सिड्नीस्थित एक अदालतले ठगी मुद्दामा आरोपित एक नेपाली विद्यार्थीलाई १८ महिनाको जेल सजाय सुनाएको छ।
जेल सजाय भुक्तान गरेपछि उनलाई नेपाल फर्काउने सम्भावना रहेको छ।
ती नेपाली विद्यार्थी सन् २०१८ मा ‘आईटी’ विषय अध्ययन गर्नका लागि अस्ट्रेलिया आएका थिए।
न्यू साउथवेल्स प्रहरीले ती नेपाली विद्यार्थीलाई गत मार्च ३ तारिखमा ठगी आरोपमा पक्राउ गरेको थियो।
पक्राउ पश्चातः उनलाई स्थानीय बरउड अदालतमा पेश गरिएको थियो।
अदालतमा २० वर्षीय ती नेपाली युवाले ठगी कान्डमा आफ्नो संलग्नता स्वीकार गरेका थिए।
भारतबाट सञ्चालित ठगहरूको गिरोहले मानिसहरूलाई बैंकको एजेन्ट बनेर कुरा गर्दै कार्ड सम्वन्धी समस्या आएको बताउँथे।
कुराकानीमा उनीहरूले क्रेडिटकार्ड कसैले दुरुपयोग गरेको हुन सक्ने भन्दै समाधानका लागि ती नेपाली युवा घरमा पठाउने गर्दथे।
त्यसपछि कार्ड मर्मत गर्ने बाहानामा त्यसमा भएको ब्यालेन्स ती नेपाली युवाले आफ्नो बैंक खातामा पठाउने गर्दथे।
यसरी ठगी गरेको पैसाको कमिसन राखेर बाँकी पैसा भारतमा रहेका गिरोहलाई पठाउने गरेको अदालतको बयानमा उल्लेख गरिएको छ।
यस्तै प्रकृतिको घटनामा दुई हप्ता अघि मात्र एक जोडी नेपाली विद्यार्थी पक्राउ परेका थिए।
उनीहरू पनि हाल पुर्पक्षका लागी जेलमा रहेका छन।