहन्छन्।’
यतिखेर प्रवासमा नेपाली भाषा, कला संस्कृतिको जर्गेना गर्नु चुनौती नै बनेको उनले बताइन्।
आफ्ना दुई बालबच्चालाई नेपाली नृत्य सिकाउन हरेक शनिबार अर्वन पार्क पुग्ने अभिभावक राजेन्द्र रिजाल विदेशमा बसेर आफ्ना सन्ततीले नेपाली कला, संस्कृति सिकुन् भन्ने उद्देश्यले ल्याउने गरेको बताउँछन्।
‘हामीले त उतै जानेर आइयो यता जन्मेका यिनलाई अलि अलि भए पनि नेपालीपन सिकाउन सकियो भने यिनले पनि देश भुल्ने थिएनन्,यसैका लागि यो सानो प्रयास हो’,रिजालले सुनाए।
आफ्ना सानो छोरालाई नेपाली नृत्य सिकाउन ल्याएका अभिभावक ध्रुव केसीले नेपाली भाषाको विकास गर्नुका साथै परम्परा जोगाउने काम पनि गर्ने बताउँछन्। नेपाली गीत संगीतमा नृत्य गर्दा यसले बाल मनोविज्ञानमा पार्ने असर निकै महत्वपूर्ण हुने केसीको ठम्याइ छ।
अर्का अभिभावक सुवर्ण सापकोटा भने यसलाई नयाँ पुस्ताको अतिरिक्त क्रियाकलाप भन्न रुचाउँछन्।
‘अब यता जन्मे हामीले सकेसम्म नेपाली भाषा र हाम्रो कला संस्कृतिमा ढाल्ने प्रयास गर्नुपर्छ, हाम्रो दायित्व पनि हो यो’, सापकोटाले भने।
हुन पनि भाषा र कला संस्कृतिले बाधेकै कारण प्रवासमा हरेक हप्ता नेपाली गीत संगीत र चलचित्रका कैयौं कार्यक्रम हुने गर्छन्, जसले नेपाली कला र चलचित्र क्षेत्रलाई समेत ठूलो योगदान पुग्ने गरेको छ।
यसरी नयाँ पुस्तामा नेपाली भाषा नै हरायो भने यसले भविष्यमा नेपालीपन र मन जोड्न निकै कठिन हुने एनआरएनका पूर्व कोषाध्यक्ष डिला खरेल बताउँछन्।
‘एनआरएनले अबका दिनमा गर्नुपर्ने महत्वपूर्ण काम भनेको नेपाली भाषाको संरक्षण पनि हो’, खरेलले भने।