अस्ट्रेलियास्थित नेपाली राजदूतवासको आयोजना तथा महावाणिज्य दूतावासको सहकार्यमा आउँदो डिसेम्बर आठमा एक दिने नेपाल अस्ट्रेलिया लगानी सम्मेलन आयोजना हुने भएको छ।
'कोरोनाको कहरका कारण केही अघि तय भएको कार्यक्रमलाई हामीले डिसेम्बरको दोस्रो हप्ताको प्रारम्भमा वेभिनार मार्फत आयोजना गर्न लागेका हौं', बुधबार आयोजित तयारी बैठकमा बोल्दै अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले भने।
कोरोनाको प्रभाव भएपनि दुई देशबिच लगानीको सम्भावना खोज्न लागेको राजदुत दाहालले बताए।
दाहालले यस पटकको सम्मेलनमा अस्ट्रेलियाका राजनीतिक दलका प्रतिनिधि, व्यवसायी र गैर आवासिय नेपाली संघको महत्वपूर्ण सहभागिता रहने बताएका छन्।
सममेलनमा अस्ट्रेलिया र नेपालबीचको व्यापार प्रर्वधन, लगानीका सम्भावनाहरूको खोजी र त्यसमा व्यवसायी तथा सम्वन्धित निकायको सहभागिता गराउने उद्देश्य रहेको राजदूत दाहालको भनाइ छ।
कार्यक्रममा सामाजिक अभियन्ता कृष्ण हमालले लगानीको विषयमा वेभिनार गरिनु महत्वपुर्ण पाटो भएपनि सानो प्रयासमा पनि नेपालमा लग्न सक्ने लगानीको विषयमा बहस हुनु जरुरी रहेको बताए।
कल सेन्टर , वेभ डिजाइनजस्ता साना साना लगानीका क्षेत्रमा पनि सम्भावना समेत खोज्नुपर्ने उनको धारणा छ।
त्यस्तै एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कडेंलले यस्ता खाले कार्यक्रमहरूले दुइ देश बिचको लगानीको सम्भावना र अवसरको खोजी गर्ने हुनाले यो राजदूतावासको महत्वपुर्ण कार्यक्रम रहेको बताए।
कडेंलले यस्ता कार्यक्रममा स्थानिय राजनितीक दलका प्रतिनिधि र सम्वन्धित व्यवसायीहरूको महत्वपूर्ण सहभागिता गराउन भने आवश्यक रहेको औंलाए।
कार्यक्रममा बोल्दै एनएसडब्लुका महावाणिज्युदत दिपक खड्काले पुराना कुराहरूलाई बिर्सेर नयाँ आयामका साथ अगाडि बढेमा मुलुकको विकास निमार्णका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए।
लगानीको सोझो अर्थ नाफासँग जोडिने र लगानीको सुरक्षा महत्वपूर्ण हुने हुनाले सम्भावनाको खोजीसँगै सहज वातावरणको निमार्णमा पनि सबै मिलेर लाग्नुपर्ने खड्काको तर्क थियो।
खड्काले हिजो केही भएन भनेर होइन, अब केही गर्न सकिन्छ भनेर आशावादी बनेर अगाडि बढेमा मात्र नेपाल अस्ट्रेलिया लगानी सम्मेलन सफल हुने सुनाए।
तयारी बैठकमा बोल्दै भिक्टोरियाका महावाणिज्यदूत चन्द्र योञ्जनले दुई देशबीचको समुधुर सम्वन्धसँगै लगानीको क्षेत्रमा पहलकदमी गरे मुलुकका लागि महत्वपूर्ण योजना भित्रिन सक्ने जिकिर गरे।
'लगानीको वातावरण र सुरक्षाको ग्यारेन्टी गरे हाम्रो जस्तो सम्भावनाको खानी भएको मुलुकमा अस्ट्रेलियन लगानीकर्तालाई भित्राउन गार्हो छैन' ,योन्जनले भने।
साउथ अस्ट्रेलियाका महावाणिज्यदूत दिपक धमलाले कोरोनाको कहालीलाग्दो अवस्थाकाबीच सम्भावनाको खोजी गर्नु आफैमा महत्वपुर्ण विषय भएको र यसले मुलुकको हितमा ठूलो योगदान गर्ने बताए ।
कार्यक्रममा एनआरएनका महासचिव ज्ञानेन्द्र रेग्मीले लगानी सभा र सम्मेलनले सम्भावनाको निचोड निकाल्ने भएतापनि त्यसको कार्यान्वयन पक्षमा भने गम्भीर हुनुपर्ने बेला आएको बताए।
रेग्मीले अगाडि भने हामीले आफ्नोतर्फवाट सक्ने काम गर्ने हो तर राज्यको सहज नीति पनि लगानी आकर्षणको मुख्य आधार हो।
केही हप्ता अघि मात्र अष्ट्रेलियाका ठुला परियोजनाहरूमा नाम कमाएको फोर्टेस्क्यू मेटल ग्रुपले नेपालमा ५ सय मेगावाटभन्दा ठूलो जलविद्युत परियोजना र ग्रिन प्रोजेक्ट लगायतका केही महत्वपुर्ण योजनामा नेपालमा लगानी गर्ने सोचका साथ आफ्नो प्रतिनिधिलाई नेपाल पठाएको थियो।
कार्यक्रममा बोल्दै एनआरएनका उपाध्यक्ष देब गुरुङले एनआरएनले निजी क्षेत्रमा लगानी गरिरहेको बताउदै राजदुतावासले गर्ने कार्यक्रमले आधिकारिक धारणा बनाउन मद्दत पुग्ने बताए।
कार्यक्रममा एनआरएनका प्रवक्ता देब गुरुङ, अस्ट्रेलियन नेप्लिज मेडिकल एन्ड डेन्टल एशोसियसनकी प्रतिनिधि पुनम पन्त, नेप्लिज अस्ट्रेलिया पत्रकार संघकोतर्फबाट सहअध्यक्ष ऋषि आचार्य र महासचिव चिरञ्जीवी देवकोटाले कार्यक्रमको विषयमा धारणा राखेका थिए ।