प्रवासी जीवन सुइँको घडीसँगै दौड्ने गर्छ। अर्लाम र घडीको सुइँसँगै हुइँकन नसक्दा कति प्रवासलाई सरापेका छन्, धिक्कारेका छन्।
विश्वको सबल अर्थतन्त्र भएका मुलुकहरू अमेरिका,अस्ट्रेलियामा त झन् समयको खेल नै बेग्लै हुन्छ।
पैसा कमाउनको लागि स्वप्नदेश मानिने अस्ट्रेलिया र अमेरिकामा बस्ने नेपालीको जीवनशैली पनि घडीको सुइँ भन्दा कम छैन एक/दुई अपवादबाहेक।
स्रोतमा प्रचुरता र अलौकिक भूगोल अनि भौतिक विकासले पनि अस्ट्रेलिया सबैको आँखाको तारो बन्दै गए पनि जीवनशैली सहज भने छैन प्रवासमा।
समुन्द्रका किनारमा खिचिएका सुन्दर तस्वीर अनि गगनचुम्बी भवनमुनि कलेजी ओठलाई फोटोसपले लुकाएर फेसबुकमा पोष्ट गरिएका तस्वीरले स्वदेशमा फूर्ति बढाए पनि मनैदेखि खुसी भएकाहरू कमै देखिन्छन् यहाँ।
विद्यार्थी भएर छिरेका प्राय: नेपालीहरू अमेरिका र अस्ट्रेलियाजस्ता विकसित देशमा यस्तो ‘मायाजाल’मा फस्छन् कि न उम्कन सक्छन् न निक्लन नै।
प्रारम्भमा निकै कठिन विद्यार्थी जीवनपछि आवासीय भिसाको चक्करमा उनीहरूको लामो समय गुज्रिसकेको हुन्छ। केही बचाउ वा केही गरौं भन्ने बेलामा युनिभर्सिटीको फी तिर्दै सकिन्छ, जब आवासीय भिसा पाउँछन्, तब उनीहरू पारिवारिक र किस्तामा फसिसकेका हुन्छन्।
जाऊँ, कसरी जाऊँ, नजाऊँ मातृभूमिको न्यास्रो बीचको त्यान्द्रोले छोएपछि प्रवासको जीवन एनआरएनको नाममा टिकट काटिन्छ।
सुरूमा पैसा कमाएर स्वदेश फिर्छु भन्ने कैयैन् नेपालीहरू यस्तै यस्तै चक्करमा रुमल्लिएर प्रवासी भएको हामीले देखेका छौं। तर प्रवासी जीवनमा रमाउने पनि उत्तिकै छन् र धिकार्नेको पनि कमी छैन यहाँ।
व्यक्तिगत र आर्थिक सुरक्षा अनि काम गर्ने वातावरणका कारण पनि मानिसहरू स्वदेश फिर्न चाहन्नन्।
नेपालमा बस्ने भन्दा प्रवासमा बस्नेहरूलाई मुलुक प्राणभन्दा प्यारो हुन्छ। मानिस मुलुकको डाँडाकाँडा पाखा पखेरा अनि संस्कार र संस्कृतिमा लालायीत हुन्छन्, तर फर्कन उनीहरू सक्दैनन्।
यहाँ एउटा यस्तो जीवनमा दौडिसकेका हुन्छन्, जहाँ पूर्णविरामले उठिबास नै लाग्न सक्छ।
उमेर र शरीरले यहाँको जीवनशैलीलाई जित्न सक्नुपर्छ,जुन दिनका जितिँदैन त्यो दिन हारेको सिपाही झैं मुन्टो निहुँराउनबाहेक केही हुँदैन यहाँ।
हुन सक्छ यी कुराहरू केही नगन्य प्रतिशतमा लागू नहुन सक्छ तर लगभग शतप्रतिशतको भोगाइ यही नै हो प्रवासमा।
क्यास झिकेर घर किन्न सकिँदैन,किस्तामा सहजै पाइन्छ यहाँ। सुविधा थुप्रै छन् नागरिकलाई।
घर,गाडी,फर्निचर अनि आवश्यक सबै वस्तु किस्तामा सहजै पाइन्छ। तर किस्तामा बितेको जीवनले भने स्वतन्त्रता गुमाउँदो रहेछ, अनुभवले यस्तै देखाउँछ।
अब सबै जीवन किस्तामा चलेपछि त्यही अनुरूपको कमाउनु पर्यो, तिर्नुपर्यो, त्यसका लागि सोही अनुरूप काम गुर्नपर्यो अनि जुरूक्क उठेर कही जाऊँ, स्वदेश फर्किऊँ भन्ने सोचको अवसान त्यहीँ हुँदो रहेछ।
समग्रमा यसलाई बाध्यताको हाँसो भन्न सकिन्छ, लाइफ स्टाइल सहज छ, भौतिक तथा आर्थिक सुरक्षाको ग्यारेन्टी छ तर सबै चिज हुँदाहुँदै पनि एउटा चिज नभएको जस्तो हुन्छ त्यो हो-आफ्नोपन।
व्यवसायिक दक्षताकाआधारमा पाँच प्रतिशत नेपाली सुखी र खुसी देखिए पनि ९५ प्रतिशत मानिस आत्मसन्तुष्ट नरहेको तथ्यले देखाउँछ।
सामाजिक सम्पत्तिका रूपमा रहेको संस्कार र संस्कृति गुमाउँदै गएको परिस्थितिमा थुप्रै हाम्रो जस्तो साना मुलुकबाट आएका मानिसहरू अबको ३० वर्षमा स्वास्थ्य समस्याबाट पीडित हुनसक्ने छन्।
अहिले पैसाका लागि दिनरात नभनी काम गर्ने जमात अबको १५ वर्षमा रोगको चपेटामा पर्न सक्छन्।
पिआर, सिटिजनका लागि उपचार निःशुल्क भए पनि गम्भीर रोग लाग्दा धेरै कुरा गुमाउनु पर्ने हुन्छ।
विद्यार्थीहरू स्वास्थ्यको ख्याल नगरी दिनरात काम गरेको देखेको छु यो राम्रो होइन, यसले निकट भविष्यमा मानसिक र शारीरिक रूपमा निकै प्रभाव पर्छ। यतिखेर नेपालमा असाध्यै ट्रेन्ड बनेको छ- अस्ट्रेलिया।
बाबुआमालाई किचकिच गरेर लाखौं नगद बोकेर कन्सल्टेन्सीतिर धाउँछन् कलिला युवायुवती। घरबारी धरौटी राखेर होस् या खेतबारी बेचेर होस् भिसा लगाउँछन्। तर यहाँ के गर्ने प्रष्ट उद्धेश्य बोकेका भने कमै भेटिन्छन्।
मानिसहरू रहर वा बाध्यता या मौकाको खोजीमा नै विदेसिन्छन्। त्यसैले यसका लाभ र हानीका पक्षमा आ-आफ्नै तर्क र वितर्क पाइन्छन्।
तर प्रवासी जीवन सोचेजस्तो सहज र सम्झे जस्तो महान् अनि भनेको जस्तो कमाउ छैन भन्ने कुराको हेक्का भन्ने सबैले राख्नुपर्छ।
अन्तमा तारादेवीको एउटा गीतलाई सम्झेर प्रवासी जीवनलाई विट मार्न मन लाग्यो...
सोचे जस्तो हुन्न जीवन, सम्झेजस्तो हुन्न जीवन।
जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन।
पीडाहरू बटुलेर रोइरहुँ जस्तो लाग्छ।
खुसीहरू समेटेर हाँसीरहुँ जस्तो लाग्छ।