थातथलो दोलखा भए पनि रौतहट बसाइँ सरेका निरोज कार्कीले सिड्नीको अर्वनमा ‘क्याटमान्डु मिक्स बिजनेस’ नामक किराना पसल खोलेको एकवर्ष मै तीनपटक लुटेराको सामना गर्नुपर्यो।
पहिलो पटक पसल खोलेको केही महिनामै गत वर्षको अक्टोबरमा लुटेराले किराना पसल लुट्ने प्रयास गरे। त्यतिबेला उनले यसलाई लागुपदार्थ दुर्व्यसनीहरूको काम हुन सक्ने भन्दै प्रहरीलाई खबर त गरे।
त्यसको केही महिनापछि जुन महिनामा एक जनाले साँझ पखनै पसलमा आएर नगद लुट्ने प्रयास गर्यो। त्यतिबेला पसलमा बसेकी पवित्रा कार्कीले चक्कुले लखेटेर लुटेरा भगाइन्। त्यतिबेला उनको निकै चर्चा भएको थियो। पवित्राको बहादुरीको कथा अस्ट्रेलियन टेलिभिजनलगायत पनि प्रसारण गरे। एउटी नेपाली युवतीले विदेशी भूमिमा लुटेराको सामना गरेर भगाउनु आफैंमा बहादुरीको कुरा थियो तर अर्कोतिर त्यो खतराको संकेत पनि थियो।
पवित्राले एक्लैले लुटेरा भगाएको सात दिन बित्न नपाउदै पुन: पसलमा चार जना लुटेराको हुल आएर साँझ क्यास बक्स बोकेर भागे।
प्रत्येक पटक पसलमा भएको घटनालाई उनीहरूले सिसिटिभी फुटेजसहित प्रहरीमा रिपोर्ट पनि गरेका छन्। तर हुडी र मास्कमा आएका लुटेरालाई पहिचान गर्न प्रहरीलाई पनि मुश्किल भएको छ।
तेस्रो घटना भएको केही हप्ता बित्न नपाउँदै अस्ट्रेलियन प्रहरीको अर्वन ब्युरोले स्थानीय टेलिभिजनमा अर्वन क्षेत्रमा दिनदहाडै हुने गरेका यस्ता लुटपाटमा संलग्नको पहिचान गर्न सहयोगका लागि आम समुदायमा अपील समेत गरेको छ ।
लुटपाटभन्दा पनि यस्तो प्रवृत्तिका घटना बारम्बार दोहरिँदा सुरक्षाको विषयमा गम्भीर हुनुपर्छ भनेर पसलका सञ्चालक निरोज यतिखेर आफैं पसलमा समय दिने गरेका छन्।
दिनरात दोहोरो मानिस आवतजावत गर्ने अर्वनको ट्रेन स्टेसनबाट सय मिटरको दूरीमा रहेको यो पसलमा भएका घटनाका बारेमा सन्चालक निरोज आफैं तीनछक छन्।
यो संयोग हो कि नियोजित बुझ्न कठिन भएको छ।
सिड्नी क्षेत्रमा नेपाली विद्यार्थीहरूको सबभन्दा बाक्लो बसोबास रहेको यो क्षेत्रमा नेपालीहरूकै आधा दर्जन रेष्टुरेन्ट र त्यतिकै संख्यामा किराना पसल छन्। जसमा वाइवाइदेखि डल्ले खुर्सानी र फापरको पीठो अनि टिमुरसम्म सबै उपभोग्य सामान पाइन्छ।
‘हामी व्यवसाय गर्ने साथीहरूलाई यो घटनाले सजग भएर बस्नु पर्ने सन्देश पनि गएको छ। हामी अस्ट्रेलियामा के हुन्छ भनेर निर्धक्क भएर बस्छौं तर त्यसो होइन, हरेक उन्नत समाजमा पनि खराब पक्ष लुकेको हुन्छ भन्ने विषय हामीले बुझ्नु पर्छ। पैसा दुई चार सय डलर लुट्ने कुरो ठूलो होइन, नहोला पनि। तर भोलि ज्यानकै सुरक्षाको सवालमा तलमाथि हुन सक्छ,त्यसैले यस विषयमा गम्भीर हुनुपर्छ भन्ने पाठ भने सिकाएको छ’, निरोजले भने ।
अर्वन नेपाली समाजका अध्यक्ष अशोक उप्रेती यस्ता घटनाले नेपाली व्यवसायीलाई सुरक्षाको विषयमा सशंकित बनाएको बताउँछन्।
‘यसरी लगातार लुटपाटका घटना घट्दै जाँदा व्यवसायिक तथा व्यक्तिगत सुरक्षामा समेत सजगता अपनाउनु पर्ने बेला देखिएको छ। सबैभन्दा पहिलो कुरा भनेको व्यक्तिगत सुरक्षा हो, यसमा ध्यान दिनुपर्ने जरूरी मैले देखेको छु त्यसपछि व्यवसायिक सुरक्षामा ध्यान दिनुहोला’, उप्रेतीले भने।