न्यु साउथ वेल्स राज्यकी प्रिमियर ग्लाडिस बेरेजिक्लियनले राज्यको अर्थतन्त्र सुधारका लागि निकट भविष्यमै एक हजार अन्तर्राष्ट्र्रिय विद्यार्थी र आप्रवासीलाई भित्र्याउने योजना रहेको बताएकी छन्।
आइतबार राति आयोजिक पत्रकार सम्मेलनमा सर्वाधिक विद्यार्थीको घुइँचो हुने सिड्नी क्षेत्र वरपरका लागि एक हजार विद्यार्थीका लागि होटल क्वारेन्टिनको व्यवस्थापन तयारी भैसकेको प्रिमियर ग्लाडिसले बताएकी छन्।
अब आउने अन्तर्राष्ट्र्रिय विद्यार्थीले उच्च अध्ययनका लागि आउँंदा अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्ने छ।
होटल क्वारेन्टिन व्यवस्थाका लागि छुट्टाइएकामध्ये एक तिहाइ स्थान अन्तर्राष्ट्रिय विद्यार्थी र दक्ष आप्रवासीहरूका लागि प्रयोग गर्ने प्रिमियरको योजनाको अन्तर्राष्ट्रिय शिक्षा उद्योगले स्वागत गरेको छ।
प्रिमियर बेरेजिक्लियनले होटल क्वारेन्टिनका लागि उपलब्ध रहेका स्थानमध्ये केही अन्तर्राष्ट्रिय विद्यार्थी र आप्रवासीहरूका लागि छुट्टाइए राज्यका विश्वविद्यालय सञ्चालन र अर्थतन्त्रलाई उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन्।
आगामी क्रिसमस र नयाँ वर्षमा उक्त योजनाबारे सोच्न र सल्लाह गर्न अन्य राज्यहरूलाई पनि प्रिमियर बेरेजिक्लियनले आग्रह गरेकी छन्।
प्रिमियरको उक्त धारणा संघीय सरकारको भन्दा फरक छ। मोरिसन सरकारले अहिले विद्यार्थीभन्दा विदेशबाट फर्कने अस्ट्रेलियालीहरूलाई होटल क्वारेन्टिनमा राख्नुपर्ने बताउँदै आएको छ।
प्रिमियरको यो भनाइपछि अन्तर्राष्ट्रिय शिक्षा संघका कार्यकारी प्रमुख फिल हनिवुडले यो योजनाले यात्रा प्रतिबन्धका कारण हाल नाजुक अवस्थामा रहेको अन्तर्राष्ट्रिय शिक्षा उद्योगलाई धेरै टेवा पुग्ने बताएका छन्।
‘शैक्षिक उद्योगका लागि अस्ट्रेलियाले चाँडै आफ्नो सीमा नखोल्ने हो भने अन्तर्राष्ट्र्रिय विद्यार्थी र उनका आमाबाबुहरू अन्य देशतर्फ आकर्षित हुनसक्छन् जसको कारण अस्ट्रेलियालाई घाटा हुनसक्छ’, फिलले भने।
अस्ट्रेलियाली अर्थतन्त्रका लागि ४० अर्ब डलर सम्मको कारोबार गराउने अन्तर्राष्ट्रिय शिक्षा बजार हाल यात्रा प्रतिबन्धका कारण प्रायः ठप्प भएको छ।
आफ्नो कुनै गल्ती र बिना कारणबस विदेशमा अड्केका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्राथमिकतामा सूचीमा राखिनुपर्ने किङ्गस्टन इन्सिच्युटका सञ्चालक दिपक खनाल बताउँछन्।
‘यतिबेला संकटमा रहेको उद्योगलाई जीवनदान दिने निर्णयको पर्खाइमा छौं’, किङ्गस्टन इन्सिच्युटका खनालले भने।
हाल विदेशबाट आउने अस्ट्रेलियालीहरूलाई होटल क्वारेन्टिनमा राख्न न्यु साउथ वेल्स सरकारले प्रत्येक हप्ता तीन हजार जना सम्मलाई व्यवस्थापन गरेको छ।