अष्ट्रेलियाको भिक्टोरिया राज्य र मेलवर्न शहरका स्थानीयले आगामी जुन १ देखि घरमा २० जनासम्म भेला हुन पाउने र होटलमा रात बिताउन सक्ने भएका छन्।
भिक्टोरिया राज्यका स्केट पार्क र प्लेग्राउण्डसहित ब्युटी सलोन, स्पा, रेस्टुरेन्ट, पब, सामुदायिक संरचना, पुस्तकालयहरुमा पनि २० जनासम्म मानिसहरु भेला हुन पाउने नियम बमोजिम खुल्न पाउने छन्।
भिक्टोरियामा मानिसहरुले आफू लगायत कुल २० जनासम्मलाई घरमा बोलाउन पाउने छन् र अरु कसैको घर, होटल वा अन्य आवास सेवाको प्रयोग गर्न पाउने छन्। शारीरिक व्यायाम, धार्मिक सेवा र घर किनबेच अन्तर्गत हुने गतिविधिका लागि पनि २० जनासम्म एकसाथ भेला हुन पाउने नियम भिक्टोरिया सरकारले घोषणा गरेको हो।
प्लेग्राउण्ड र स्केट पार्कहरु आगामी मंगलबारदेखि पुनः खुल्ने छन् र सोही दिनदेखि राज्यका स्कूलहरुमा अध्ययनरत एकदेखि ११ र १२ मा पढ्ने विद्यार्थीहरु पनि हप्ताको पाँचै दिन स्कूल फर्कने छन्।
‘विस्तारै, सतर्कतापूर्वक, चरणवद्ध र स्थिर रूपमा कोरोनाभाइरस विरुद्ध नीति निर्माण गर्ने आफ्नो सरकारको योजना रहेको भिक्टोरिया राज्यका प्रिमियर ड्यानियल एन्ड्रेजले बताए।
साथै कोरोनाभाइरसबाट हुन सक्ने सामुदायिक संक्रमणलाई घटाउन जुन महिनाभर मानिसहरुले आफ्नो कार्यालय फर्कनुको सट्टा घरबाटै काम गर्नेबारे सोच्न उनले आग्रह गरे।
‘यसले केही कठिनाइ सिर्जना गराएता पनि तत्काललाई यो जरूरी छ’ ड्यानियलले भने।
सोमबारदेखि न्यु साउथ वेल्सका सबै स्कूल खुल्ने भएका छन्। आगामी हप्तादेखि न्यु साउथ वेल्सका सरकारी स्कूलका सबै विद्यार्थीहरु आफ्नो कक्षा फर्कने राज्यकी प्रिमियर ग्लाडिस बेरेजिक्लियनले बताएकी छन्।
यसका साथै सोमबारदेखि राज्यका करिब आठ लाख विद्यार्थी हप्ताको पाँचै दिन स्कूल फर्कने भएका छन्। गत हप्ता देखि राज्यका स्कूलहरुमा विद्यार्थीहरु हप्तामा एक दिन स्कूल गएका थिए।