छैटौं संविधान दिवस अस्ट्रेलियाको सिड्नी र राजधानी क्यानबेरा लगायत शहरहरुमा भब्य रुपमा मनाइएको छ।
कोरोनाको प्रभावले विभिन्न कार्यक्रममा भौतिक उपस्थिति न्यून रहे पनि भर्चुअल बैठक मार्फत अस्ट्रेलियाका विभिन्न राजनीतिक दलका सांसद तथा सामाजिक अभियन्ताहरुले शुभकामना प्रदान गरेका थिए।
न्युसाउथवेल्स राज्यको महाबाणिज्यदूतावासमा आयोजित कार्यक्रममा बोल्दै लिबरल पार्टीका सिनेटर एन्ड्रयु बर्गले संविधान दिवसको उपलक्ष्यमा अस्ट्रेलियामा रहेका सम्पुर्ण नेपालीलाई बधाइ तथा शुभकामना दिए।
सिनेटर बर्गले अस्ट्रेलियाको सत्तारुढ पार्टी लिबरलमा पनि एक नेपाली युवा पिजे श्रेष्ठले संघीय सांसदको चुनाब लडेको स्मरण गर्दै दुई देश बीचको सम्वन्ध प्रगाढ रहेको बताए। बर्गले आफ्नो नेपाल जाने चाहना कोरोनाका कारण रोकिएको र निकट भविष्यमै भ्रमणको योजना बुन्ने बताए।
यसैगरी प्रतिपक्ष दल लेबरकी संघीय सांसद मिचेल रोलान्डले अस्ट्रेलियामा नेपाली समाज निकै सुन्दर र एकताबद्ध रहेका कारण पनि दुई देशबीचको आपसी सम्वन्ध बलियो बन्दै गएको बताइन्। उनले भनिन् ‘नयाँ संविधानले समृद्ध नेपालको चाहना पुरा होस भन्ने कामना गर्छौँ।’
जुम बैठक मार्फत सन्देश दिने क्रममा लेबर एनएसडब्लुकी नेता तथा सांसद जोडी मकायाले अस्ट्रेलियामा रहेका हजारौं नेपालीसहित अन्तर्राष्ट्र्रिय विध्यार्थीका हितका सवालमा आफूहरुको ध्यान आकृष्ट भएको बताइन्। अस्ट्रेलियामा नेपाली समाज फराकिलो बन्दै गर्दा दुई देशबीचको कुटनीतिक सम्वन्ध पनि विस्तार हुँदै जाने भएकोले नेपालसँग जोडिएका सबै विषय प्राथमिकतामा पर्ने गरेको मकायाले सुनाइन्।
कार्यक्रममा बोल्दै एनएसडब्लुका महाबाणिज्यदूत दिपक खड्काले संविधान दिवसलाई भब्य र सभ्य रुपमा मनाउने कार्यक्रम हुँदाहुँदै पनि समय र परिस्थितिका कारण थोरै मान्छेको उपस्थितिमा भर्चुअल रुपमा सम्पन्न गर्नु परेको बताए।
खड्काले विदेशी भूमिमा रहेर पनि संविधान दिवसलाई नेपाल डेका रुमपा मनाउन पाउनु गौरवको कुरा भएको बताए। नयाँ संविधानले समृद्ध नेपाल, सुखी नेपाली अभियानको चाहना पुरा हुनेमा आफू बिश्वस्त रहेको खड्काले बताए। खड्काले कार्यालयमा नेपालको झण्डोत्तलन गरेका थिए।
कार्यक्रममा बोल्दै एनआरएनका केन्द्रीय उपाध्यक्ष मन केसीले विदेशी भूमिमा रहेर पनि चन्द्रसूर्यअंकित झण्डामुनि संविधान दिवस मनाउन पाउनु गर्वको विषय रहेको बताए।
यस्तै अस्ट्रेलियाका कानुन व्यवसायी शम्सेर सिंह थापाले दिवस मनाउँदै गर्दा संविधान कार्यान्वयनको पक्षलाई ध्यान दिनुपर्ने बताए। थापाले भने ‘संविधान त बनायौँ तर कार्यान्वयनका कतिपय पक्षमा हामी गम्भीर नभएको पाएका छौँ, त्यसतर्फ ध्यान दिइयो भने बल्ल संविधान दिवस मनाएको सार्थक हुने थियो।’
कार्यक्रममा सामाजिक अभियन्ता भवानी ओलीले नयाँ संविधान ऐतिहासिक र मुलकको मुहार फेर्ने दस्तावेज भएकोले विदेशमा बसेर पनि यो दिवस मनाउँदा गर्व महसुस भएको बताए।
एनआरएन अस्ट्रेलियाका निर्वतमान अध्यक्ष गोवा कटुवाललले संविधान दिवसले अस्ट्रेलियामा बस्ने सबै नेपालीलाई एकताबद्ध हुने मौका प्रदान गरेको र प्रवासी नेपालीको हक हितमा समेत उल्लेख्य कदम चालिएकोमा खुसी ब्यक्त गरे।
कार्यक्रममा पत्रकार संघ अस्ट्रेलियाका सल्लाहकार सन्चारकर्मी मनऋषी धिताल, एनआरएनकी संरक्षक इन्द्रा वन, एनआरएनका उपाध्यक्ष देब गुरुङ, आइसिसी सदस्य जानकी पौडेल, एनआरएन प्रवक्ता नन्द गुरुङ, ओएनएफका अध्यक्ष रमेश पाण्डे, लगायतले संविधान दिवसको उपलक्ष्यमा आ आफ्ना धारणा ब्यक्त गरेका थिए। कार्यक्रम एनआरएन ओसेनियाका संयोजक होम पाण्डेले सञ्चालन गरेका थिए।
यसैगरी क्यानबेरास्थित नेपाली राजदूतावासले पनि केही सीमित व्यक्तिको उपस्थितिमा संविधान दिवस मनाएको छ। अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले संविधान दिवसको अवसरमा शुभकामना आदान प्रदान गरेका थिए। कार्यक्रममा एनआरएनका पूर्व अोसेनिया संयोजक धर्मराज अधिकारी, एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष चुडामणी सापकोटा, समाजिक अभियन्ता कृष्ण हमाल लगायतको उपस्थिति थियो।