गुल्मीमा जन्मेर तराई झरेका कृष्ण मल्ल (किसन) मातापितासँग बर्दघाटमा हुर्के। पछि काठमाडौं आएर कलाकारिता सिके, नाचे अनि गाए। हाल अस्ट्रेलियाको नेपाली समाजमा भने उनी पेन्टर कृष्णको नामले परिचित छन्।
काठमाडौंमा कलाकारिता छाडेर पेन्टिङतर्फ आकर्षित हुदै जाँदा उनले नाम र दाम दुबै कमाए। उनको सोच बदलियो। क्यामरा र 'कट' छाडेर ब्रस र क्यानभासतिर मन दौडाए।
काठमाडौंमा 'फाइन आर्ट'मा काम गर्दै जाँदा चलचित्रको पर्दामा देखिने रहरलाई चटक्कै छाडेर कृष्णले पेन्टिङमै आफूलाई स्थापित गरे।
आफ्नो भविष्यलाई फराकिलो बनाउने सोचका साथ उनी चार वर्ष अघि मात्र अस्ट्रेलिया आएका थिए। प्रारम्भमा अलमल परेका कृष्णले विदेशमा आफ्नो प्रतिभा देखाउने मेसो पाएनन्। अलमलमा उनका केही दिन अनि महिना बित्न थाले। ब्यस्त जीवन र डलरको महँगाईंमा कृष्णले हिम्मत भने हारेनन्।
उनले फेसबुक पेज मार्फत आफ्नो कलाको नमुना पेश गर्न थाले। दिन, महिना हुँदै वर्ष दिनमै उनका उत्कृष्ट लोभलाग्दो कलाले अस्ट्रेलियाको नेपाली समाजलाई जुरुक्कै तान्यो।
कलामार्फत मुलुकको अनुहारलाई झल्को दिन खप्पिस कृष्णका पेन्ट यतिखेर अस्ट्रेलियाका धेरै नेपालीको मन र घरका भित्तामा सजिएका छन्।
आफू पनि चिनिने र मुलुक पनि चिनाउने रहर उनमा सानैदेखि थियो। ‘विदेशमा बसेपछि देश झल्कनेगरी आर्ट बनाउने रहर जाग्यो, त्यसमै लागेको छु’ कृष्णले सुनाए।
आफ्ना पेन्टिङ विदेशमा बढी रुचाइएको समेत उनी बताउँछन्। आफूमा प्रतिभा भए संसारका जुनै कुनामा पनि जम्न सकिने उनको ठम्याई छ। कलाको माध्यमबाट सहयोगी भावनालाई समेत उजागर गर्न सफल कृष्णका कतिपय पेन्टिङले कयैन च्यारिटीमा लाखौं रुपैयाँ सहयोग पुर्याएको छ।
विभिन्न सामाजिक संघ संस्थाको च्यारिटीमा समेत निशुल्क कला प्रस्तुत गर्ने कृष्ण विस्तारै आफू व्यवसायिक पेन्टिङको अवधारणामा अगाडि बढेको बताउँछन्। विगतमा महिनामा एक, दुई पेन्टिङ आर्टको माग हुने गरेको सम्झदै कृष्ण भन्छन् ‘यतिखेर महिनाको दश भन्दा बढी नै डिमान्ड आउने गर्छ।’
उनका धेरै ग्राहक र प्रशंसक नेपाली नै छन्। उनको एक पेन्टिङ आर्ट यहाँ साढे दुई लाख नेपाली रुपैयाँसम्म बिक्री भएको उनले सुनाए।
‘विदेशमा बस्ने मानिसलाई देशको धेरै माया लाग्दो रहेछ, त्यसैले गाउँघर अनि मुलुकको संस्कृति झल्काउने, प्राकृतिक सौन्दर्य तथा ऐतिहासिक धरोहर अंकित चित्रको बढी माग आएको मैले पाएको छु,’ कृष्णले भने। ४३ औं वसन्तमा रमाएका पेन्टर कृष्णको अनुभव फरक र केही अलग देखिन्छ।
‘मैले अस्ट्रेलिया आएर यो पेशालाई अगाडि बढाइएला भनेर सोचेको पनि थिइनँ’ उनले भने ‘यहाँ नेपाली समुदाय बढ्दै जाँदा हरेक नेपालीले आफ्नो घर सजाउन देश झल्किने पेन्टिङ राख्न थालेका छन्, जसले मेरो पेन्टिङको बजार पनि बढाएको छ।’
कृष्ण अस्ट्रेलियन बजारप्रति लक्षित गर्दै अगाडि बढ्ने क्रममा रहेको सुनाउँछन्। जे होस् नेपालका हिमाल, पहाड अनि गामबेसी झल्काउने उनका कला प्रवासी नेपालीका लागि भने निकै प्यारो बनेको छ। ‘विस्तारै यताको रुची अनुरुपको फरक खाले पेन्टिङमा पनि हात हालेको छु, हेरौ कत्तिको रुचाइन्छ’ उनले भने।