एक्सपर्ट कप वेस्टर्न अस्ट्रेलिया नेप्लिज फुटबल लिग आइतबारदेखि सुरू भएको छ।
वेस्टर्न अस्ट्रेलियामा रहेका ६ वटा नेपाली र दुइटा भुटानी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने यो लिग फुटबल दस हप्तासम्म चल्नेछ।
पहिलो दिन आइतबार चार वटा खेल हुनेछन्। जसमा लिगअन्तर्गत सबै टोलीले सबै टोलीसँंग प्रतिस्पर्धा गर्ने तालिका छ। लिग कम नक आउटका आधारमा सन्चालन गरिने यो फुटबल लिग यस भेगको निकै चर्चित प्रतियोगिताका रूपमा चिनिन्छ।
यस प्रतियोगिताको पहिलो स्थान हात पार्ने टोलीलाई ट्रफी प्रमाणपत्र र २५ सय अस्ट्रेलियन डलर प्रदान गरिने आयोजक समितिका संयोजक तथा पुराना फुटबल खेलाडी सुवास श्रेष्ठले बताए।
अस्ट्रेलियाको पर्थमा बसेर पनि खेलकुदको माध्यमबाट मुलुकको पहिचान बढाउन सकिन्छ भन्ने मान्यताका साथ आफूले यस प्रतियोगिताको सुरूआत गरेको आयोजक समितिका संयोजक श्रेष्ठले सेतोाटीलाई बताए।
प्रतियोगितामा दोस्रो हुने टोलीले ट्रफी प्रमाणपत्र तथा १५ सय अस्ट्रेलियन डलर प्राप्त गर्नेछ। बेलमन्ट ओभलको मैदानमा पछिल्लो वर्षदेखि प्रारम्भ भएको यस लिग फुटबलको यो दोस्रो संस्करण हो।
लिगमा गोर्खा ब्वाइज एफसी ए ,गोर्खा ब्वाइज एफसी बी ,नेप्लिज युनाइटेड एफसी, सनराइज फुटबल ग्रुप,नमस्ते एफसी,भाषा पाठशाला एफसी, थिम्पु सिटी पर्थ एफसी , जाचुन युनाइटेड एफसी छन्।
प्रतियोगिताको मुख्य प्रायोजकमा एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज, सहायक प्रायोजकहरूमा अस्ट्रेलियन टेक्निकल कलेज छन्।
प्रतियोगितालाई स्थानीय हिमालयन नेप्लिज रेस्टुरेन्ट, फंकी मम, हिमाली गोर्खा ,एसकेएम फर्निचर लगायतले सहयोग गरेका छन्।