स्वदेश फर्कन तयार भएर बसेका करिब ५ सय नेपाली अस्ट्रेलियामा समस्यामा परेका छन्।
यहाँको दूतावासले उडान अनुमतिका लागि परराष्ट्रमा पत्राचार गरेपनि सरकारले अनुमति नदिँदा नेपाली विद्यार्थीका अभिभावक मर्कामा परेका हुन्।
छोरीको आग्रहमा दुई महिनाको लागि भन्दै अस्ट्रेलिया आएकी मैयादेवी ढकाल छ महिनासम्म सिड्नीमै बस्न बाध्य भएकी छन्। पछिल्ला तीन वटा चार्टड बिमानमा स्थान नपाएपछि उनी अर्को उडानको पर्खाइमा दिन गन्दै बसिरहेकी छन्।
‘उच्च रक्तचाप र मधुमेहको रोगले च्याप्दै गएको छ, प्रयोग गरिरहेको औषधि यहाँ पाउन पनि समस्या, उपचार गर्न झन महँगो छ’ उनले भनिन्।
दूतावासले यसअघि नेपाल एयरलाइन्सको दुई वटा विमान चार्टड गरेर पठाए पनि अझै एक हजार नेपाली स्वदेश फर्कन तयार अवस्थामा रहेको एनआरएन अस्ट्रेलियाले जनाएको छ।
एनआरएनले समेत दूतावास र अन्य संघ संस्थाको समन्वयमा एउटा सेमी–चार्टड उडान समेत गरिसकेको छ। नेपाल जान चाहने करिब पाँच सय नेपालीहरुले टिकटका लागि एनआरएनमा पैसा समेत बुझाइसकेका छन्।
कसैले आमाबाबु बितेको, कसैले आफै बिरामी परेको र कसैले घरमा सदस्य बिरामी भएको भन्दै स्वदेश फर्काउन माग गरी दूतावासलाई आग्रह गरेका थिए। तीमध्ये दुई वटा चार्टड बिमानमा करिब पाँच सय नेपाली मात्रै स्वदेश फर्किए।
एनआरएन अस्ट्रेलियाले केही सस्तो दरमा लैजाने भनेपछि आठ सय नेपालीले त्यहाँ पनि आवेदन हालेका थिए जसमध्ये एक सय पचास जना फर्किएका छन्।
टिकटको लागि पैसा तिरेरै बसेका अझै तीन सय नेपाली रहेको एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले बताए।
‘तर सरकारको अनुमति नपाएका कारण अलमलमा परेका छौँ’, पोखरेलले सुनाए।
‘नेपालका निजी ट्राभलहरुले अनुमति लिँदै उडान भर्न हुने, तर यहा अलपत्र पर्यौँ, समस्या बढ्यो, बिरामी पर्यौँ, नेपाल फर्कन पाउँ भन्दा पनि सरकारले बेवास्ता गर्ने?’ सुरेन्द्र बोहराले आक्रोश पोखे।
छोरीको बिहेमा अस्ट्रेलिया आएका उनी कोरोनाका कराण थुनिए। ‘एकतर्फी भाडाको डेढ लाख रुपैयाँ तिरेर स्वदेश फर्कन्छु भन्दा पनि नपाइने कस्तो सरकार?’ उनले भने।
दूतावासको सिफारीस र एनआरएनको सहकार्यमा पिसिआर रिपोर्टसहित नेपाल फर्काउन लागेकालाई अनुमति नदिनुले सरकारको बेवास्ता देखिएको जनसम्पर्क समिति क्यानबेराका अध्यक्ष अशोक सुबेदी बताउँछन्।
‘छोराछोरीले बोलाएर आएका कतिपय अभिभावक रोगले थलिएर र पीडाले अल्झिएर बसेको अवस्था छ, यस्तो परिस्थितिमा राज्यले एउटा उडान अनुमति पनि नदिनु दुखलाग्दो विषय हो’, एनआरएन अस्ट्रेलियाका महासचिब डा ज्ञानेन्द्र रेग्मीले भने।