कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्ट्रेलियाको मेलबर्न शहरमा फेरि लकडाउन घोषणा गरिएको छ। भिक्टोरिया राज्य सरकारले छ हप्ताको लागि लकडाउन घोषणा गरेको हो।
जनसंख्याका हिसाबले अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा अचानक दोस्रो वेभका रुपमा कोरोनाले तिब्रता पाएपछि राज्य सरकारले निकै कडा रुपमा लकडाउनको घोषणा गरेको हो।
दुई हप्ताअघिसम्म नियन्त्रण हुन सकेको कोरोनाले भिक्टोरियाको मेलबर्नमा अचानक प्रभाव पारेको हो। सोमबार एक सय पचास र मंगलबार लगभग दुई सयको संख्यामा कोरोनाका संक्रमित देखिएका छन्।
तेस्रो चरणको लकडाउन भनिएको यसमा अति आवश्यक भन्दा अन्य काममा घर बाहिर जान पाइने छैन।
आजबाट सुरु भएको यस लकडाउनमा आवश्यक खाद्य सामाग्री खरिद गर्न, अत्यावश्यक कार्य गर्नका लागि मात्र बाहिर निस्कन छुट हुनेछ।
सार्वजनिक स्थानमा दुई जनाभन्दा बढी भेला हुन पाइने छैन। विवाहमा पाँच जना र मृत्यु संस्कारमा दश जनासम्म सहभागी हुन पाउने छन्।