कोरोना प्रभावित अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई अष्ट्रेलियन सरकारको सहुलियत प्रदान गर्ने स्पष्ट नीति नभए पनि विभिन्न विश्वविद्यालय र निजी कलेजहरुले बिध्यार्थीका हितमा राहतका अनेकन प्याकेज अगाडि सारेका छन्।
सिड्नीको चर्चित पर्यटकीय स्थल बोन्डाइ जक्सनमा रहेको किङ्गस्टन इन्सिच्युट अष्ट्रेलियाले आफ्ना विद्यार्थीलाई कोभिड–१९ प्रभावका कारण मे इन्टेकका लागि ५० प्रतिशत शैक्षिक शुल्क मिनाहा गर्ने निर्णय गरेको छ।
कलेजका प्रिन्सिपल दिपक खनालका अनुसार विश्वव्यापी कोरोनाको प्रभावले अष्ट्रेलिया पनि अछुतो रहन नसकेको र यसले रोजगार गुमाएका अन्तर्राष्ट्र्रिय विद्यार्थीको समस्यालाई मध्यनजर गरेर कलेजले यो योजना ल्याएको हो।
‘कमाइसँगै पढ्दै आएका कयैन विद्यार्थी साँच्चिकै पीडामा परेको हामीले पायौँ र यो पीडामा राहत होस् भनेर यस शैक्षिक सत्रमा पचास प्रतिशतले छुट दिने निर्णय गरेको हो’ खनालले भने।
अष्ट्रेलियाले आर्थिक मन्दीको घोषणा गरेका कारण अबका दिनहरुमा हुने अवस्थालाई मध्यनजर गरेर कलेजले नयाँ बिध्यार्थी भर्नामा समेत विशेष सहुलियत दिने बताएको छ।
‘हामी देखावटी नभइ विध्यार्थीमा परेको मर्कालाई बुझेर साँच्चिकै पीडामा मलम लगाउने प्रयासमा जुटेका छौँ’ प्राध्यापक तथा लेखा संकाय प्रमुख डा. रवि पौडलले बताए।
कलेजका प्राध्यापक पौडेलले मे इन्टेकका लागि भर्ना हुन चाहने नयाँ विद्यार्थीले पनि सो कलेजको विशेष छुट प्राप्त गर्न सक्ने बताए। पौडेल भन्छन् ‘कलेजले आर्थिक रुपमा कठिनाइ भोगेका विद्यार्थीलाई किस्तामा आफ्नो शैक्षिक शुल्क बुझाउन पाउने प्रावधान पनि ल्याएको छ।’
कोरोनाको प्रभावले उद्योगधन्दा बन्द हुँदा अष्ट्रेलियामा करिब चालीस प्रतिशत विद्यार्थीले प्रत्यक्ष रोजगारी गुमाएको अवस्थामा निजी शैक्षिक संस्थाहरुले यसरी सहुलियत प्रदान गर्नु महत्वपुर्ण राहत रहेको कलेजमा अध्ययनरत विद्यार्थी बताउँछन्।