करिब पाँच लाखको हाराहारीमा हिन्दु धर्मालम्बी बसोबास गर्दै आएको अस्ट्रेलियाका विभिन्न शहरहरूमा दशैं पर्व भिन्न रुपमा मनाइयो।
कोरोनाको महामारीकाबीच धेरैले यसको अन्त्यको कामना गर्दै दशैं पर्वलाई हर्षोल्लासका साथ मनाए भने कतै आफन्तलाई सम्झदैं प्रतिबन्धको परिवन्दमा परिवारलाई सम्झेर दशैं कटाए।
करिब सत्तरी हजार नेपाली विद्यार्थी उच्च अध्यन गरिरहेको अस्ट्रेलियामा हिन्दुहरूको यस महान् चाड मनाउने क्रममा कोरोनाको प्रभाव उतिसारो नदेखिएपनि उडान र अन्तर राज्य सिमा प्रतिवन्धका कारण पनि धेरैले सपरिवार पर्वको खुसी बाँड्न पाएनन्।
हुन त आफन्तहरू यतै हुने कतिपय नेपालीहरूले यस पर्व हर्षोल्लासका साथ मनाएको पनि देखियो तर सबैको हकमा भने आर्शिवाद थाप्ने र खुसी बाड्ने काम अनलाइनमै सिमित भएको पाइयो।
यसै वर्षको मध्यतिर पिआर पाएका सुजन अधिकारीको जोडी नेपाल पुगेर दशैंलाई धुमधामका साथ मनाउने र अभिभावकको आर्शिवाद थाप्ने सोचमा थियो तर कोरोना भिलेन भएर आइदियो।
'जाने रहर पनि थियो र त्यसका लागि सम्पुर्ण तयारी पनि भइसकेको थियो। तर अर्को वर्षको योजना बनाउँदै यसपटक अनलाइनमै टिका थापियो' ,सुजनले सुनाए।
यस्तै हाल काठमाडौ बुढानलकण्ठकी सृजना लामाको पनि रह्यो।
'आफन्त नहुँदा दशैं उत्सवजस्तो लाग्दैन् रहेछ, दुई चार किलो खसीको मासु ल्याइयो, साथीभाइ बसेर दशैं भन्दै खाइयो', उनले भनिन्।
बल्ल बल्ल दशैंको दिन काममा छुटटी लिएर बसेका यी नेपाली विद्यार्थीहरूले भाइबर र फेसबुकको मेसेन्जर भिडियोलाई दशैंको माध्यम बनाए र नेपालमा रहेका अभिभावकवाट आर्शिवाद थापे।
हिन्दुत्वको प्रभाव जम्दैजाँदा अहिले अस्ट्रेलियामा पनि थुप्रै हिन्दु मन्दिरहरू स्थापना भैसकेका छन्।
विजया दशमीको दिन हिन्दु धर्मालम्बीहरूले आफुभन्दा ठुलाहरूसँग टिका थाप्ने र आर्शिवाद लिने परम्परा रहदै आएको छ। स्वस्थ्य र सुखी जीवनको कामना र प्रार्थनासँगै दक्षिणा समेत प्रदान गरिने चलन रहदै आएको छ।
'दशैंको दिन परदेशमा खासै रमाइलो भएन। नजिकका नातेदार पर्ने आफन्तको हातको टिका त लगाइयो तर नेपालमाझैं पिङ खेल्ने ,खसी काट्ने अनि आफन्तजनका टिका थाप्ने ,रमाइलो गर्ने काहा हुनु र ?', वुटवलका निश्चल शर्माले आफूले परदेशमा मनाएको दशैंको बेलिबिस्तार लगाए।
भन्छन्- काम र पढाइले दिमाग खाइरहेको बेला दशैंले पनि खासै छुँदो रहेनछ।
आफन्त र परिवारसँग दशैंलाई आफ्नो महान् पर्वका रुपमा मनाउँदै आएका ओलंघनका नेपाली व्यावसायी धर्मराज अधिकारीले विदेशमा बसेरपनि आफ्नो धर्म र संस्कृति जोगाउन पाउनु महत्वपुर्ण अवसरका रुपमा लिएको बताए।
