आठ महिनापछि पहिलो पटक अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विध्यार्थीको लागि ढोका खुला गरेको छ। चार्ल्स डार्विन विश्वविद्यालयका ६३ अन्तर्राष्ट्रिय विद्यार्थी सिंगापुरबाट एक चार्टर फ्लाइटमार्फत आज डार्विन आइपुगेका हुन्।
सोमबार आइपुगेका ५ राष्ट्रका नयाँ र पुराना विद्यार्थीले डार्विन आउनुभन्दा ७२ घण्टा अगाडि कोरोना परीक्षण गरी भाइरस नभएको प्रमाण प्रस्तुत गरेका थिए।
उनीहहरु डार्विन आएपछि क्वारेन्टिनमा भने बस्नुपर्नेछ। मार्च २० पछि पहिलो पटक अस्ट्रेलिया प्रवेश गरेका विद्यार्थीले फ्लाइटको खर्च ब्यहोरे पनि उनीहरुको क्वारेन्टिन खर्च भने विश्वविद्यालयले ब्यहोरेको छ।
डार्विन विमानस्थलमा अवतरण गर्ने बित्तिकै जापान, चीन, हङकङ, इन्डोनेसिया र भियतनामका ती विद्यार्थीलाई नर्दन टेरिटोरी सरकारद्वारा संचालित हावर्ड स्प्रिङ्ग्सस्थित क्वारेन्टिनस्थल लागिएको थियो, जहाँ उनीहरु १४ दिनसम्म अनिवार्य रूपमा बस्नुपर्ने छ।
कोरोनाभाइरसको महामारीका साथ राष्ट्रिय सीमा बन्द गर्ने मोरिसन सरकारको निर्णयपछि गत मार्च २० देखि अन्तर्राष्ट्रिय विद्यार्थीहरु अस्ट्रेलिया प्रवेश गर्न पाएका थिएनन्। चार्टर विमानमार्फत आज बिहान सिंगापुरबाट नर्दन टेरिटोरीको डार्विनमा विद्यार्थी ओर्लिएका हुन्।
नर्दन टेरिटोरी सरकारले चार्ल्स डार्विन विश्वविद्यालयसँग मिलेर अन्तर्राष्ट्रिय विद्यार्थीलाई ल्याउने तयारी थालेको थियो। जसका लागि राज्य सरकारले संघीय सरकारसँग अनुमति लिएको हो। कोभिडको महामारीका बीचमा अन्तर्राष्ट्र्रिय विद्यार्थी भित्र्याउने पहिलो राज्य डार्विन बनेको छ।
यस्तै साउथ अस्ट्रेलियाले पनि आफ्ना तीन सय अन्तर्राष्ट्रिय विद्यार्थी फिर्तिको लागि पहल गरेको छ। हाल राज्य सरकारको अन्तिम निर्णयको पर्खाइमा रहेको छ। न्यु साउथवेल्सको हकमा भने २०२१ को प्रारम्भमा अन्तर्राष्ट्र्रिय विध्यार्थीलाई सुरक्षित तवरमा क्वारेन्टिनसहित आगमन खुला गर्ने लक्ष्य रहेको जनाएको छ।
चार्ल्स डार्विन विश्वविद्यालयका उपकुलपति एन्ड्रयु एभर्टका अनुसार हरेक वर्ष नर्दन टेरिटोरी सरकारलाई अन्तर्राष्ट्रिय विद्यार्थी मार्फत ९९ मिलियन डलरको आम्दानी हुने गर्छ। पाँच सय उघोगमा रोजगारको सहयोग हुने पनि उनले बताएका छन्।
करिब ६ लाख अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययन गर्ने अस्ट्रेलियाले वर्षेनी ३७.६ बिलियन डलर ती विद्यार्थीबाट आम्दानी गर्ने गर्छ जुन मुलुकको अर्थतन्त्रको निकै ठूलो हिस्सा पनि हो।
पछिल्लो आठ महिनामा मात्र कोरोनाका कारण अस्ट्रेलियाले बोर्डर बन्द गर्दा एक लाख बीस हजार अन्तर्राष्ट्रिय विद्यार्थी अड्किन पुगेका छन्।