कोरोनाको प्रभावले अस्ट्रेलियन सरकारलाई आर्थिक अभाव पर्न थालेपछि यसअघि घोषित आर्थिक सहयोगको प्याकेजमा हेरफेर गरिने भएको छ।
आगामी सेप्टेम्बरपछि ‘जबकिपर’ र ‘जबसिकर’का रुपमा बेरोजगार जनतालाई प्रदान गरिँदै आएको भत्तामा केही हेरफेर गरिने अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन्।
हाल बेराजगार भत्ता बुझिरहेका मानिसहरूको आर्थिक स्थितिलाई मध्यनजर गरेर आगमी दिनमा यसलाई परिमार्जन गर्न लागिएको मंगलबार अर्थमन्त्री जस फ्राइडेनबर्गले बताएका हुन्।
प्रधानमन्त्री र अर्थमन्त्रीद्धारा आयोजित संयुक्त घोषणा कार्यक्रममा आगामी सेप्टेम्बरपछि जबकिपरको पाक्षिक भत्ता १२ सय डलर कायम हुने र त्यसपछि एक हजारमा झारिने भएको छ।
यस्तै २० घन्टा र सो हाराहारीमा काम गर्नेहरुको हकमा जबकिपरको सहयोग ७ सय पचास डलर हुनेछ। यो सहयोग मार्च २०२१ सम्म मात्र लागू हुने छ।
प्रधानमन्त्री मरिसनले पार्ट टाइम कामदारहरूलाई उनीहरूको रोजगारदाताबाट तलब प्राप्त हुने र त्यसमा सरकारी अनुदान थप पाउनेगरी व्यवस्थापन गरिएको बताए। सरकारद्वारा प्रदान गरिने यो बेरोजगार भत्ता लिने व्यवसायीले जबकिपरको आफ्नो पछिल्लो अवस्था देखाउनुपर्नेछ।
जबकिपरका लागि योग्य हुन साना रोजगारदाताहरूले आफ्नो व्यापार कम्तीमा ३० प्रतिशतले घटेको पुष्टि गर्नुपर्नेछ भने ठूला व्यवसायहरूले आफ्नो व्यापारमा कम्तीमा पनि ५० प्रतिशतले ह्रास आएको साबित गर्नुपर्नेछ।
यसैगरी, जबसिकर भनिने बेरोजगार भत्तामा हाल जोडिँदै आएको कोरोनाभाइरस पुरक रकम ५५० डलरबाट २५० डलरमा झर्नेछ । यो व्यवस्था भने २०२०को डिसेम्बरसम्म कायम हुने प्रधानमन्त्रीले बताएका छन्।
जबसिकरमा रहेकाहरूले पनि सरकारी भत्तामा कुनै फरक नपर्ने गरी पाक्षिक रूपमा ३०० डलरसम्म अतिरिक्त कमाई गर्न सक्ने बताइएको छ।
जबसिकर बेरोजगार भत्ताको स्थायी दरका सम्बन्धमा भने आगामी अक्टोबर महिनामा वार्षिक बजेट घोषणा मार्फत थप जानकारी उपलब्ध हुने बताइएको छ।
अस्ट्रेलियालीहरूले यी दुवै सहयोगी कार्यक्रमहरू अस्थायी हो भन्ने कुरा बुझेका छन्। ‘मासिक रूपमा ११ अर्ब डलरको खर्च सदाका लागि राज्यले गर्न सक्दैन,’ प्रधानमन्त्री मोरिसनले भने। मार्च महिनायता अस्ट्रेलियामा हालसम्म करिब ३५ लाख जनताले जबकिपर भुक्तानीबाट लाभ प्राप्त गरेको सरकारको तथ्यांकले देखाएको छ।