दुइ छोरा र श्रीमती बिना पौडेल र आफन्तका साथ ओंलघंनमा दशैं पर्वलाई उल्लासका साथ मनाएका अधिकारीले यस पटक दशैं पर्वको आर्शिवाद दिर्घायु र सुस्वास्थ्यसँगै जोडिएको कोरोनाको अन्त्यको पनि कामना गरेको बताए।
'संसार कोरोनाले आक्रान्त छ। एक ठाउँबाट अर्को ठाउँ जान पाइएको छैन, नेपालमा रहेका अभिभावकको हातबाट टिका थाप्न जान पाइएन ,यस्तो अवस्थामा यस पटकको सबैभन्दा ठुलो आर्शिवाद भनेको चाँडो भन्दा चाँडो कोरोनाको अन्त्य पनि हो' ,एनआरएनका निवर्तमान ओसेनिया संयोजक अधिकारीले भने।
अस्ट्रेलियामा हिन्दुहरूको बाहुल्यता बढ्दै जाँदा दशैंमा खसीको मासुको बिक्रीले किर्तिमान ताडेको छ।
लगभग एक हजार रुपैयाँ किलोमा पाइने खसीको मासु माग बढ्दा त्यसको भाउ बढेर पन्ध्रसय रुपैया किलोसम्म पुगेको छ। यो मूल्यमा पनि निकै अभाव देखियो यसपटक।
वास्तवमै अस्ट्रेलियामा खसी बाख्राको मासु प्रचलनमा छैन्।
हिन्दुहरूको संख्या बढेसँगै यसको विक्रीवितरण पनि बढदै गएको छ। जंगलबाट खसी बाख्रा ल्याएर विक्री वितरण गरिने अस्ट्रेलियामा पछिल्लो केही वर्षदेखि खसी बाख्रा फार्महरू नै धमाधम सुरू हुन थालेका छन।
यस पटक करिब २० टन खसीको मासु आफुले मात्र विक्री गरेको नेपाली युवा व्यावसायी महेश प्रसाईं बताउँछन्।
बुचरी पढेर मासुको व्यावसाय गर्दै आएका ताप्लेजुङका यी युवाका अनुसार यस पटक मासु किन्न सयौंको लाइन नै लाग्यो।
चाड पर्वमा भिडभाड भएपनि यस पटकजस्तो अभावै भने कहिले नदेखिएको प्रसाईंको अनुभव छ।
उनले राजधानी क्यानबेरा र सीड्नी वरपरका क्षेत्रमा समेत खसीको मासुको निर्यात गर्ने गर्दछन्।
अस्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहाल समेत खसी लिन क्यानबेराबाट प्रसाइको एभरेष्ट बुचरी आइपुगेको उनले बताए।
'महामहिम समेत खसी किन्न आइपुग्नुभएछ , यो हो नी त हाम्रो पर्व र चाडबाडको रमाइलो अनि विशेषता', प्रसाईंले सुनाए।
हिन्दु धर्म मनाउने नेपालीको संख्या बढ्दैजाँदा दशैं, तिहार र अन्य पर्वहरू निकै धुमधामका साथ मनाइने चलन बढेको हिन्दु सोसाइटी अस्ट्रेलियाका संस्थापक सदस्य पन्डित प्रकाश ढोडारी बताउँछन्।
अहिले कोरानाको प्रभावका बिचपनि अस्ट्रेलियामा दशैं निकै धुमधामका साथ मनाइदै गरेको र आफुहरूको दिनचर्यापनि व्यस्त भएको पण्डित प्रकाशले सुनाए।
अचेल सिड्नीमा मात्र नभइ अस्ट्रेलियाभरी नै धार्मिक अनुष्ठानहरू र धर्म संस्कृतीका जर्गेना गर्ने कार्यमा निकै वृद्धि भैरहेको पण्डित प्रकाश बताउँछन्।
उनले नेपालको कोरोनाको पछिल्लो प्रभाव र अवस्थाका बारेमा भने चिन्ता व्यक्त गरे।
'खोइ ! नेपालतीर पो गारो भयो जस्तो छ', उनले देशको चिन्ता गर्दै भने।