अस्ट्रेलियाका ठूला परियोजनामा नाम कमाएको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा ५ सय मेगावाटभन्दा ठूलो जलविद्युत परियोजना र ग्रिन प्रोजेक्ट लगायतमा लगानी गर्न इच्छुक रहेको बताएको छ।
अस्ट्रेलियन इस्टक एक्सचेन्जमा समेत निकै प्रभाव बनाएको लिमिटेडले नेपालमा कम्तिमा ५ सय मेगावाट क्षमताको विद्युत उत्पादन गरी खपतसमेत आफैं गर्ने प्रस्ताव ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसमक्ष पेस गरेको छ।
गत अक्टोबरको अन्तिम साता अस्ट्रेलियन फोर्टेस्क्यू मेटल ग्रुपको एक टोली भेटवार्ता र साइट भिजिटको लागि नेपाल पुगेको थियो। एक हप्तापछि टोली अस्ट्रेलिया फर्किएको हो।
यसअघि परियोजनाका लागि दुबै देशका प्रतिनिधिहरूले भर्चुअल बैठक गरेका थिए।
सोही क्रममा फोर्टेस्क्यू मेटल ग्रुपका प्रतिनिधिले नेपाली सम्बन्धित निकाय परराष्ट्र मन्त्री, सिँचाइ तथा ऊर्जा मन्त्री तथा विभिन्न सरकारी निकायसँंग भेटवार्ता गरेका थिए। यसै क्रममा फोर्टेस्क्यू मेटल ग्रुपको प्राविधिक टोलीले हाइड्रोको लागि विभिन्न साइटको निरीक्षण समेत गरेको छ।
हाल यस परियोजनाको प्रस्ताव लगानी बोर्डमा रहेको र सम्बन्धित निकायमा छलफलपछि लगानी बोर्डले अस्ट्रेलियन लगानीकर्तालाई यस विषयमा कस्तो प्रतिक्रिया जनाउने हो त्यो भने हेर्न बाँंकी छ।
नेपालमा अस्ट्रेलियाबाट महत्वपूर्ण लगानी भित्र्याउने योजना अन्तर्गत यो महत्वपूर्ण खुट्किलो भएको अस्ट्रेलियाका लागि एनएसडब्लुका महावाणिज्यदूत दिपक खड्काले बताए।
यसअघि पनि सन् २०१० मा यस कम्पनीका प्रमुख एन्ड्रयु फरेस्ट निजी विमानमा सपरिवार घुम्न नेपाल गएका थिए। त्यतिबेला आफूले फरेस्टसँग भेट गरेर नेपालमा लगानी गर्न अनुरोध गरेको समेत सम्झन्छन् महावाणिज्यदूत दिपक खड्का।
फरेस्टको अस्ट्रेलियाको खानी उद्योगमा निकै ठूलो लगानी छ। उनी अस्ट्रेलियामा सहयोगी र सहृदयी उद्योगीका रूपमा पनि परिचित छन्।
पछिल्लो बुस फायर संकटमा सरकारलाई सत्तरी मिलियन डलर सहयोग गरेका फरेस्टले त्यसअघि माल्कम टर्नबुल सरकारका पालामा चार सय मिलियन डलर रकम सामाजिक उत्थानका लागि च्यारिटीका लागि सहयोग गरेका थिए।
फोर्टेस्क्यू मेटल ग्रुप अस्ट्रेलियाको १० ठूला प्रसिद्ध कम्पनीमध्ये एक हो। यसले अस्ट्रेलियन सेयर बजारमा समेत राम्रो प्रभाव पार्ने गरेको छ।
‘नेपालको जलविद्युतमा यति ठूलो लगानी गर्ने र उत्पादित बिजुलीको खपत पनि आफैं गर्ने कम्पनीको प्रस्ताव नेपालको लागि निकै महत्वपूर्ण रहने छ’ महावाणिज्यदूत खड्काले भने।
यस कार्यका लागि अस्ट्रेलियास्थित नेपाली राजदूतावासले सहजकर्ताको भूमिका निर्वाह गरिरहेको छ।
दुई वर्ष फोर्टेस्क्यु मेटल ग्रुपमा जलस्रोत विज्ञका रूपमा काम गरेका एनआरएन अस्ट्रेलियाका महासचिव ज्ञानेन्द्र रेग्मी यस्तो प्रतिष्ठित कम्पनीले नेपालमा लगानी गर्न चाहना राख्नु पनि महत्वको विषय रहेको बताउँछन्।
महासचिव रेग्मी भन्छन्, ‘देश विकास निर्माणमा विदेशी लगानीको सन्दर्भमा राज्यले सहज नीति अपनाउनु पर्दछ। राजनीतिक खिचातानी र आपसी स्वार्थभन्दा माथि रहेर मुलुकको हितका खातिर यस्ता प्रतिष्ठित कम्पनीहरूलाई लगानीको वातावरण बनाउन सकेमात्र देश उन्नतीको बाटोमा अगाडि बढछ।’