क्यानबेरा नेप्लिज फुटबल क्लबको आयोजनामा सञ्चालित राइट एन्ड एशोसियट्स दसैं कपको उपाधि मनकामना क्लबले जितेको छ ।
क्यानबेराको एएनयुको खेल मैदानमा संचालित दसैं कपको फाइनल खेलमा मनकामनाले टिम मुक्तिनाथलाई २-१को अन्तरले पराजित गर्दै उपाधि जितेको हो।
मनकामनाका लागि दुबै गोल राजन अर्यालले गरेका हुन्। यस्तै मुक्तिनाथको तर्फबाट भने एक गोल दिपेन्द्र अधिकारीले गरे।
उक्त प्रतियोगितामा टिम स्वयम्भूका वविन पौडेल उत्कृष्ट खेलाडी घोषित भएका छन्। यस्तै उत्कृष्ट गोल रक्षकमा अच्युत कार्की र सर्वाधिक गोलकर्ताको उपाधि राजन अर्यालले हात पारे।
प्रत्येक वर्ष नेपालीहरूको महान पर्व दसैंको अवसर पारेर आयोजना गरिँदै आएको यस प्रतियोगितामा सिड्नी र क्यानबेराको भेट्रान टोलीबीच मैत्रीपूर्ण खेलको समेत आयोजना गरिएको थियो।
कुल पाँच टिमबीच राउन्ड रोबिनमा खेलाइएको प्रतियोगितामा लिग कम फाइनलका आधारमा सम्पन्न भएको सिएनएपसीका सचिव किरण अधिकारीले बताए।
प्रतियोगिताको मध्यान्तरमा महिला तथा बालबालिका बीचको मैत्री खेलसमेत सम्पन्न भएको थियो। विजेताहरूलाई अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल ,क्यानबेरा नेपाली समाजका अगुवा कृष्ण हमाल , दुर्गादत्त कडेंल ,एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष चुडामणि सापकोटा, राइट एन्ड एसोसियट्सका निर्देशकद्वय बालचन्द्र भट्टराई र पिआर अधिकारी, एएनएफएसकी अध्यक्ष खुस्बु न्यौपाने लगायतले ट्रफी,पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।