अस्ट्रेलियामा नेपालीको जनसंख्या कति?
एउटा महत्वपूर्ण प्रश्न हो जसको उत्तर सधैं अनुमानितमात्र आउने गर्छ।
हरेक संघसंस्था अनि व्यक्तिलाई यो प्रश्न सोध्नुभयो भने फरक फरक उत्तर आउँछ।
कोही लाख भन्छन, केही सवा लाख अनि कसैले डेढ लाख त कुनै दुई लाखसम्म भन्न पछि पर्दैनन्। तर सही संख्या कसैलाई थाह छैन।
सबै आआफ्नो अनुमान र हचुवाका भरमा बोलिरहेका छन्।
राज्यको अभिलेखको पुराना पानाहरुमा केही अघिसम्मका तथ्यांक रहेको भएपनि थपिदै गएका नेपाली विध्यार्थी र बाक्लिदैं गएको नेपाली समाजको एकिन संख्याको उत्तर भने कोहीसँग छैन।
हरेक वर्ष थपिने नेपाली विद्यार्थीको संख्या तथा स्थायी बसोबासको अनुमति(पिआर) पीआर र नागरिकता ग्रहण गरेकाहरुको संख्या एकिन रेकर्ड प्राप्त गर्न निकै कठिन भएकाले पनि नेपालीको संख्या हचुवाका आधारमा भनिदैं आएको छ।
सन २०१७ को अस्ट्रेलियन सरकारको जनगणना हेर्ने हो भने ७३ हजार ७ सय चालिस जना नेपालमा जन्मेका व्यक्ति अस्ट्रेलियामा बसोबास गरिरहेको तथ्यांक छ।
तर त्यसपछि कति थपिए अनि विद्यार्थीको एकिन संख्या कति हो र अभिभावक तथा अन्य भिषामा रहेका नेपालीको संख्या कति छ, कुनै तथ्य कतै छैन।
अध्यागमन विभागको आधारमा ४ जनवरी २०२० सम्म ६२ हजार सात सय २४ नेपालीले अस्ट्रेलियामा स्थायी बसोबास गरिसकेको तथ्य सार्वजनिक भएको छ। जसमा यहाँ पीआर र नागरिकता प्राप्त गरेका नेपाली मुलका व्यक्ति समावेश छन्।
यसलाई आधार मान्ने हो भने अस्ट्रेलियामा नेपाली विद्यार्थीहरुको पछिल्लो संख्या ६३ हजार रहेको भर्खरै सार्वजनिक भएको एक अस्ट्रेलियन शैक्षिक विभागको सुचिले देखाएको छ।
यसैलाई जोडेर मात्र अनुमान गर्ने हो भने अन्य भिषामा बाहेक यतिबेला विध्यार्थी र स्थायी वासिन्दा गरेर एक लाख २५ हजार जति नेपाली भएको अनुमान गर्न सकिन्छ।
करिब एक लाख पचास हजार नेपाली मुलका मानिस अस्ट्रेलियामा रहेको हुनसक्ने अस्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहाल बताउँछन।
सन २०१७ को जनगणनामा ७३ हजार सात सय नेपालीले सहभागिता जनाएको र त्यसपछि अस्ट्रेलियाको जनगणना नभइसकेको अवस्थामा ठ्याक्कै यति नै हो भन्न मुश्किल हुने राजदुत दाहालले बताए।
उनका अनुसार ६३ हजार नेपाली विद्यार्थी र त्यत्तिकै संख्यामा रहेको स्थायी बसोबास गर्ने नेपालीसँगै अभिभावक र अन्य भिषामा रहेका गरी लगभग एक लाख पचास हजार नेपाली रहेको अनुमान गर्न सकिने राजदुत दाहालले बताए।
'ठ्याक्कै भन्ने अवस्थामा त छैनौ तर हामीले हरेक महिना र वर्ष कति विद्यार्थी थपिए अनि अन्य भिषामा आउनेहरुको संख्या जोडेर करिब एक लाख पचास हजारको हाराहारी छ भनेका हौ' ,राजदुत दाहालले भने।
