विदेशमा अलपत्र परेकालाई उद्धार गर्ने नाममा अहिले निजी ट्राभल एजेन्सीहरुले मनलाग्दी शुल्क लिएर चार्टर्ड उडान गर्ने गरेको पाइएको छ।
विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन चार्टर्ड उडानमा चर्को शुल्क लिएको भन्दै सरकारले पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा छानविन समिति गठन गरे पनि अहिलेसम्म समाधानका लागि पहल भएको देखिँदैन।
कोभिड १९का कारण पछिल्लो समय उडानमा कडाई गरिएता पनि सम्वन्धित मुलुकका दूतावासले समेत पत्तो नपाई विभिन्न ट्राभल एजेन्सीले सरकारसँग उडान अनुमति लिने र मनपरी भाडा असुल्ने काम भैइरहेको पाइन्छ।
गठित छानविन समितिले प्रतिवेदन बुझाए पनि सो प्रतिवेदन सार्वजनिक नगर्ने र बदमासी गर्नेलाई कारबाही समेत नगरिनुले यस प्रकृयामा मिलेमतो समेत भएकाे हुन सक्ने आशंका बढेकाे छ।
यतिखेर अस्ट्रेलियामा पनि विभिन्न वहानामा केही नेपालका चिरपरिचित ट्राभलहरुले स्वदेश पठाउने अनुमति लिएर पहिलेभन्दा बढी भाडा असुल्न थालेका छन्।
यसअघि नेपाल एयरलाइन्स, सिंगापुर र मेलिन्दाेले करिब एक हजार नेपालीलाई स्वदेश फर्काइसकेका छन्। त्यस कार्यमा भने अस्ट्रेलियास्थित नेपाली राजदूतावासको पहलमा एनआरएनको संयोजनमा चार्टर्ड तथा सेमी चार्टर्ड उडान भएका थिए।
'हाम्रो सोच भनेको समस्या परेर नेपाल फर्कन चाहनेहरु ठगिनु हुँदैन भन्ने हो। १६ सय २५ देखि १६ सय ५० अस्ट्रेलियन डलरमा नेपाली स्वदेश फर्किरहेका बेला एकाएक डेढ सय बढाएर टिकट बेचिँदैछ, जुन गलत छ', एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कडेंलले भने, 'पहिलो कुरा त जिम्मेवार ट्राभल एजेन्सी हुनुपर्यो, भोलि पैसामा तलमाथि भयो भने त्यसको जिम्मेवारी कसले लिने?'
सरकारले स्पष्ट रुपमा सम्वन्धित राज्यको दूतावासको सिफारिसमा मात्र यस्ता उडान हुने भनेता पनि कतिपय सवालमा दूतावासले थाहै नपाई ट्राभलहरुले अनुमतिपत्र बोकेर हिँडेकाे अध्यक्ष कडेंलले बताए।
यहीँ आउँदो २८ तारिखमा अस्ट्रेलियाबाट नेपालका लागि सेमी चार्टर्ड उडान गर्न नेपालको सितारा ट्राभलले अनुमति पाएको छ, धमाधम टिकट बिक्री वितरण भैरहेको छ। तर यस विषयमा अस्ट्रेलियास्थित नेपाली दूतावासले खुलेरै आफूलाई थाहा नभएको प्रतिक्रिया दिएकाे छ।
पछिल्लाे अनुमति प्राप्त चार्टड उडानका बारेमा यताबाट कुनै पत्राचार नगरिएकाे र अनुमति प्राप्त भएपछि मात्र थाहा भएकाे दूतावास स्राेतले जनाएकाे छ।
यस पटक सिताराले अन्य उडानभन्दा एक सय डलर बढी भाडादर समेत तोकेको छ, जसले मिलेमताेकाे शंका बढाएकाे छ। 'यो साच्चिकै उदेकलाग्दो विषय हो, सरकारी नियोगको रुपमा रहेको दूतावास यस्तो विषयमा गम्भीर हुन जरुरी छ, उडान महंगो हुनुको तात्पर्य के हो?' जनसम्पर्क समिति न्यु साउथवेल्सका अध्यक्ष इथान शाक्यले भने।
इथान भन्छन् 'सम्वन्धित दूतावासले यस्ता विषयको अनुगमन गर्नु पर्छ, नत्र यो सरासर ठगी हो।'
अस्ट्रेलियामा केही समयअघि मात्र ठगी काण्डमा परेकाे एक ट्राभल एजेन्सी समेत यस्ताे चार्टर्ड उडानमा सहभागी देखिएकाे छ।
एनआरएन अस्ट्रेलियाका महासचिव डा ज्ञानेन्द्र रेग्मी सरकारको हेलचेक्राइँ र मनोमानीका कारण विदेशमा अलपत्र नेपालीले सास्ती भोग्नु परेको बताउँछन्।
नीतिगत रुपमा सम्वन्धित दूतावास र विश्वसनीय साझेदारका रुपमा रहेको एनआरएनजस्ता संस्थाहरुसँग सहकार्यमा राज्यले उद्धार उडान गर्नुपर्नेमा मन्त्रीको तजबिजमा ट्राभल एजेन्सीलाई अनुमति बाँडेका कारण समस्या आइपरेको रेग्मीले बताए।
'क्याबिनेटबाट सम्वन्धित दूतावासको सिफारिस अनिवार्य चाहिने भनिन्छ तर दूतावासलाई अनुमति पाएको थाहै हुँदैन,' रेग्मीले सुनाए।