जीवन अमूल्य छ। यसको तुलना केहीसँग हुन सक्दैन। ‘म छु र त सबै छन्’ भन्ने भावना रहनुपर्छ। आफू नै रहिएन भने केही पनि रहँदैन।
पछिल्ला दिनमा अस्ट्रेलियामा पढ्न आएका नेपाली विध्यार्थीहरुमा देखिएको बढ्दो नैराश्यता र केही आत्महत्याका प्रकरणले उनीहरुलाई जीवनको महत्वबारे झकझकाउनुपर्ने अवस्था देखिएको छ। गत शनिबार मात्र मेलवर्नमा कोटेश्वरका एक युवाले होटलमा पासो लगाएर प्राण त्यागे।
त्यति मात्र होइन पछिल्लो एक वर्षमा आधा दर्जन बढी नेपाली विध्यार्थीले आत्महत्याको बाटो रोजेर मृत्युवरण गरेका छन्। जुन नेपाली समाजको लागि दुखदायी विषय हो। केही महिनाअघि टेम्पे पार्कमा झुन्डिएर दोलखाका एक युवाले ज्यान फाले भने त्यसको हप्ता दिन बित्न नपाउँदै सिड्नीको लिडकम ट्रेन स्टेशनमा हाम फालेर अर्का युवाले देह त्यागे।
अस्ट्रेलियामा उच्च अध्ययन, उज्वल भविष्यका लागि आएका नेपाली विद्यार्थीमा नैराश्यताको बादल छाउनु र आत्महत्या बढ्नुले डिप्रेशन नै बढ्दो समस्या रहेको प्रष्ट हुन्छ।
गत हप्ता मात्र चार्टड फ्लाइटमा दुई नेपाली विद्यार्थीलाई मानसिक समस्याका कारण स्वदेश फर्काइएको एनआरएन अस्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले बताए।
अझै केही नेपाली विध्यार्थी यहाँका स्थानीय अस्पतालमा उपचार गराइरहेको समेत गुरुङले बताए।
मानसिक रोग पनि अन्य रोगझैं उपचार सम्भव हुने रोग हो भनेर बुझ्नु पर्ने आवश्यकता रहेको सिड्नीमा मेडिकल सेन्टर सञ्चालन गरिरहेका नेपाली मुलका डाक्टर प्रविण पाठक बताउँछन्।
यसको प्रारम्भिक सुरुआत थाहा नपाएका कारण पनि कैयन नेपाली विद्यार्थी डिप्रेसनको शिकार बन्दै गएको डा. पाठकको तर्क छ। डिप्रेसन भएको थाहा हुँदाहुँदै पनि यसको उपचार नगराउनु अर्को कमजोरी रहेको र यसले गाज्दै जाँदा कालान्तरमा आत्महत्या बढ्ने डाक्टर पाठकले बताए।
साथीभाइ र नजिकका आफन्तले पनि डिप्रेसनमा परेकालाई तुरुन्त मनो चिकित्सकसँग जान सल्लाह दिनुपर्ने उनको सुझाव छ।
‘हतास मानसिकता बोकेर आफ्नो जिन्दगी र परिवारलाई जोखिम पार्नेतिर कोही पनि लाग्नु हुन्न’ उनले भने ‘ समस्या छन्, समाधान पनि छन्। यो संसारमा मानिसहरु एक मिनेट भए पनि बढी बाँच्नको लागि संघर्ष गरी रहेका छन्, अमूल्य जिन्दगीलाई यत्तिकै वर्वाद नपारौं’ एनआरएनका महासचिव डा ज्ञानेन्द्र रेग्मीले भने।
अस्ट्रेलियामा पछिल्लो तालिका केलाउने हो भने एक लाख मानिसमध्ये वार्षिक दश जनाले आत्महत्या गरेको देखिन्छ। जुन संख्यात्मक दृष्टिकोणले उच्च नै हो।