पछिल्लो कोरोनाको प्रभावमा सक्रिय देखिएका राजदुत दाहालले यसलाई पनि महत्वभित्र राखेर आगामी दिनमा योजना अगाडि बढाइने बताए।
वास्तवमा कयैन वर्षदेखि अस्ट्रेलियन सरकारले दिएको पुरानो तथ्यांकका आधारमा नेपालीको संख्या मापन गरिदै आएमा पछिल्लो समय नेपालीहरुको संख्या हवात्तै बढ्न थालेपछि खोजीनिती प्रारम्भ भएको हो।
केही अघि अष्ट्रेलियास्थित नेपाली दुतावासले प्यासिफिक क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको गणना सुरू गरेपनि त्यो अभियान बिचमै बन्द भएको देखिन्छ।
राजदूतावासले अष्ट्रेलियालगायत न्युजिल्याण्ड, फिजी, पपुवान्यूगिनी, भानुआटु, सोलमन आइल्याण्ड, टुभालु र सामोआमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गरि सर्वेक्षण फाराम जारी गर्दै नेपालीको संख्या यकिन गर्ने अभियान थालनी गरेको थियो।
तर सो अभियान कहाँ पुग्यो त्यसको लेखाजोखा सार्वजनिक भएको छैन।
हामीले संस्थागत रुपमा यसको खोजिनिती प्रारम्भ गर्न नसकेपनि अहिले १ लाख ३० हजार देखि ४० हजारको हाराहारीमा नेपाली अस्ट्रेलियामा बसोबास गरेको विभिन्न तथ्यहरुमा भेटेका छौं।
'सन् २०१७ को जनगणनामा जसजसले सहभागिता जनाए त्यस अनुरुप हेर्ने हो भने हाम्रो संख्या मात्र ७३ हजार देखिन्छ,जुन सरकारी तथ्यांक हो', गैर आवासिय नेपाली संघका महासचिव डा. ज्ञानेन्द्र रेग्मीले भने।
तर त्यसपछि विद्यार्थीको संख्या नै अस्ष्ट्रेलियामा करिब ६३ हजार नाघिसकेका छन्।
'यो महत्वपुर्ण विषयबस्तु भएकोले आगामी दिनमा यसको अध्याविधि राख्ने र सरकारसँग समन्वय गर्ने काम पनि एनआरएनले अगाडि बढाउनुपर्छ भन्ने मलाइ लागेको छ', रेग्मीले सुनाए।
हुन त सम्वन्धित देशका नागरिकको प्राविधिक रुपमा सत्य अनि तथ्य संकलन गरेर यसको अध्याविधि गर्ने कार्य राज्यको निकायको हो।
प्राविधिक रुपमा सम्वन्धित राज्यले उपलब्ध गराएको तथ्यलाई आधार मान्नु पर्ने बाध्यताले पनि राजदुतावासलाई यसै भन्न कठिन बनाएको पुराना सन्चारकर्मी डिल्ली ढकाल बताउँछन।
ढकाल भन्छन, 'नेपाल सरकारको अध्यागमन विभागले आफ्नो तथ्यांक खोतल्ने हो भने कति नेपाली अस्ट्रेलिया गए र कति फर्के भन्ने संख्या यकिन गर्नै सके मात्र ठ्याक्कै संख्या निक्लिन सक्ने ढकालको तर्क रहेको छ।'
अहिले बिना भिषा गैर कानुनी रुपमा पनि केही हजार नेपाली अस्ट्रेलियामा रहेको हुनसक्ने तथ्यलाई मध्यनजर गर्दा विद्यार्थी, आवासिय भिषामा रहेका र नागरिक तथा अभिभावकसहितको एकिन संख्या भन्न नसकिएपनि एक लाख पचास हजारको हाराहारीमा नेपाली अस्ट्रेलियामा रहेको केही तथ्यहरु जोड्दा देखिन्छ।