देशको नागरिक बन्न भेषभुषा र मूल्यमान्यता अंगिकार गर्न जान्नु पर्ने भन्दै अस्ट्रेलिया सरकारले आगामी नोभेम्बरदेखि लागु हुने गरी नागरिकताको परीक्षामा केही परिवर्तन गर्ने भएको छ। दश वर्षपछि नागरिकता परीक्षामा पहिलो पटक ठूलो परिवर्तन गर्न लागिएको हो।
यसै साता नागरिकता दिवसका उपलक्ष्यमा आयोजित कार्यक्रममा अध्यागमन मन्त्री एलन टजले उक्त कुरा सार्वजनिक गरेका हुन। नोभेम्बर १५ देखि लागु हुने नागरिकताको नयाँ परीक्षामा अस्ट्रेलियाको मूल्य र मान्यताका आधारमा रही महत्वपूर्ण पाँच प्रश्न थपिने छन्। जुन प्रश्न नागरिकता प्राप्तिका लागि महत्वपूर्ण पाटोको रूपमा रहने छन्।
‘यस देशको नागरिक बन्न हाम्रो अस्ट्रेलियाली मूल्य मान्यता जान्नु महत्वपूर्ण रहन्छ,’ मन्त्री टजले भनेका छन्,'हाम्रो देश निमार्णमा महत्वपूर्ण भूमिका खेल्ने र सहयोग गर्ने व्यक्तिहरू नागरिकता लिन चाहन्छन् भने उनीहरूले यस देशको मूल्य र मान्यता पनि जान्नु जरूरी पर्ने छ।'
नयाँ परीक्षामा सम्भावित नागरिकहरूलाई अस्ट्रेलियाका मूल्य मान्यताहरू जस्तै, अभिव्यक्ति स्वतन्त्रता, आपसी सम्मान, अवसरको समानता, लोकतन्त्रको महत्व र कानुनी शासनका बारे बुझ्नु पर्ने हुन्छ।
“नागरिकताका लागि आवेदन दिनेहरूले हाम्रो मुलुकप्रति अन्तिम प्रतिवद्धता जनाउनुअघि हाम्रा मूल्य मान्यतालाई अझ गहिरोसँग बुझ्न आग्रह गरेका हौं,’ मन्त्री टजले भने।
परिवर्तित नागरिकता परीक्षामा २० वैकल्पिक प्रश्न समावेश हुने छन्। तीमध्ये अस्ट्रेलियाली मूल्य मान्यतासम्बन्धी पाँच नयाँ प्रश्न पनि रहने छन्। परीक्षा पास गर्न आवेदकले कम्तिमा ती पाँचै प्रश्नको सही उत्तरसँगै ७५ प्रतिशत अंक ल्याउनु पर्नेछ।
नागरिकताका लागि अंग्रेजी भाषाका विषयमा भने कुनै परिवर्तन हुने छैन।
यस वर्ष पाँच हजार नेपालीले पाए पिआर
अस्ट्रेलियाको संघीय सरकारद्वारा प्रकाशित वार्षिक आप्रवासी कार्यक्रम प्रतिवेदनको आंकडा अनुरूप सन २०१९ र २० मा कुल पाँच हजार ४८ नेपाली नागरिकले अस्ट्रेलियाको स्थायी भिसा (पिआर) पाएका छन।
तीमध्ये ४ हजार ६ सय ६६ नेपालीले दक्ष आप्रवासी वर्गअन्तर्गत अस्ट्रेलियाली स्थायी भिसा पाएका हुन् भने बाँकी ३ सय ८२ जनाले पार्टनर तथा बालबालिकाका रूपमा पिआर पाएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले वार्षिक रूपमा नेपाली नागरिकले अस्ट्रेलियाली स्थायी भिसा पाउने संख्यामा वृद्धि भएकोसमेत उल्लेख गरेको छ।
अहिले अस्ट्रेलियामा करिब ६३ हजार नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनमा रहेका छन्।