अस्ट्रेलियाको राजधानी क्यानबेरामा क्रिकेटप्रेमी नेपालीहरू र पूर्व क्रिकेटरहरूको पहलमा बुद्ध नेप्लिज क्रिकेट क्लबको स्थापना भएको छ।
अस्ट्रेलियाका लागि नेपालका राजदूत महेशराज दाहालले एक कार्यक्रमबीच क्लबको विधिवत् उद्घाटन गरेका छन्।
नेपालबाट तीन पटक युवा विश्वकप क्रिकेट खेलिसकेका प्रेम चौधरीको अध्यक्षतामा गठन भएको सो क्लबले क्यानबेरा सिटीको ग्रेड वनको लिगमा समेत सहभागिता जनाउन पाउने भएको छ।
क्लबका खेलाडीहरूलाई जर्सी वितरणका साथ औपचारिक उद्घाटन गर्दै राजदूत दाहालले मुलुक चिनाउने महत्वपूर्ण माध्यमका रूपमा रहेको खेलकुद र क्लबहरू खुल्नु आफैंमा महत्वपूर्ण भएको बताए।
एउटा चर्चित व्यवसायिक खेलाडी जन्मेमा त्यसले विश्वभर मुलुकको पहिचान दिलाउने कुरामा दुईमत नरहेको बताउँदै राजदूत दाहालले सन्दीप लामिछानेले अस्ट्रेलियामा क्रिकेट खेल्दै गर्दा नेपाल र नेपालीको शान र मान बढेको उदाहरण पेश गरे।
क्लबको शुभारम्भमा बोल्दै क्यानबेराका नेपाली अभियन्ता कृष्ण हमालले खेलकुद स्वास्थ्यको लागि र खेलकुद राष्ट्रका लागि पनि महत्वपूर्ण विषय रहेको बताए। विदेशमा रहेर पनि खेलुकदको माध्यमबाट मुलुकको पहिचान दिलाउन लागि पर्ने युवा पिढीलाई सबैले सहयोग गर्नुपर्ने कुरा हमालले सुनाए।
एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष चुडामणि सापकोटाले नेपाली समुदाय बढ्दै गर्दा खेल क्षेत्रमा पनि महत्वपूर्ण फड्को मारेको बताए।
उनले एनआरएनले खेल क्षेत्रलाई सधैं प्राथमिकता भित्र राखेको र आवश्यक सहयोग गर्दै आएको बताए।
क्लबका अध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी प्रेम चौधरीले जुन देशमा रहे पनि आफूले जानेको सीपलाई बाँड्न सके यसले नयाँ पिढीमा उत्साह थप्नुका साथै अनुशासित र स्वस्थ बन्न समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
केही युवा खेलाडीहरूले आफ्नो प्रतिभा निखार्ने र अवसर प्राप्त गर्नसक्ने हुँंदा आफ्नो क्लबले यहाँको स्थानीय लोकल लिगमा समेत सहभागिता जनाएको चौधरीले बताए।
क्लबको विधिवत् स्थापना कार्यक्रममा व्यवस्थापक कृष्ण सुवेदी, टिम कप्तानमा अर्जुन केसीलाई जिम्मेवारी दिइएको, पब्लिक अफिसर कर्मा लामाले बताए।
क्लबको मुख्य प्रयोजक एभेरेष्ट एजुकेशन सह प्रायोजक आरके होम लोन र उपप्रायोजक एसएन्डएस एकाउन्टिङ तथा झोमालोङ्मा नेपाली रेस्टुरेन्ट रहेको सचिव अर्जुन ज्ञवालीले जानकारी दिए।