अन्तर्राष्ट्रिय झापाली समाजको हालै सम्पन्न बैठकले कोरोना परीक्षणका लागि ल्याब संचालन गर्न सहयोग जुटाउने निर्णय गरेको छ।
कोरोनाको प्रभावका कारण नेपालको पुर्वी नाकामा देखिएको भिडभाड र यसको परीक्षणमा समस्या देखिएको भन्दै समाजले बिर्तामोडमा कोरोना परीक्षण केन्द्रका लागि सहयोगमा जुट्ने निर्णय गरेको हो।
अन्तर्राष्ट्रिय झपाली समाजले झापा जिल्लामा कोरोना परीक्षणका लागि किट अभाव हुन थालेपछि जिल्लाका १५ वटै स्थानीय तहलाई किट समेत उपलब्ध गराएको छ। समाजले थ्रोट स्वाब संकलनका लागि आवश्यक भाइरल ट्रान्सपोर्ट मिडियम भिटिएम किट उपलब्ध गराएको
वरिष्ठ उपाध्यक्ष दिपक खनालले बताए। स्थानीय निकायलाई एक–एक सय थान किट उपलब्ध गराइएको उनले बताए।
समाजले पूर्व सीमानाको मुख्य केन्द्रका रुपमा रहेको झापा र यसको प्रभावलाई मध्यनजर गर्दै झापामा सबैका लागि कोरोना परीक्षण ल्याब निर्माणका लागि स्थानीय निकायसँग मिलेर काम अगाडि बढाउने समेत निर्णय गरेको वरिष्ठ उपाध्यक्ष खनालले बताए।
जसका लागि अन्तर्राष्ट्रिय झापाली समाजले आफ्नो तर्फबाट तीस लाख रुपैयाँको अनुमानित सहयोगको प्रतिवद्धता जनाएको छ।
अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बाको अध्यक्षतामा बसेको बैठकले विभिन्न देशमा रहेका शाखा संघहरुको सहयोगमा यो अभियान थालनी गरेको हो।
झापा जिल्लाको नाका भएर दिनहुँ हजारौं नेपाली स्वदेश भित्रिरहेको परिपेक्षमा झापा जिल्लामा ल्याब आवश्यक रहेका कारण समाजले स्थानीय तहसँग सहकार्यमा एक महिनाभित्र ल्याब स्थापना गर्नेगरी काम थालिएको समाजका नीवर्तमान अध्यक्ष दीनेस पाेखरेलले बताए ।
झापाली समाज अष्ट्रेलियाका अध्यक्ष उमेश पोखरेलले अब ल्याब नै अति आवश्यक देखिएको बताउँदै सबै मिलेर यो साझा अभियानमा अगाडि बढेको बताए।
‘आफ्नो देश आफैं बनाउँ, प्रवासी नेपालीको श्रम र पूँजी स्वदेशमा लगाउँ भन्ने हाम्रो अभियान अन्तर्गत झापाको विकास र विस्तारसँगै यो कोरोनाको महामारीविरुद्ध लड्नका लागि सहयोग र सद्भावलाई अगाडि बढाएका हौँ’ पोखरेलले भने।