नेपाली समुदायका लागि विदेशी भूमिमा स्वास्थ्याेपचार महँगो मात्रै छैन, यो व्यवसाय पनि गह्रौँ छ।
त्यसमाथि यो सेवा अस्ट्रेलियामा अरु देशभन्दा केही अलग र फरक पनि छ। पिआर र नागरिकका लागि निशुल्क स्वास्थ्य उपचार भए पनि यहाँ अन्य भिषाधारीका लागि भने यो महँगो सेवा हो। विकसित पद्धति र उपचारमा सहुलियत रहे पनि चिकित्सा विज्ञानमा आशा, भाषा र भरोसाको महत्व बेग्लै हुन्छ।
नेपालीको उल्लेख्य उपस्थिति र प्रभावसँगै चिकित्सा सेवामा पनि केही नेपाली डाक्टर मिलेर मेडिकल सेन्टर स्थापना गरेपछि यतिखेर सिड्नीमा थुप्रै नेपाली अभिभावक र विध्यार्थीले राहत महसुस गरेका छन्।
नेपालीहरुको बाक्लो बस्ती भएको क्षेत्रका रुपमा चिनिएको अर्वन, ग्रानभिल नजिकै मेरिल्यान्डमा डा. प्रविण पाठक र सुरेन्द्र खनालले ‘रेलवे टेरेस मेडिकल सेन्टर’ खोलेका छन्। सो सेन्टरबाट नेपाली समुदाय लाभान्वित भएका छन्।
हुन त स्वास्थ्य जाँच गर्न सिड्नीमा प्रशस्त मेडिकल सेन्टर छन्। रेल्वे टेरेस भने नेपालीको लागि उपयुक्त क्लिनिक बन्न पुगेको छ।
मुख्यतः हजारौँको संख्यामा रहेका नेपाली अभिभावक र बिशेषगरी बिध्यार्थीका लागि सहज भएको छ। क्लिनिकले नेपाली विध्यार्थीहरुको हकमा बीमाले खर्च ब्यहोर्नेगरी चेकजाँच गर्न सक्ने सुविधा दिएको छ।
विध्यार्थीहरुले स्वास्थ्य जाँच गराउँदा बीमा बाहेक थप केही रकम तिर्नु पर्ने हुन्छ। नेपाली अभिभावकका लागि भने आपतविपत पर्दा वा भाषाको समस्या हुनेलाई समेत यो जाँच केन्द्र सहज बनेको छ।
नेपाल फर्कने अभिभावकको कोरोना टेष्टदेखि अन्य उपचारमा सहयोगी भावनामा आउन पाउँदा भाग्यमानी ठान्छन् डा. प्रविण पाठक।
‘कम्तिमा बिदेश आएर पनि सहयोगी भूमिकामा देखिन पाएका छौँ, अभिभावकको आशिर्वाद पाएर पनि होला’ डा पाठकले मुस्कुराउँदै भने ‘फरक परिवेश, भाषा र भेषका बीचमा पनि आफ्नोपनको न्यास्रो मेट्न पाउनुको महत्व बेग्लै हुँदोरदेछ, यसले भावानात्मक सम्वन्ध बोकेको पाएका छौँ।’
क्लिनिक सञ्चालनपछि आसपासका नेपाली समुदाय समेत खुसी छन्। ‘हामीलाई निकै सजिलो भएको छ, कम्तिमा आफ्ना समस्या खुलेर भन्न पाएका छौँ, विदेशमा बसेर पनि यस्तो सेवा पाउनु सकारात्मक हो’ ग्रानभिलका अभिभावक रुद्र केसीले भने।
भाषागत समस्याले कतिपय भन्न खोजेका कुरा समेत बुझाउन नसकिएको परिस्थिति रहेकाे अवस्थामा नेपाली चिकित्सकको क्लिनिक अत्यन्तै प्रभावकारी भएको केसीको भनाइ छ।
‘अंग्रेजी ‘स्टोमक पेन’ जस्ता शव्दले अन्य क्लिनिकमा यथार्थतालाई बुझाउन नसकेको अनुभव सुनाउँछन् हर्षभिल निवासी मनबहादुर न्यौपाने। ‘एक पटक तल्लो पेट कुटुकुटु दुखेको अवस्थालाई आफूले भन्न खोजेको आशयमा बताउन सकिनँ, बिदेशी डाक्टरले पेन किलर दिएर परीक्षणको लागि पठाए’ उनले भने।
यतिखेर करिब दुई सयको हाराहारीमा नेपाली चिकित्सक अस्ट्रेलियाभर छरिएर रहेको हुनसक्ने तथ्याङ्क भेटिए पनि नेपाली डाक्टरहरुको संयुक्त प्रयासमा क्लिनिक र प्याथोलोजी समेत संचालन भएको भने यो पहिलो हो।
‘हामीले विभिन्न क्लिनिकमा मेडिकल अभ्यास गरिरहँदा आफ्नो निजी खोल्ने सोच नबनाएको होइन’ डा. सुरेन्द्र खनालले भने ‘समय परिस्थितिले केही समय लाग्यो। नेपालीको बाक्लो उपस्थिति रहेको मेरिल्यान्ड क्षेत्रमा खोल्दा राम्रो हुन्छ भन्ने सोचका साथ अगाडि बढ्यौँ,अहिले हाम्रो प्रायास निकै राम्रो भएको छ।’
अस्ट्रेलियाको चिकित्सा क्षेत्रमा नेपाली डाक्टरको नाम गौरवका रुपमा लिने पनि गरिन्छ। नेपाली मुलका डाक्टर कुमुद धितालले मृत मुटु प्रत्यारोपणमा सफलता प्राप्त गरेर चिकित्सा विज्ञानमा चमत्कार गरेका थिए।
‘यो एउटा संयोग मात्र नभएर नेपाली समाजको उपलब्धी पनि हो, हाम्रो समाज फैलिँदै जाँदा हरेक क्षेत्रमा नेपाली व्यवसायीको बलियो उपस्थिति रहनु महत्वपूर्ण सफलता हो’, नेपाली कानुन व्यवसायी शम्सेरसिंह थापाले भने।