अस्ट्रेलियाली तथ्याङ्क विभागले जारी गरेको पछिल्लो आँकडा अनुसार देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) ६.३ प्रतिशत ओरालो लागेको छ।
जुन महिनासम्मको पछिल्लो त्रैमासिक विवरणअनुसार ६. ३ प्रतिशतले आर्थिक ह्रास भएको पाइएको हो।
यसले अस्ट्रेलिया तीस वर्षयताकै ठूलो आर्थिक मन्दीको चपेटामा परेको पुष्टि भएको छ। कुनै पनि दुई लगातारका त्रैमासिक अवधिमा जिडिपी ऋणात्मक वृद्धि भएमा त्यसलाई आर्थिक मन्दीको रूपमा बुझिन्छ।
अघिल्लो मार्चसम्मको त्रैमासिक अवधिमा अस्ट्रेलियाली अर्थतन्त्र ०. ३ प्रतिशतले घटेको थियो।
अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस)ले जुनसम्मको त्रैमासिक आँकडा बुधबार जारी गर्दै अस्ट्रेलियाको अर्थतन्त्र खुम्चिएको जनाएको हो।
विभागले अर्थतन्त्र ओरालो लाग्नुमा विश्वव्यापी महामारी र त्यसको रोकथामका लागि चालिएका कदमहरूलाई जिम्मेवार ठहर्याएको छ।
'सन् १९५९ मा त्रैमासिक रूपमा जिडिपीको विवरण राख्न थालिएपछि ३० वर्षयताकै यो त्रैमासिकको सबैभन्दा ठूलो अन्तरले कुल गार्हस्थ उत्पादनमा देखिएको ह्रास हो,' विभागले बुधबार बिज्ञप्ती जारी गर्दै भनेको छ।
अघिल्लो त्रैमासिक अवधिमा स्थानीयले घरेलु खर्चमा अत्यधिक कटौती गरेको देखिएको छ।
अस्ट्रेलियाका अर्थमन्त्री जोस फ्राइडेनबर्गले पछिल्लो जिडिपी आँकडाबारे बोल्दै कोरोनाभाइरस संकटका कारण अर्थतन्त्रमा विनाशकारी प्रभाव देखिएता पनि यस कठिन परिस्थितिबाट निस्कने प्रयास भैरहेको बताएका छन्।
'संघीय सरकारले कोरोनाभाइरसको सङ्कटमा अस्ट्रेलियालीलाई आर्थिक मन्दीको प्रहारबाट बचाउने हर सम्भव प्रयास गरिरहेको छ तर
प्रकाशित आँकडाहरूले कोभिड १९ बाट अस्ट्रेलियाको अर्थव्यवस्थामा विनाशकारी प्रभाव पुगेको पुष्टि गरेको छ,' फ्राइडनबर्गले बताएका छन्।