गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाले भीम बस्नेतको संयोजकत्वमा खेलकुद विभाग गठन गरेको छ।
पूर्वमार्सल आर्टका खेलाडी सिड्नी निवासी बस्नेत स्थानीय ग्रानभिल फुटबल क्लबका पनि अध्यक्ष हुन्।
एनआरएन अस्ट्रेलियाका महासचिव ज्ञानेन्द्र रेग्मीका अनुसार खेलकुदका समितिका उपसंयोजकमा क्रिकेटका अन्तर्राष्ट्रिय खेलाडीहरू भिक्टोरियाबाट यशवन्त सुवेदी, क्यानबेराबाट प्रेम चौधरी, पर्थबाट नविन बिडारी र डार्बिनवाट सन्जिव गोर्खाली छन्।
यस्तै, समिति सदस्य सचिवमा भने भिक्टोरियाबाट पूर्व फुटबलर प्रकाश थापा चयन भएका छन्।
यशवन्त सुवेदी र प्रेम चौधरीले नेपालको तर्फबाट तीन पटक युथ १९ विश्वकप क्रिकेट खेलिसकेका छन्।
समितिको सल्लाहकारमा भने पर्थबाट सुवास श्रेष्ठलाई मनोनयन गरिएको छ।
समितिका अन्य सदस्यमा भने साफ गेम्समा उसुतर्फ स्वर्ण पदक विजेता खेलाडी विनिता महर्जन(एसिटी), नेपाली राष्ट्रिय क्रिकेट टोलीका देब्रे हाते तेज बलर रहिसकेका अमृत भट्टराई ( तास्मानिया), अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी प्रमोद बस्नेत (साउथ अस्ट्रेलिया ), सिड्नीका फुटबलप्रेमी अशोक ओली, फुटबल खेलाडी आश्विन पोखरेल, अर्जुन गुरुङ (एनएसडब्लु) फुटबलर युडी गुरुङ, सुदिप तामाङ, अनिश भण्डारी(तास्मानिया), सुशान्त सुवेदी(वेस्टर्न अस्ट्रेलिया) गोविन्द पाठक, साइवाल न्यौपाने( भिक्टोरिया), श्याम कुमार बस्नेत (क्वीन्सल्यान्ड) र राजन लामिछाने छन्।
एनआरएन अभियानमा खेलकुद महत्वपूर्ण अंगका रूपमा रहेको हुँदा यसको विकास र विस्तारका लागि कमिटी गठन गरिएको महासचिव रेग्मीले बताए। उनले मुलुकको पहिचानमा महत्वपूर्ण माध्यम बनेको खेल क्षेत्रलाई एनआरएनले समेत बढावा दिनुपर्ने कुरामा जोड दिए।
यस्तै, एनआरएन अस्ट्रेलियाले कम्युनिटी सेफ्टी एन्ड अवरनेस कमिटीको संयोजकमा सूर्य खनाल तथा वाटर एन्ड ट्रान्सपोर्ट सेफ्टी अवरनेस कमिटीको संयोजकमा प्रज्वल भट्टराई र नेपाल प्रमोसन कमिटीमा हरि अधिकारीलाई संयोजक तोकिएको छ।