अस्ट्रेलियाको सबैभन्दा बढी जनसंख्या भएको न्यू साउथ वेल्स राज्यले घरेलु यात्रा खुकुलो पार्ने भएको छ।
आगामी महिनाबाट राज्यका नागरिकलाई राज्यसीमाभित्र घुमफिरका लागि छुट दिन लागिएको हो। छुट अन्तरगत आर्ट ग्यालरी र म्यूजियमहरू पुनः खुल्नेछन्।
कोरोना भाइरसका कारण सिथिल बनेको अर्थ व्यवस्थालाई उकास्ने योजना अन्तरगत राज्यले यस्तो योजना अघि सारेको हो।
यो कदमले मानिसहरू घरबाट सिड्नी जाने अनुमति दिनुका साथै दक्षिणी तटको पर्यटकीय क्षेत्र भ्रमण गर्न दिनेछ।
राज्यका प्रमुख ग्लेडिस बेरेजिक्लियन मानिसहरूले नयाँ परिस्थितिमा आफूलाई ढाल्नुपर्ने बताएकी छन्।
त्यहाँका अधिकारीले अझै सामाजिक दुरीका केही प्रावधानहरूलाई पालना गर्नुपर्ने बताउँदै आएका छन्।
'हामी मानिसहरू आफै रमाइलो गरून, स्वतन्त्र महशुस गरून भन्ने चाहन्छौं तर त्योसँगै हामीलाई थाहा छ महामारीका बेला हामी केही पनि गर्दैनौं', टेलिभिजनबाट गरिएको मिडिया कन्फ्ररेन्समा उनले भनिन्।
'हामी मानिसहरू भविष्यलाई लिएर प्रोत्साहित र आशावादी अनुभव गरून् भन्ने चाहन्छौं नै तर योसँगै हामी मानिसहरू यथार्थवादी हुन् भन्ने चाहन्छौं। कोभिड सुरक्षित वातावरण महामारीअघि हामीले गर्ने गरेको कार्यभन्दा फरक देखिने र अनुभूत हुनेछ', उनले थपिन्।
२५ मिलियन जनसंख्या भएको अस्ट्रेलियामा हालसम्म मात्र ७ हजार जनामा संक्रमण भेटिएको छ भने सय जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
न्यू साउथ वेल्स कोरोनाबाट सर्वाधिक प्रभावित राज्य हो।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्र ४ जना नयाँ संक्रमित फेला परेका छन्।
उसले विदेशबाट फर्केका सबैलाई क्वारेन्टिनमा राखेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा ७ हजार मानिसमा गरिएको परीक्षणले कोरोना सामुदायिक स्तर नफैलिएको बेरेजिक्लियनले बताइन्।
यसैगरी अस्ट्रेलियाका राज्य र क्षेत्रहरूले लकडाउन खोल्न तीन चरणका संघीय योजनाहरूको पालना गरिरहेका छन्। यस अन्तरगत ठाऊँ अनुसारका प्रतिबन्धहरू हुनेछन्।
भिक्टोरिया राज्यमा त्यहाँका अधिकारीहरूले कोरोना संक्रमितको ट्रेसिङका लागि विवादास्पद स्मार्ट फोन एकको प्रयोग गरिरहेका छन्। सो एपले सोमबार संक्रमण पुष्टि भएका व्यक्तिको हिँडडुल विवरण संकलन गर्न थालेको छ।
हालसम्म करिब ६ मिलियन अस्ट्रेलियनहरूले सो एप डाउनलोड गरिसकेका छन्। व्यक्तिगत स्वतन्त्रताका बारेमा एपले प्रश्न खडा गरेपनि सरकारले भने यसको प्रयोग फाइदाजनक हुने बताएको छ।