राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आज तेस्रो पटक अस्ट्रेलिया चार्टर्ड उडान गरेको छ।
निगमको वाइड बडी ए३३० जहाजले अस्ट्रेलियाको राजधानी क्यानबेरा उडान गरेको हो।
यो नेपालको राजधानी र अस्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हो।
नेपालस्थित अस्ट्रेलियाली दूतावासले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।
नेपालमा लकडाउनका कारण रोकिएका अस्ट्रेलियाली र न्युजिल्याण्डका नागरिक तथा छुट्टीमा आएका ‘पिआर होल्डर’ नेपाली नागरिकसहित २९६ जनालाई दूतावासले जहाज चार्टर्ड गरी लगेको हो।
यसअघि वैशाख २४ गते निगमको वाइड बडी जहाजले अस्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गरेको थियो।
त्यस्तै, लकडाउनको अवधिमा निगमको वाइड बडी जहाजले पहिलो पटक गत चैत १९ गते अस्ट्रेलियाको ब्रिसबेनमा चार्टर्ड उडान गरेको थियो।
यी उडानलाई निगमले आफ्नो ऐतिहासिक उडान भनेको थियो।