लकडाउन र उडानको प्रतिकुलताका कारण अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले ओहोदाको प्रमाणपत्र भिडियो कन्फेरेन्समार्फत बुझाएका छन्।
राजधानी क्यानबेरास्थित आफ्नै कार्यालयमा बसेर राजदूत दाहालले दूतावासका कर्मचारीको उपस्थितिमा भिडियो कन्फेरेन्समार्फत न्यूजिल्याण्डका लागि आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।
नेपाल सरकारले न्यूजिल्याण्डलाई समेत हेर्ने जिम्मेवारी अष्ट्रेलियाको राजदूतावासलाई दिएको छ। दाहाल न्यूजिल्याण्डका लागि गैरआवासीय नेपाली दूत हुन्।
मार्च महिनामा तय भएको ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम कोरोना संक्रमणका कारण सर्दै गएपछि मंगलबार उनले ओहोदाको प्रमाणपत्र न्यूजिल्याण्डकी गभर्नर जनरल पास्टीसमक्ष बुझाएका हुन्।
न्यूजिल्याण्ड सरकारबाट भिडियो कन्फेरेन्समार्फत बुझाउन सकिने जानकारी आएपछि मंगलबार यो व्यवस्था गरिएको राजदूत दाहालले जानकारी दिए।
राजदूत दाहालले कुटनीतिक क्षेत्रमा पनि कोरोनको प्रभाव परेका कारण सम्भवत पहिलो पटक यस्तो हुन गएको बताए ।
ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम भब्य हुने गरेता पनि यस पटक अनलाइनमार्फत ओहदाको प्रमाणपत्र बुझाइएको दाहालले बताए।
कूटनीतिक सम्बन्धमा ओहोदाको प्रमाणपत्र महत्वपूर्ण कार्यक्रम र सम्वन्ध सेतुका रुपमा रहने भए पनि देशहरु लकडाउनमा भएकाले यस्तो अवस्था आएको राजदूत दाहालले बताए।
स्थितिमा सुधार आएपछि आफू भेटघाट र कुटनीतिक सम्वन्धका लागि त्यसतर्फ जाने सोच रहेको उनले बताए।