कोरोनाको प्रभावका कारण थलिएको अस्ट्रेलियन शैक्षिक उद्योगलाई विस्तारै गति दिने सरकारको नीती अनुरूप विदेशमा अड्किएका विद्यार्थी र प्रक्रियामा रहेकाहरूलाई बाटो फुकाउने अभियान प्रारम्भ भएको छ।
जस अनुरूप बिहीबारबाट नेपालको अस्ट्रेलियन भिषा आवेदन केन्द्रले आफ्नो काम अगाडि बढाएको छ ।
कोरोना अघि करिब ६ लाख अन्तर्राष्ट्रिय विद्यार्थी अस्ट्रेलियामा विभिन्न तहमा उच्च शिक्षा हासिल गर्न आएको तथ्यांक छ। विदेशी विद्यार्थी अस्ट्रेलियन सरकारको गतिलो आम्दानीको श्रोत पनि हो।
तर पछिल्ला दिनहरूमा कोरोना र यसको प्रभाव अनि अन्तर्राष्ट्रिय उडानको प्रभावका कारण थलिएको यो उद्योग लगभग संघर्षको मैदानमा रहेको छ।
पछिल्लो छ महिनोखि शुन्यको स्थीतीमा रहेको यहाँको अन्तर्राष्ट्रिय विद्यार्थी आगमनले धेरै कुरामा प्रभाव पारेको स्पष्ट देखिन्छ।
यसै वर्षको प्रारम्भ देखि सुरू भएको कोरोना प्रभावको कारण अस्ट्रेलियाले पछिल्लो ९ महिनामा मात्र करिब डेढ लाख अन्तराष्ट्रिय विद्यार्थी गुमाएको छ। जुन पछिल्लो वर्षको तुलनात्मक प्रतिवेदनले स्पष्ट देखाएको छ।
पछिल्लो वर्ष र यस वर्षको तुलनात्मक आँकडा हेर्ने हो भने यस वर्षको प्रारम्भमै जनवरीमा पछिल्लो वर्ष भन्दा चार हजार कम विद्यार्थी आएको देखिन्छ। जस अनुरूप पछिल्लो वर्ष ३४ हजार चार सय ५० र यस वर्ष ३० हजार चार सय १२ जना विद्यार्थी अस्ट्रेलियामा उच्च अध्यन गर्न आएका थिए।
तर यो क्रम घट्दै जाँदा जुन महिनामा पछिल्लो वर्ष ३४ हजार र यस वर्ष ४ हजार मात्र विद्यार्थी अस्ट्रेलिया आएको देखिन्छ। जुन यस क्षेत्रको लागि निकै चिन्ताजनक हो।
जुलाईमा यो संख्या पुन निकै तल झरेको छ। अगस्टबाट लक डाउन भएपछि विद्यार्थी आगमन लगभग शुन्यको अवस्थामा रहेको छ।
आगलागी,खडेरी र कोभिड महामारी जस्ता समस्याका कारण आर्थिक रूपमा जुधिरहेको अस्ट्रेलियाले केहि ढिलो गरी भएपनि अर्को वर्षको सुरूबाट अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउने तयारी गरेको छ।
कोरोनाको प्रभाव कम पार्दै खस्किदो अर्थतन्त्रबाट जोगिन विस्तारै लक डाउन खुकुलो पार्दै गएको अस्ट्रेलियाले आफ्नो नयाँ योजना बमोजिम यसै वर्षको नोभेम्बरदेखि यहाँका विश्वविद्यालय र कलेजमा भर्ना प्राप्त गरेका विद्यार्थीलाई ल्याउने योजना बुनेको हो।
तीन दशक यता अस्ट्रेलियाली तथ्याङ्क विभागले जारी गरेको पछिल्लो आँकडा अनुसार देशको कुल गृहस्थ उत्पादन (जिडिपी) मा ७ प्रतिशतले ओरालो लागेपछि, आधिकारिक रूपमै देश आर्थिक मन्दीमा गएको घोषणा गरिएको थियो।
विभागले जुनको त्रैमासिकमा अस्ट्रेलियाली अर्थतन्त्र ओरालो लाग्नुमा विश्वव्यापी महामारी र त्यसको रोकथामका लागि चालिएका कदमहरूलाई जिम्मेवार ठहराएको थियो।
खनिज र पर्यटन अनि शैक्षिक उद्योग अस्ट्रेलियाका आम्दानीका मुख्य श्रोत हुन्। त्यसमा पर्यटनको शुन्यता अनि शैक्षिक उद्योगको खस्कदो अवस्थाले अस्ट्रेलियाको अर्थतन्त्रमै प्रभाव परेका सहजै देख्न सकिन्छ। जसका कारण धेरैपछि मुलुकमा आर्थिक मन्दीको घोषणा समेत गरिएको छ।
पछिल्लो साता अस्ट्रेलियन आप्रवासन मन्त्री एलन टजले अन्तर्राष्ट्रिय सीमा खोल्ने बित्तिकै विद्यार्थीहरूको आगमन प्रारम्भ हुने बताइसकेका छन्।
अस्ट्रेलिया बाहिर रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू जसको भिषा सकिएको छ उनीहरूका लागि पुनः भिषा आवेदनमा समेत कुनै शुल्क नलिने निर्णय गरेको छ।
'सरकारको सकरात्मक भुमिकाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा छाएको नैरास्यता केहि हदसम्म समाधान गर्ने प्रयास गरको छ' , किंगस्टन इन्सिच्युटका निर्देशक दिपक खनालले भने।
'काम विशेषले अस्ट्रेलिया छाडेका र उत्तै अडकिएका विद्यार्थी तथा नयाँ आउन चाहनेहरूको लागि अब बाटो खुलेको छ, यो शैक्षिक उद्योगका लागि पनि सकरात्मक सन्देश हो', निर्देशक खनालको भनाइ छ।
नेपालमा पनि भिषा लागेर महंगो फिस तिर्दै अनलाइनमै पढिरहेका सयौं विद्यार्थी रहेका छन्। उनीहरूका लागि सुरू भएको भिषा प्रक्रियाले खुसी दिलाएको छ। लामो समयदेखि बन्द रहेको नेपालस्थित अस्ट्रेलियन भिषा आवेदन केन्द्र भिएफएसले बिहिबारदेखि सबैखाले प्रक्रिया अगाडि बढाएको जनाएको छ।
'यसको चुरो कुरो भनेको कोरोना राग नै हो, यसको निदान हुँदै जाने र भ्याक्सीन छिटो आउने हो भने सबैखाले समस्या विस्तारै समाधान हुदै जान्छन तर फेरी यो बढेर गयो भने ढोका खुल्ने र बन्द हुने क्रम चलिरहन्छ' , राइट एन्ड एशोसीयट्स एजुकेसनका निर्देशक बालचन्द्र भट्टराईले भने, 'अस्ट्रेलियन सरकारलाई पनि यो उद्योग चलाउनु छ ,यसका लागि अन्तर्राष्ट्रय विद्यार्थी आवश्यक छ तर यो माहामारी कहिलेसम्म चल्छ भन्ने विषय महत्वपुर्ण हो।'