हरेक वर्ष पचास हजार भन्दा बढीले अस्ट्रेलियामा आत्महत्याको प्रयास गरेको देखिन्छ। तर तदारुकता र छिटो छरितो स्वास्थ सेवाका कारण मात्र तीन हजारले ज्यान गुमाएको तथ्यांकले देखाउँछ। तीमध्ये ७५ प्रतिशत पुरुषले आत्महत्याको प्रयास गरेको तथ्यांकले देखाएको छ।
संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार हरेक वर्ष ८ लाखले आत्महत्या गर्ने गर्छन्। यसरी आत्महत्या गर्नेमा महिलाहरु भन्दा पुरुष बढी छन्।
भारतमा मात्रै एक वर्षमा साढे दुई लाखभन्दा धेरै, नेपालमा ५ हजार धेरैले आत्महत्या गरेका छन्।
शारीरिक, मानसिक, आर्थिक साथै सामाजिक परिवेशसँग जोडिएका घटना नै आत्महत्याका प्रमुख कारण हुनसक्ने बताउँछन् सिड्नीका वकिल खिलेन्द्रराज तिम्सिना।
सामाजिक कारणमा ऋण, धन, गालीगलोज, चरित्र हत्या जस्ता समस्याले ग्रस्त मान्छेले आत्महत्याको बाटो रोजेको देखिन्छ। विध्यार्थीहरुको हकमा भने पढाइ, बसाइ र कमाइ तथा आर्थिक व्यवस्थापनको संयोजन गर्न नसक्दा मानसिक तनाव देखिने गरेको उनले बताए।
‘अर्कोतर्फ कुलत र जुवाको कारण पनि युवाहरु मानसिक रोगको शिकार बन्न पुगेकाे देखिन्छ’ उनले भने ‘सामाजिक–सांस्कृतिक विचलन, मानसिक रोग, पारिवारिक कलह, अनमेल विवाह, आपसी अविश्वास, असुरक्षा भाव, अन्याय, द्वन्द्व, बेरोजगारी, गरीबी, इन्टरनेटको दुरुपयोग, लागूपदार्थको दुर्व्यसन, जीवनमा सधैं असफलता आदि कारणले आत्महत्या बढ्दो छ।’
आत्महत्याको ९० प्रतिशत कारण मानसिक समस्यालाई मानिन्छ। विश्वव्यापी तथ्यांकलाई केलाउने हो भने १५ प्रतिशत लागूऔषध दुर्व्यसनी, 'पर्सनालिटी डिसअर्डर' १० प्रतिशत र 'सिजोफ्रेनिया' भएकामध्ये १० प्रतिशतले आत्महत्या गरेको देखिन्छ।
‘असफलता नै सफलताका सिंढी हुन्, असफल हुनु जिन्दगी वर्वाद हुनु होइन, तर ज्यानै जाने बाटो रोज्नु भनेको परिवारका सदस्य तथा समाजलाई पनि पीडा दिनु हो’ सिड्नीका पुराना सञ्चारकर्मी डिल्ली ढकाल भन्छन्।
उनी सुझाउँछन् ‘चिन्ताले मानिसलाई चितासम्म पुर्याउँछ भनेर त्यसै भनिएको होइन, पीडाका बीच खुसी हुन सक्ने सामर्थ्य राख्ने मानिस नै भोलि सफल हुन्छ, त्यसैले पनि यो सुन्दर सृष्टिलाई सम्मान गर्न सिक्नुपर्छ।’
आफूले देखेका सपना र बोकेको लक्ष्यमा कहिलेकाँही असफल भइन्छ तर त्यसो भन्दैमा जीवनबाटै हरेस खाइहाल्नु पर्दैन, संघर्ष र परिश्रमले पुन अर्को लक्ष्य र सपना बुन्न सकिन्छ।
विशेषतः उज्वल भविष्य बोकेर सात समुन्द्रपार अध्यन गर्न आएका विध्यार्थी भाइ बहिनीहरुले यस्ता कुरामा हेक्का राखे फेरि दुर्घटनाका खबर सुन्नु पर्ने थिएन।