एक्सपर्ट फाउन्डेसनले नेपाली विद्यार्थीहरूको सहयोगमा जुटेको गैर आवासीय नेपाली संघ अस्ट्रेलियालाई २० हजार डलर सहयोग गरेको छ।
एक्सपर्टको सिड्नीस्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै फाउन्डेसनका संरक्षकद्वय बद्री अर्याल र सञ्जिव शर्माले उक्त चेक एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल सहितको टोलीलाई प्रदान गरेको हो।
कार्यक्रममा एनआरएन आइसिसीका उपाध्यक्ष मन केसी, एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष देव गुरुङ, प्रवक्ता नन्द गुरुङ, एनआरएन न्यू साउथवेल्सका सचिव दिपक पहारी, पोखरा समाजका तारा गुरुङ लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै फाउन्डेसनका संरक्षक बद्री अर्यालले नेपालमा भूकम्प गएको बेला स्थापना गरिएको फाउन्डेसनले हरेक सेवाग्राहीबाट एक हजार नेपाली रुपैयाँ अथवा १० अस्ट्रेलियन डलर फाउन्डेसनको कोषमा जाने व्यवस्था मिलाई सामाजिक दायित्व पूरा गरिरहेको बताए।
विदेशमा रहेर व्यवसाय गर्दैगर्दा पनि सामाजिक दायित्व जस्तो महत्वपूर्ण पाटोलाई बिर्सन नुहने भन्दै अर्यालले आफूहरूले विद्यार्थी तथा विभिन्न संघ संस्थाहरूलाई सहयोग गरेको बताए।
फाउन्डेसनका अर्का संरक्षक सञ्जिव शर्माले एनआरएन अस्ट्रेलियाले गरेको कामको प्रशंसा गर्दै एक्सपर्टले आफ्नो सामाजिक दायित्वलाई निभाउने क्रममा यस पटक विभिन्न ५३ वटा संघसंस्थालाई ५१ हजार डलर समेत प्रदान गरेको बताए।
शर्माले एक्सपर्टले आफ्नो संस्थामार्फत् अस्ट्रेलिया आएका करिब ६ सय विद्यार्थीहरूलाई १ लाख ७५ हजार डलर बराबरको सहयोग समेत गरिएको बताए।