कोरोना भाइरसको कहरले संसार नै यतिखेर ठप्पको स्थिति छ। रोगको संक्रमण फैलिने डरले धेरै देशले आफ्नो सीमा र आवतजावत बन्द छन्।
कतिपय मुलुकमा त कर्फ्यू समेत लगाइएको छ। तर विस्तारै जनजीवनलाई सामान्य बनाउँदै आएको अस्ट्रेलियाले भने जुलाईदेखि न्युजिल्याण्डको भ्रमण खुला गर्ने निर्णय गरेको छ। जसले गर्दा न्युजिल्याण्डवासी पनि अस्ट्रेलिया आउन पाउने भएका छन्।
दुवै देश कोरोनाभाइरस संक्रमणलाई नियन्त्रण गर्न सफल भएका छन् र दुई देशबीच यात्राको बाटो खुल्नाले आर्थिक गतिविधि बढ्ने आशा गरिएको छ।
यस निर्णयले दुई महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रमा केही टेवा पुग्ने विश्वास लिइएको छ।
जुलाई १ देखि अस्ट्रेलियाको राजधानी क्यानबेराबाट न्युजिल्याण्डको राजधानी वेलिङ्गटनबीच हवाई सेवा प्रारम्भ हुनेछ।
हालका लागि सीमित विमान सेवा सञ्चालनमा ल्याउने र कोरोना भाइरसको संक्रमणलाई विस्तारै कम गर्दै जाने नीति दुबै देशले लिएको जनाइएको छ।