शैक्षिक परामर्शदाताहरूको छाता संगठन अस्ट्रेलियन एजुकेसन कन्सल्टेन्सी एलाइन्स (एका)ले कोभिड-१९ को प्रभावका कारण समस्यामा परेका डेढ सय नेपाली विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा एकाले राजदूतावासको सहयोग र प्रत्यक्ष निगरानीमा समस्यामा परेका विद्यार्थीहरूलाई आर्थिक सहयोग गर्नुका साथै केही नेपाली विद्यार्थीहरूलाई नेपाल पठाउन हवाइ टिकटको व्यवस्था गरेको समेत विवरण सार्वजनिक गरेको हो।
विद्यार्थी सहयोग कार्यक्रममा कुल ५७ हजार डलर संकलन भएको र ४१ हजार दुई सय पचास डलर सहयोगमा खर्च गरिएको एकाले हिसाब सार्वजनिक गरेको छ।
कार्यक्रममा अस्ट्रेलियाका राजदूत महेशराज दाहालले सहयोगको रकम के कति भए पनि एकाले आफ्नो जिम्मेवारी महशुस गर्दै विद्यार्थीको सहयोगमा देखाएको तत्परता महत्वपूर्ण रहेको बताए।
राजदूत दाहालले राजदूतावासमा सहयोगका लागि आएका विद्यार्थीहरूको आवेदनका आधारमा एक सय पचास जना अत्यन्तै समस्यामा परेका विद्यार्थीलाई एकाको तर्फबाट सहयोग गरिएको र अन्यको हकमा एनआरएन लगायतका संघ संस्थाको पहलमा सहयोग गरिँदै आएको बताए।
राजदूत दाहालले कोरोनाको पछिल्लो प्रभावमा करिब १८ सय विद्यार्थीले राजदूतावासमा सहयोगको लागि आवेदन दिएको र त्यसमध्ये सम्भव भएसम्म सबैलाई विभिन्न माध्यमबाट सहयोगको व्यवस्थापन गरिएको बताए।
विश्वव्यापी कोरोना प्रभावले थलिएको बेला अस्ट्रेलियामा पनि समस्याका चाङहरू रहे पनि राजदूतावासले दैनिक १५ ,१६ घन्टा काम गरेर भए पनि सहयोग गरेको दाहालले बताए।
कार्यक्रममा एनएसडब्लुका महावाणिज्यदूत दीपक खड्काले संसारका सबैस्थानमा कोरोनाको प्रभाव र अभाव रहेको बेला अस्ट्रेलियामा नेपाली समाजले देखाएको चासो र सहयोगको कार्य प्रंशसनीय रहेको बताए।
एकाका अध्यक्ष पिआर अधिकारीले व्यवसायिक संस्थाका रूपमा रहेको एकाले आफ्नो दायित्वका रूपमा गर्नुपर्ने कामको सुरूआत मात्र गरेको बताए।
‘विद्यार्थीको अभिभावकका रूपमा रहेको एकाले आफ्नो पहिलो धर्म निर्वाह गर्नेक्रममा विद्यार्थीहरूलाई सहयोग गरेको हो, यो निरन्तर चलिरहने छ’, अधिकारीले भने।