नेपालस्थित अष्ट्रेलियन दूतावासले चार्टड गरेको नेपाल एअरलाइन्सको जुन ९ तारिख क्यानबेरा आइपुग्ने विमान यस पटक खाली फर्कने भएको छ।
यसअघि पहिलो पटक ब्रिसबेन र दोस्रो पटक सिड्नी आएका विमान पनि खाली फर्किएका थिए। अहिले भरिभराउ क्यानबेरा आउन लागेको चार्टर्ड विमान पनि रित्तै फर्किने भएको हो।
अष्ट्रेलियास्थित नेपाली राजदूतावास, एनआरएन र विभिन्न सामाजिक संघ संस्थाहरुको अथक प्रयासका वावजुत पनि नेपाल सरकारले निर्णय नगर्दा यस पटक पनि साढे २ सय बढी यात्रु अट्ने विमान खाली फर्कने छ।
नेपाल सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ता गर्ने कुरामा ढिलागरी सहमति जनाएपनि यसको कार्यान्वयनमा थप ढिलाई हुँदा हजारौं नेपाली विदेशमा अलपत्र अवस्थामा छन्।
यसअघि अष्ट्रेलियन राजदूतावासले यहाँबाट फर्कन चाहने नेपालीको लागत संकलन गरेको थियो। बुधबार साँझसम्म करिब १३ सय नेपालीले विविध कारण दर्शाउँदै स्वदेश फर्कन चाहेको विवरण राजदूतावासमा आइपुगेको राजदूत महेशराज दाहालले जानकारी दिए।
‘लागत संकलन गर्न प्रारम्भ गरेपछि करिब चार दिनमा १३ सय नेपाल फर्कन चाहने भनी निवेदन प्राप्त भएको छ’ दाहालले भने ‘अष्ट्रेलियन दूतावासले चार्टड गरेको विमानमा अत्यावश्यक जरुरी भएकाहरुलाई फर्काउन सकिन्छ कि भनेर निकै प्रयास गर्यौं, तर सम्भव भएन।’
अर्कोले चार्टर्ड गरेको विमान र विमानस्थलको प्राविधिक विषय लगायतका कारण अप्ठ्याराहरु देखिएको उनले बताए। ‘हामी यथाशिघ्र अन्य एअरलाइन्सको विमान चार्टर्ड गरेर आपतविपतमा रहेकालाई स्वदेश फर्काउने तयारीमा लागेका छौँ’ उनले भने।
दाहालका अनुसार नेपाल फर्कन चाहनेको सूचीमा करिब एक सयको संख्यामा नेपाली पर्यटक, डेढ सय विध्यार्थी र अधिकांश अभिभावक रहेका छन्। न्युजील्यान्ड, फिजी लगायत केही ठाउँमा रहेका नेपालीले पनि स्वदेश फर्कन दूतावासमा आवेदन दिएका छन्।
एक जनाले क्यान्सर भएर उपचारका लागि भारत जाने इच्छा राखेकाले उनको जोडीलाई मात्रै भए पनि यो चार्टर्ड विमानमा नेपाल फर्काउन सकिन्छ कि भनेर प्रयास जारी राखिएको दाहालले बताए।
‘अहिले स्वदेश फर्किन चाहनेको संख्याका हिसाबले हामीलाई तीन वटा विमान आवश्यक देखिएको छ’ उनले भने ‘चार्टर्ड गर्दा हवाइ टिकटको मूल्य मंहगो हुने हुँदा सुलभ मूल्य र भरपर्दो विमान सेवाको खोजीमा छौँ।’
पहिलो रोजाइका रुपमा नेपाल एअरलाइन्ससँग कुराकानीका क्रममा रहेको राजदूत दाहालले बताए। दुई महिनादेखि अष्ट्रेलियामा अड्केका नेपाली पर्यटक अनिल अधिकारीले नेपाल सरकारको गलत नीतिको शिकारमा आफूहरु विदेशमा अलपत्र अवस्थामा रहन वाध्य हुनुपरेको बताए।
देश फर्कन पाउँ भनेर भोक हडताल समेत बसेका चितवनका युवा अभियन्ता अनिलले भने, ‘आएका राष्ट्रिय ध्वजाबाहक खाली फर्किए, हामी अझै चार्टर्ड विमानको खोजीमा छौँ।’