कोरोनाभाइरसको कारण खस्किँदोे राष्ट्रिय अर्थतन्त्र र देशको रोजगारिता अनि शैक्षिक उद्योगलाई मध्यनजर गर्दै अस्ट्रेलियन सरकारले विश्वविद्यालयमा लाग्ने शुल्कमा व्यापक परिमार्जन गरिने बताएको छ।
गत हप्ता अस्ट्रेलियन सरकारले ल्याएको नयाँ नीति बमोजिम मुलुकमा आवश्यक जनशक्तिलाई मध्यनजर राख्दै प्राविधिक विषय,चिकित्सक,इन्जिनियरिङ, नर्स अनि गणित र कृषिजस्ता विषयको अध्ययन/अध्यापन शुल्क घटाइने भएको छ।
यस्तै, मानविकी र कला जस्ता इच्छाइएका विषयहरूको शुल्कमा केही बढोत्तरी हुन सक्ने सरकारले जनाएको छ।
पछिल्लो अस्ट्रेलियन बजार र आवश्यक जनशक्ति अनि सान्दर्भिक विषयको शुल्कमा पचास प्रतिशतसम्म घट्न सक्ने छन्।
अन्तर्राष्ट्रिय विद्यार्थीहरूमै भर परेका अस्ट्रेलियाका कयैन् विश्वविद्यालय, कोरोना भाइरसका कारण अहिले आर्थिक रूपले निकै जटिल स्थितिमा रहेको कारण सरकारले पछिल्लो शिक्षा नीति ल्याउन लागेको हो।
अर्को वर्षदेखि लागू हुने बताइएको यस नयाँ नीतिका अनुसार, रोजगारिताको बजारमा प्रभाव हुन सक्ने अंक गणित र कृषि जस्ता विषयहरूको शुल्कमा झण्डै ६० प्रतिशतसम्मले कमी आउने भएको छ।
तर मानविकी वा कलासम्बन्धीका विषयहरू पढ्ने चाहने विद्यार्थीहरूले भने अहिलेको भन्दा बढी शिल्क तिर्नुपर्ने हुन्छ।
सरकारको यो पछिल्लो नीतिले काम पाउने सम्भावना बोकेका विषयमा भर्ति हुनका लागि प्रोत्साहन दिएको छ। कोरोनाभाइरस सुरू हुनअघि गरिएको एक अध्ययनले आउँदो पाँच वर्षमा स्वास्थ्य सेवा, विज्ञान र टेक्नोलोजी, शिक्षा तथा निर्माण क्षेत्रमा रोजगारिताको माग निकै बढ्न सक्ने देखाएको थियो।
अस्ट्रेलियाका शिक्षा मन्त्री ड्यान टिहानले परिवर्तित अर्थ बजारलाई सुहाउँदो शिक्षा नीति सरकारले निर्माण गरेको बताए।
‘विश्वविद्यालयको अध्ययन सकेर बढीभन्दा बढी विद्यार्थीहरूले सम्बन्धित क्षेत्रमा काम पाउन भन्ने यसको मुख्य उद्देश्य पनि हो’, टिहानले भने।
यस नीतिका कारण अर्को वर्षदेखि विद्यार्थीहरूले तोकिएका विषय सस्तोमा पढ्न पाउने भएका छन्।
अहिले भर्ति भइसकेका विद्यार्थीहरूले भने उनीहरू पढिरहेको विषयको शुल्क बढाइएको खण्डमा थप रकम तिर्नु नपर्ने सुविधा भने रहन्छ।
कोरोना भाइरसका कारण प्रभावमा परेका कारण विद्यार्थीहरू विश्वविद्यालयमै जाने भएका कारण, यहाँको विश्वविद्यालयमा थप विद्यार्थीहरूको भर्ना लिनका लागि सरकारले कोटा बढाएको छ।
लकडाउन खोल्ने बित्तिकै नर्सिङ, प्रविधि, विज्ञानजस्ता विषयहरूको अल्पकालीन कोर्समा पनि निकै आवेदन बढ्ने छन्।
अर्को वर्षदेखि विज्ञान र इन्जिनियरिङ विषयहरूको शुल्कमा २० प्रतिशतले र नर्सिङ र शिक्षा लगायातका विषयमा भने ४६ प्रतिशत सम्मको कमी आउनसक्ने छ। पढाइ शुल्क सबभन्दा बढी घट्ने विषय भने गणित तथा कृषिको विषय हुनेछ।
सरकारको पछिल्लो नीतिको शैक्षिक व्यवसायीले पनि स्वागत गरेका छन्। सिड्नीको बोन्डाइमा रहेको किंगस्टन इन्स्टिच्युटका निर्देशक दिपक खनालले सरकारको यो निर्णयले अन्तर्राष्ट्र्रिय विद्यार्थीहरूमा उत्साह बढ्ने र अस्ट्रेलिया धेरैको शैक्षिक गन्तव्य बन्नसक्ने बताउँछन्।
यतिखेर कोरोनाले संसारकै आर्थिक अवस्था तहसनहस भैरहेको बेला कोरोनाबाट विस्तारै उन्मुक्ति पाउँदै गरेको अस्ट्रेलियाले अन्तर्राष्ट्र्रिय विद्यार्थीको हितमा यस्तो निर्णय आउनु स्वागत योग्य विषय रहेको खनालले बताए।