अस्ट्रेलियाको सिड्नीनजिकै रहेको क्याम्बल टाउन क्षेत्रमा कार्यरत मल्टिकल्चरल सोसाइटी क्याम्बल टाउनले नेपाली समुदायको महत्व दर्शाउँदै सोसाइटीको उपाध्यक्ष र कोषाध्यक्ष पदमा नेपाली युवालाई स्थान दिएको छ।
नेपाली समुदायको तर्फबाट सोसाइटीको उपाध्यक्ष पदमा पत्रकार प्रकाश हुमागाईं र कोषाध्यक्षमा समाजसेवी हरिभक्त अधिकारी (ह्यारी)लाई मनोनयन गरेको हो। हुमागाईं ल्युमिया नेपलिज कम्युनिटीका अध्यक्ष हुन् भने अधिकारी साउथवेस्ट नेपलिज कम्युनिटीका जनसम्पर्क संयोजक हुन्।
अस्ट्रेलियाको व्यापारिक सहर सिड्नीको नेपालीहरूको बाक्लो बस्ती रहेको क्षेत्र हो क्याम्बल टाउन।
करिब ३५ सय नेपालीहरू स्थायी बसोबास गर्ने क्याम्बल टाउन क्षेत्रमा दिनानुदिन नेपालीहरू बसाइ सर्ने क्रम बढेसँगै नेपालीहरूको सामाजिक र राजनीतिक दायरा पनि फराकिलो हुँदै गएको छ। यस्तोबेलामा मल्टिकल्चर सोसाइटी जस्तो महत्वपूर्ण संस्थामा माथिल्लो पद पाउनु गर्वको विषय भएको समुदायका अगुवा बुद्धि डल्लाकोटीले बताए।
नेपाल पत्रकार महासंघको अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य समेत रहेका हुमागाईंले संसारको जुनसुकै कुनामा पुगे पनि आफ्नो पहिचानलाई स्थापित गर्न लागिपर्ने आफ्नो सोचलाई यो मनोनयनले थप टेवा पुगेको बताए।
विभिन्न देशबाट बसाइसरी अस्ट्रेलियालाई कर्मभूमि बनाएका सामाजिक व्यक्तित्वहरूले प्रतिनिधित्व गर्ने गरेको मल्टिकल्चर सोसाइटीमा नेपालीका अलावा बंगलादेश, भारत, पाकिस्तान, फिलिपिन्स, टोरेसस्टेट आइल्यान्ड, अस्ट्रेलियन एवोरजिनल, श्रीलंका, मलेसिया लगायतका देशको प्रतिनिधित्व रहेको छ।
सोसाइटीले विभिन्न सांस्कृतिक कार्यक्रम, मेला र महोत्सव तथा विभिन्न कला संस्कृतिको जर्गेनाको काम गर्दै आएको छ।
सोसाइटीले गत वर्ष ल्युमियामा वैशाखी महोत्सवको आयोजना गरेको थियो जसमा करिब ४० हजार सहभागी उपस्थित भएका थिए भने अस्ट्रेलियन सरकारका केन्द्रीय मन्त्रीदेखि सांसदसम्म कार्यक्रममा उपस्थित थिए।
सोसाइटीको अध्यक्षमा बंगलादेशी समुदायको तर्फबाट इनाम हकले नेतृत्व गर्दै आएका छन्।
यस्तै, सोसाइटीको सल्लाहकारमा साउथवेस्ट नेपलिज कम्युनिटीका देवेन्द्र सापकोटालाई नियुक्त गरिएको छ ।