अस्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीमा संख्याका हिसावले तेस्रो ठूलो हिस्सा नेपालले ओगटेको छ। अध्यागमनको तथ्यांक अनुरुप हाल ६३ हजार नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययनमा छन्।
पछिल्लो मार्च महिनादेखि मे महिनासम्म युनियन्स एनएसडब्लुले अस्ट्रेलियामा गरेको सर्वेक्षणमा ६७ प्रतिशत विद्यार्थी भिषामा रहेकाहरु समावेश थिए।
जुन सर्वेक्षणमा ६५ प्रतिशतले आफ्नो जागिर गुमाएको बताएका थिए। यसमा ६० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी थिए। ३९ प्रतिशतसँग भने आफ्नो आधारभूत खर्च ब्यहोर्न समेत कठिनाइ रहेको पाइएको सर्वेक्षणमा उल्लेख गरिएको छ।
अस्थाइ भिषामा रहेका आम नागरिकलाई राज्यले सहयोग प्रदान नगर्दा उनीहरुको अवस्था कमजोर हुँदै गएको युनियन्स एनएसडब्लुका सचिब मार्क मुरेले जनाएका छन्। ‘यहाँ आउन प्रोत्साहन गर्ने अनि राज्यले कर लिने भएकाले समस्यामा परेका अस्थाइ भिषाधारीलाई सहयोग गर्नुपर्छ भन्ने हाम्रो सोच हो’ उनले भनेका छन्।
यस्तै कोभिड १९को समस्याका दौरान सिड्नीका सिड्नी युनिभर्सिटी अफ टेक्नोलोजी र युनिभर्सिटी अफ न्यु साउथवेल्सले गरेको सर्वेक्षणले पनि आगामी महिनाहरुमा अस्थायी भिषाधारीहरुमा आर्थिक समस्या बढ्न सक्ने सम्भावना रहेको देखाएको छ।
भिक्टोरियामा कोरोनाको दोस्रो वेभ सुरु भएयता त्यहाँ पनि विध्यार्थीहरुमा संकट चुलिदै गएको छ। दोस्रो ठूलो नेपाली विद्यार्थीको बसोबास रहेको भिक्टोरिया राज्यमा लकडाउन र अहिले केही दिनदेखि बन्दाबन्दीले विद्यार्थीमा मानसिक तनाब बढाउँदै लगेको एनआरएन भिक्टोरियाका संयोजक प्रेम कडेंल बताउँछन्।
कोरोनाको पहिलो वेभमा एक हजार नेपाली विद्यार्थीले आर्थिक समस्यामा परेको बताएका थिए। त्यतिबेला एनआरएन र अन्य संघ संस्थाले राहत उपलब्ध गराएका थिए। अहिले केही दिनमै दोस्रो वेभका कारण पाँच सय विद्यार्थीले निकै समस्यामा परेको उल्लेख गरेका छन्।
भिक्टोरियामा मात्र यतिखेर एक सय भन्दा बढी नेपाली विद्यार्थी कोरोनाबाट संक्रमित भएको र उनीहरुलाई समेत विशेष व्यवस्थापन गरिएको संयोजक प्रेम कडेंलले बताए। कोरोना संक्रमितहरुलाई निशुल्क होटल क्वारेन्टिन र खाना तथा औषधि उपचारको व्यबस्था समेत गरिएको कडेंलले सुनाए।
यस बाहेक पनि अन्य राज्यहरुमा समेत नेपाली विद्यार्थी लगायत अस्थाइ भिषामा रहेकाहरुको अवस्था राम्रो भने छैन। पछिल्लो एक महिनादेखि काममा जाने अवस्था पनि छैन। दुई हप्तादेखि राज्यले हिँडडुलमा समेत प्रतिवन्ध लगाएको छ। ‘यस्तो अवस्थामा कमाएर खाने विद्यार्थी वर्ग प्रभावित हुने नै भए ’, मेलवर्नका समाजिक अभियन्ता देबेन्द्र बस्नेतले भने।
‘विद्यार्थी घर बाहिर निक्लन सकेका छैनन् यस्तो अवस्थामा महँगो भाडा, फीले उनीहरुलाई सताउने नै भयो’ बस्नेतले थपे। कोरोनाको प्रभावले धेरै उद्योगधन्दा प्रभावित छन् जसका कारण कुनै न कुनै तवरमा अस्थाइ भिषाधारी प्रभावित भएका छन्। यहाँका नागरिक र पिआरधारीलाई भने सरकारले आकर्षक राहतको प्याकेज प्रदान गरेको छ।