तेस्रो पटक अष्ट्रेलिया चार्टर्ड उडान गरेको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको जहाजमा सुटुक्क सेटिङ मिलाउँदै पहुँचवाला व्यक्ति स्वदेश फर्किएका छन्।
कुल ११ जना स्वदेश फर्किएकोमा दुई जना भने बिरामी रहेकाले अष्ट्रेलियास्थित नेपाली राजदूतावासको सिफारिसका आधारमा प्राथमिकतामा परेका हुन्।
स्वदेश फर्किन पाउँ भनेर करिब १३ सय नेपालीले राजदूतावासमा आवेदन दिएको अवस्थामा पहुँच र भनसुनका आधारमा माथिको आदेशबमोजिम भनी एघार जनालाई मात्रै स्वदेश फर्काइएको हो।
यस विमानमा भन्सार विभागका महानिर्देशक सुमन दाहालकी श्रीमती चर्चा भट्टराई र उनकी छोरी, गृह मन्त्रालयका कर्मचारी जितेन्द्र बलामी र जयकला राई, घुम्न आएका ज्योति सिलवाल र उनकी बहिनी, गायिका सुनिता परियार लगायत रहेको स्रोतले जनाएको छ।
दुई सय ६७ यात्रु क्षमता भएको यस विमानमा पहुँचका आधारमा ११ जना मात्र फर्काउनु यहाँका नेपालीमाथि सरासर अन्याय भएको नेपाल फर्कन कुरिरहेका अभिभावक अच्युत शर्माले बताए।
‘एक दुई महिनाका लागि छोराछोरीको निम्ता मान्न आएका थियौँ, छ महिना भैसक्यो। घरबार, खेतबारी के भएको छ थाहा छैन, औषधि सकिसक्यो, भोकले भन्दा रोगले पनि च्याप्यो पैसा तिरेर घर फर्कन पाउँभन्दा पनि सोर्सफोर्स लगाउनुपर्ने?’ निकै पीडामा देखिएका शर्माले भने।
यहाँबाट सिफारीस गरिएका तीन जनाबाहेक आठ जनाको नाम नेपाल सरकारको उच्चस्तरीय कोभिड १९ रोकथाम समितिबाटै विशेष आग्रह भैआएको र सोही अनुरुप उनीहरु सरकारी प्रकृया मिलाएर फर्केको दूतावास स्रोतले बतायो।
‘तीन पटक ध्वजाबाहक जहाज चार्टड गरेर अष्ट्रेलिया आइसकेको छ, यसको कुशल व्यवस्थापन गरेको भए यहाँ समस्यामा परेका सबै नेपाली स्वदेश फर्किसकेका हुन्थे, यस्तो आपतविपतको बेलामा पनि शक्ति र भक्तिको सामना गर्नुपर्ने कस्तो पीडा,’ सिड्नीका नेपाली वकिल खिलेन्द्रराज तिम्सिनाले भने।
अष्ट्रेलियाले दुर्इ पटक कतार एअरलाइन्सका विमान र तीन पटक नेपाल एअरलाइन्सका विमान गरेर आउन चाहने सबै अष्ट्रेलियाली नागरिक र पिआरधारीलाई ल्याएको छ र अझ ल्याउँदै छ’ तिम्सिनाले भने ‘तर हामी हारगुहार गरेर स्वदेश फर्कन पाउँ भन्दा पनि पुहँचवाला मात्रैले स्थान पाउने, कस्तो बिडम्बना।’
नेपाल वायु सेवा निगमको वाइड बडी ए३३० जहाजले अष्ट्रेलियाको राजधानी क्यानबेरामा पहिलो पटक उडान गरेको हो।
यो नेपालको राजधानी र अष्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान पनि हो। यसअघि वैशाख २४ गते निगमको वाइडबडी जहाजले सिड्नीमा चार्टर्ड उडान गरेको थियो भने पहिलो पटक गत चैत १९ गते ब्रिसबेनमा चार्टर्ड उडान भएको थियो।
यो राज्यको गलत संस्कार र गैरजिम्मेवारीपन भएको एनआरएनका महासचिव डा. ज्ञानेन्द्र रेग्मीले बताए। विदेशमा अलपत्र परेका नागरिकका सवालमा पनि पहुँचकै आधारमा वर्गीकरण गर्नु निर्लज्जताको पराकाष्टा भएको भन्दै उनले यस्तो कदमको विरोध गर्ने जनाए।