रक्तदान जीवनदान भन्ने नाराका साथ चितवन समाज अस्ट्रेलियाले सिड्नीमा एक दिने रक्तदान कार्यक्रम आयोजना गरेको छ।
सिड्नीको पश्चिमी क्षेत्र राउज हिलको परामाटा डोनर सेन्टरमा आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाली समुदायका अगुवाहरूको समेत बाक्लो उपस्थिति थियो।
कोभिडका कारण रगतको अभाव देखिएपछि रेडक्रसले आह्वान गरिरहेको बेला चितवन समाजले रक्तदान कार्यक्रम आयोजना गरेको चितवन समाज अस्ट्रेलियाका अध्यक्ष छवि सापकोटाले बताए।
पहिलो दिन समयको अभावले गर्दा दश जना नेपाली समुदायका व्यक्तिहरूले रक्तदान गरे।
अब अर्को शनिबार बाँंकी इच्छुक सदस्यहरूले रक्तदान गर्ने कार्यक्रम रहेको सापकोटाले बताए।
शनिबार एनआरएनका प्रवक्ता नन्द गुरुङ, चितवन समाजका अध्यक्ष छबि सापकोटा, सामाजिक अभियन्ता मुन शर्मा, लेख गुरुङ , समाजकी कोषाध्यक्ष सीता सुवेदी, शुशान्त शर्मा र प्रेम शर्मा लगायतले रक्तदान गरेका थिए।
‘कोभिडका कारण समाजले गर्ने कयैन सामाजिक तथा परोपकारी कार्य गर्न अप्ठ्यारो परिरहेको बेला रक्तदान गरेर भए पनि मानवीय सहयोगमा जुटौं भन्ने हाम्रो अभियान हो, यसलाई हामी निरन्तरता दिने छौं’,अध्यक्ष सापकोटाले कार्यक्रमको समाप्तिपछि सुनाए।