अस्ट्रेलियामा अलपत्र परेका र आपत विपतमा फसेका १ सय ६० जना नेपालीलाई लिएर मेलिन्डो एअरलाइन्सको विमान बिहीबार साँझ ६ बजे सिड्नीबाट काठमाडौं प्रस्थान गरेको छ।
एनआरएन अस्ट्रेलियाको पहल तथा स्थानीय संघ संस्थाको सहयोगमा गरिएको चार्टर्ड विमान सिड्नीबाट क्वालालम्पुर हुँदै शुक्रबार बिहान सवा ६ बजे काठमाडौं पुग्नेछ।
प्राय: अस्ट्रेलियामा छोराछोरी भेट्न आएका अभिभावक र आपत विपतमा रहेका नेपालीलाई प्राथमिकताका आधार मानेर एनआरएन अस्ट्रेलियाले उद्धार उडानमा यात्रु निर्धारण गरेको थियो।
नेपाल जान चाहनेहरूको आवेदन र बाक्लो उपस्थिति हेरेर एनआरएन अस्ट्रेलियाले राजदूतावासको सहयोगमा फेरि आगामी ६ अगष्टमा पनि नेपालका लागि सिंगापुर एअरलाइन्सको सेमी चार्टर्ड उडान गर्ने छ।
प्रतिव्यक्ति १७ सय पचास अस्ट्रेलियन डलर भाडादर तिरेर विमान चार्टर्ड गरिएको हो।
स्वदेश फर्कन पाएकोमा कयैन् अभिभावकहरूले एनआरएनलाई धन्यवाद समेत दिएका एनआरएन प्रवक्ता नन्द गुरुङले बताए।
दाङका अर्जुन बस्नेत सपरिवार छोरा भेट्न सिड्नी आइपुगेका थिए तर कोरोनाले केही महिना अड्किँदा अप्ठयारोमा परे।
नियमित उडान खुल्ने निश्चित थिएन। ढिलै भए पनि बिहीबार चार्टर्ड विमानमा नेपाल जान पाउँदा उनी निकै उत्साहित देखिए।
विमानस्थलमा बस्नेतले भने, ‘जान पाउने भइयो,यही हाम्रो लागि ठूलो हो।’
यसरी विविध कारणले विदेशमा समस्यामा परेका करिब आठ सय नेपालीले फर्कनका लागि एनआरएनमा आवेदन दिएको एनआरएनका कोषाध्यक्ष अनिल पोखरेलले बताए।
‘हामीले अस्ट्रेलियामा रहनुभएका नेपाली अभिभावक र समस्यामा परेका तथा आपतविपतमा फसेकाहरूलाई उद्धार गर्न राजदूतावाससँग मिलेर यो अभियान प्रारम्भ गरेका हौं’, पोखरेलले भने।
यसअघि अस्ट्रेलियाबाट राजदूतावासको पहलमा दुई वटा नेपाल एअरलाइन्सबाट र एनआरएनमार्फत् एक वटा सिंगापुर एअरलाइन्समार्फत् सेमी चार्टर्ड उडान गरिसकिएको छ।
तर पनि अझै हजारौंको संख्यामा नेपाली स्वदेश फर्कन पालो कुरेर बसेका छन्।
‘मुख्य कुरा अस्ट्रेलियामा मात्र करिब पाँच हजारभन्दा बढीको संख्यामा नेपाली अभिभावकहरू हुनुहन्छ, नेपाल फर्कनेहरूमा सबभन्दा बढी उहाँहरूको चाप बढी देखिएको छ’, एनआरएन अस्ट्रेलियाका महासचिव डा. ज्ञानेन्द्र रेग्मीले भने,‘त्यसपछि आपतविपत परेका र नेपाल जानै पर्नेहरूको संख्या केही छ, यसले पनि हामीले अर्को हप्ता एउटा सेमी चार्टर्ड उडानको व्यवस्था गर्ने सोच बनाएका छौं।’