अन्य मुलुकमा गएका बेला कोरोना भाइरसका कारण उतै अड्केर समस्यामा परेका अस्ट्रेलियन नागरिकलाई संघीय सरकारले स्वदेश आउन सहायता स्वरूप ऋण उपलब्ध गराउने भएको छ।
कोरोनाभाइरसका कारण विदेशमै अड्केर बस्न बाध्य अस्ट्रेलियन नागरिकका समस्याका बारेमा बोल्दै परराष्ट्र मन्त्री मरिस पेनले आर्थिक रूपमा कमजोर तथा असुरक्षित रहेकालाई ‘ट्राभलर इमर्जेन्सी लोन’ कार्यक्रमबाट यात्रु आपतकालीन ऋण प्रदान गरिने बताएकी हुन्।
पछिल्लो सर्वेक्षणले जनाएअनुरुप करिब तीस हजार भन्दा बढी अस्ट्रेलियन नागरिक यतिबेला विविध कारणले अन्य देशहरुमा छरिएर रहेका छन्।
जसमध्ये करिब पचास जना नेपालमा समेत छन्। कतिपय कामका दौरान र कतिपय घुमघामका कारण समस्यामा फसेका हुनसक्ने भएकोले स्वदेश फर्कन ट्राभलर इमर्जेन्सी लोन प्रदान गरिने भएको हो।
“यो सहायता ऋणका रुपमा एक पटकका लागि प्रदान गरिने छ, आपतकालीन खर्च गर्न र अस्ट्रेलिया फिर्ता हुन सक्षम नभएसम्म उपलब्ध हुनेछ,’ मन्त्री पेनले जानकारी दिइन्।
तर, यसरी सरकारी ऋण लिन भने सरकारले तोकेका केही आधारभुत शर्त पुरा गरेको हुनुपर्दछ। बिदेशमा बसेर अस्ट्रेलिया फर्कन प्रयास गरेको अनि आर्थिक समस्यामा परेको प्रमाण पेश गर्नुपर्ने हुन्छ।
यो ऋण साहयताका लागि अस्ट्रेलियाली नागरिक भएको हुनुपर्ने र १८ वर्ष पुरा भएको तथा उनका नजिकका नातेदार पिआर भए उनीहरुको नाम समेत समावेश गर्न सकिने छ।
आवेदन दिनेले आर्थिक सहयोगका लागि व्यावहारिक प्रयास गरेको हुनुपर्ने छ। कोरोनाभाइरस महामारी सुरु भएयता हालसम्म झन्डै ३ लाख ७९ हजार अस्ट्रेलियालीहरू स्वदेश फर्किसकेका छन्।
विदेशमा अस्थायी रूपमा रहेका, चिकित्सा वा अन्य कारणले तुरुन्तै अस्ट्रेलिया फर्कनु पर्ने भएपनि यो सहयोग प्राप्त हुनेछ।
बस्ने स्थान सुरक्षित नभएको अनि अस्ट्रेलिया फर्कनको लागि टिकट खरिद नगरुन्जेल आश्रय स्थलको खोजी लगायतका विविध समस्याका लागि पनि यो सहायात ऋण प्राप्त हुने परारष्ट्र मन्त्री पेनले जानकारी गराइन्। त्यस्तै हवाइ उडान उपलब्ध नभएका र सम्वन्धित राज्यको लकडाउनमा फसेका अस्ट्रेलियनहरुले पनि यो सहयोग प्राप्त गर्न सक्ने छन्।